खेती किसानी

लसुन आयात दोब्बर, भारत, भुटान र बंगलादेशमा तस्करी!

रमेश भारती १७ वैशाख २०८२ १९:०७
218
SHARES
लसुन आयात दोब्बर, भारत, भुटान र बंगलादेशमा तस्करी!

काठमाडौँ- लसुन आयात चैतमा दुई गुणाले बढेको छ। माघ र फागुनको तुलनामा चैतमा लसुन आयात दोब्बर बढेको भन्सार विभागको तथ्यांक छ। नेपालमा गत आर्थिक वर्षमा साढे १ अर्ब रुपैयाँ बराबरको लसुन आयात भएको थियो। चालु आर्थिक वर्षको चैत मसान्तसम्म (९ महिना) मा ६ अर्ब ४५ करोड ८ लाख ३९ हजार रुपैयाँको ४ करोड ९० लाख ११ हजार ९ सय २३ किलो लसुन आयात भएको विभागको तथ्यांकमा छ।

विभागका अनुसार माघमा ७ करोड ९९ लाख ५६ हजार रुपैयाँको ६ लाख १० हजार २८० किलो लसुन आयात भएको थियो। फागुनमा ६ करोड २५ लाख ४६ हजार रुपैयाँको ४ लाख ८५ हजार ७ सय १ केजी लसुन आयात भएको थियो। चैतमा १२ करोड २८ लाख ६१ हजार रुपैयाँको ९ लाख ६४ हजार ३ सय ३५ किलो लसुन आयात भएको विभागले जनाएको छ।

भन्सार विभागका सूचना अधिकारी नारायणप्रसाद रेग्मीले चैतमा लसुन आयात दोब्बरले बढेको बताए। उनका अनुसार गत वर्षदेखि नेपालमा चिनियाँ लसुन आयात बढ्न थालेको हो।

पुसमा लसुन आयात अस्वाभाविक बढेपछि चीनबाट सामान आयात हुने भन्सारका क्वारेन्टाइनमा कडाइ गरिएको थियो। त्यसपछि लसुन आयात फेरि दुई गुणाले बढेको उनले बताए। ‘पुसदेखि भन्सार क्वारेन्टाइनमा गुणस्तर परीक्षण र कढाइ गरेपछि लसुन आयात घटेको थियो। चैतमा लसुन आयात एक्कासि बढेको छ। यसको पनि के कारण हो थाहा भएन’, उनले भने।

रेग्मीका अनुसार विभागसँग लसुन आयात भएको तथ्यांक मात्र हुन्छ। संकलित तथ्यांक सम्बन्धित उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पठाइने उनको भनाइ छ। पछिल्लो समय भन्सार क्वारेन्टाइनले गुणस्तरमा प्रश्न उठाएपछि लसुन आयात रोकिएको थियो।

आयतित लसुन कहाँ जान्छ?

भन्सार विभागको तथ्यांकमा साउनमा ४९ करोड ५५ लाख ९५ हजार रुपैयाँको ३७ लाख ४४ हजार ३ सय किलो लसुन आयात भएको थियो। भदौमा १ अर्ब ३ करोड २ लाख ९३ हजार रुपैयाँको ७७ लाख ३६ हजार २५० किलो लसुन आयात भएको विभागको तथ्यांक छ।

असोजमा ७८ करोड ८१ लाख १५ हजार रुपैयाँको ५९ लाख ९८ हजार ३ सय ७० किलो, कात्तिकमा ८२ करोड ३१ लाख ४० हजार ६३ लाख ६७ हजार ४ सय ८० किलो, मंसिरमा २ अर्ब २२ करोड ४५ लाख ८६ हजार रुपैयाँको १ करोड ६८ लाख ११ हजार ४ सय ७२ किलो लसुन आयात भएको थियो।

पुसमा ८२ करोड ३७ लाख ४६ हजार रुपैयाँको ६२ लाख ९३ हजार ७ सय ३५ किलो, माघमा ७ करोड ९९ लाख ५६ हजार रुपैयाँको ६ लाख १० हजार २ सय ८० किलो र फागुनमा ६ करोड २५ लाख ४६ हजार रुपैयाँको ४ लाख ८५ हजार ७ सय १ किलो लसुन आयात भएको विभागले जनाएको छ।

चैतमा ६ अर्ब ३९ करोड ६९ लाख ६७ हजार रुपैयाँको ४ करोड ८५ लाख ५१ हजार ३६७ किलो लसुन चीनबाट आयात भएको छ। विभागका अनुसार वैशाखमा ५ करोड ३८ लाख ७२ हजार रुपैयाँको लसुन भारतबाट आयात भएको छ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार चीनबाट आयात भएको ३० प्रतिशत मात्र नेपाली बजारमा खपत भइरहेको छ। त्योभन्दा बाहेकको लसुन तस्करी भइरहेको मन्त्रालयको आशंका छ। मन्त्रालयका सहसचिव तर्कराज भट्टले भने, ‘भारतले चीनबाट आयात हुने वस्तु रोक लगाएपछि नेपाल हुँदै भारत, भुटान र बंगलादेश लसुन तस्करी भइरहेको आशंका छ। जसका कारण सरकारले भारतीय सिमानामा कडाइ गरेको छ। उनका अनुसार यस विषयमा भन्सार विभाग, मन्त्रालय र प्रहरीले अनुसन्धान गरिरहेको छ।

साउन र भदौमा राजस्व अनुसन्धान विभाग र नेपाल प्रहरीले ठूलो परिमाणमा भारततर्फ अवैध रूपमा निकासी भइरहेको लसुन बरामद गरेको थियो।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव तर्कराज भट्टका अनुसार चीनबाट आयात भएको लसुन भारत, बंगलादेश र भुटानतिर तस्करी भइरहेको बताउँछन्। ‘सम्बन्धित निकायलाई बलियो बनाएर यसरी अस्वाभाविक आयात भइरहेको लसुन रोक्नुपर्छ। भारतमा रोक लगाएका बेला लसुन तेस्रो देश हुँदै निर्यात भइरहेको छ’, उनले भने।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार नेपालमा वार्षिक करिब ९ हजार हेक्टर क्षेत्रफलमा ७२ हजार मेट्रिक टन लसुन उत्पादन हुन्छ। पछिल्लो पाँच वर्ष नेपालमा पनि लसुनखेती फस्टाइरहेको मन्त्रालयका अधिकारीहरू बताउँछन्।

प्रकाशित: १७ वैशाख २०८२ १९:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast