
काठमाडौँ- गत महिना भारतको जम्मु-कस्मिरस्थित पहलगाममा भएको इस्लामिक आतंकवादी आक्रमणमा एकजना नेपालीको ज्यान भयो। आमा, दिदी र भिनाजुसहित घुम्न पुगेका बुटवलका सुदीप न्यौपानेलाई इस्लामिक आतंककारीले नाम र धर्म सोधेर गोली हानी हत्या गरेको विवरण भारतीय सञ्चारमाध्यमले दिएका छन्।
सुदीपले इस्लामिक आतंककारीसँग आफू नेपाली भन्दा पनि उनीहरूले गोली हानेर हत्या गरेको पहलगाम सँगै घुम्न गएकी उनकै दिदीले बताएकी छन्। आतंककारीबाट मारिने सुदीप मात्र होइन। उनीजस्ता धेरै नेपाली छन्। यसअघि वैदेशिक रोजगारीमा गएका नेपाली इस्लामिक आतंकवादीको निसानामा परेका उदाहरण बग्रेल्ती छन्।
रोजगारीका लागि युद्धग्रस्त मुलुक पुगेका नेपालीले अकालमा ज्यान गुमाउनुपर्ने अवस्था नरोकिएको आप्रवासन जानकार मीना पौडेल बताउँछिन्। उनका अनुसार नेपालीको इस्लामिक आतंकवादीसँग केही सम्बन्ध छैन। इस्लामिक आतंकवादीले नेपाली हो भनेर थाहा पाएपछि बाँकी नराख्ने उनले बताइन्। ‘नेपालीहरू जोखिम मोलेर युद्धग्रस्त देश जाँदा इस्लामिक आतंकवादीको निसानामा परिरहेका छन्। जसका कारण उनीहरूको हत्या भएको देखिन्छ। यस्तो विषयमा सरकार गम्भीर छैन। यसैका कारण दुर्घटना भइरहेको छ,’ उनले भनिन्।
इस्लामिक आतंकवादी मात्र होइन। त्यस्ता अरू समूहबाट पनि वैदेशिक रोजगारीमा गएका नेपालीको हत्या भइरहेको उनको भनाइ छ। पछिल्लो २० वर्षमा विभिन्न देशमा इस्लामिक आतंकवादी र विद्रोही समूहबाट ५१ जना नेपालीको हत्या भएको छ। यही अवधिमा १५ जनाभन्दा बढीको अपहरण भएर फिरौतीमा छुटेका छन्।
इजरायलबाट अपहरण भएका विपिन जोशी हमासको कब्जाा छन् भनिए पनि उनकाे अवस्था अझै अज्ञात छ। २०८० साल असोजमा हमासले इजरायलमा आक्रमण गर्दा १० जना नेपाली विद्यार्थी मारिएका थिए। त्यहाँ अध्ययनसँग रोजगारीमा कार्यरत जोशी बेपत्ता भएका हुन्।
इजरायलबाट फर्किएका विद्यार्थीले ‘हामी नेपाली हौँ’ भन्दै गर्दा पनि हमासले गोली हानेर हत्या गरेको बयान परराष्ट्र मन्त्रालयलाई दिएका छन्। वैदेशिक रोजगारीका लागि इराक पुगेका १२ जना नेपालीलाई २०६१ मा आतंकवादी समूह इस्लाम अल-सुन्नाले अपहरण गरेर हत्या गरेको थियो। ती १२ जना नेपालीले पनि आफूहरू वैदेशिक रोजगारीका लागि इराक आएको बताएका थिए।
२०७० मा इस्लामिक स्टेटको आक्रमणमा परेर इराकमा तीनजना नेपालीले ज्यान गुमाएका थिए। उनीहरु रोजगारीका लागि कुवेत हुँदै इराक पुगेका थिए। वैदेशिक रोजगारीकै क्रममा अफगानिस्तान पुगेका १२ जना नेपाली २०७३ को असारमा तालिबानी आक्रमणमा मारिएका थिए। २०७१ मा अफगानिस्तानमै दुई नेपालीले तालिबानी आक्रमणमा ज्यान गुमाएका थिए। उनीहरु १४ जना अमेरिकी सेनाको नियोगमा सुरक्षा गार्डमा कार्यरत थिए।
२०७८ मा साउदी अरबमा हुथीहरूले चार जना नेपालीको हत्या गरेका थिए। उनीहरू पनि रोजगारीका लागि साउदी गएका कामदार थिए। उनीहरुले रोजगारीका लागि आएको नेपाली हुँ भन्दा पनि हुथीहरुले गोली हानेका थिए। २०६७ मा नाइजेरियामा बोको हरामले एकजना नेपालीको हत्या गरेको थियो। ।
सिरियामा २०७२ मा वैदेशिक रोजगारीका लागि तेस्रो देश हिँडेका दुई नेपालीले आत्मघाती बम आक्रमणमा ज्यान गुमाएका थिए।
परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई कतिपय नेपाली रोजगारीको लोभमा युद्धग्रस्त देश जाँदा आतंककारी निसानामा पर्ने गरेको बताउँछन्। ‘वैदेशिक रोजगारीका कारण अवसरसँगै समस्या पनि सिर्जना हुँदै छ। सरकारले यो क्षेत्रका समस्याका बारेमा बेलैमा सोच्नुपर्छ। नत्र भविष्यमा चुनौती आउनसक्छ’, उनले भने ।
सुन्नीहरुले इराकको अर्विल कब्जा गरेपछि त्यहाँको नेपालीलाई फिर्ता गर्न नेपाल सरकारकाे विशेषा पंतिनिधी भएर गएका
पूर्वशिष्टाचार महापाल अर्जुनकान्त मैनाली नेपालले यस्ता समूहसँग कसरी सम्पर्क गर्ने भनेर थाहा पाउन नसकेकाे बताउँछन्। उनले भने, ‘कूटनीतिमा जोखिम पनि हुन्छ। हाम्रा साथीहरूले सहज बाटो खोज्दा पनि समस्या हुन्छ।’
उनी विपिन जोशीका विषयमा कुरा गर्न नेपाली अधिकारीहरू लेबनान जानुपर्ने बताउँछन्। मैनालीले भने, ‘हिजबुल्लाहका नेतासँग सम्पर्क गरेर हमाससम्म पुग्न सकिन्छ। सरकार प्रमुख वा अरु कोहीलाई भनेर हुँदैन।’
कस्मिरको प्रसंग भने भिन्न रहेको मैनालीको बुझाइ छ। ‘त्यहाँ हिन्दु र मुस्लिम फ्याक्टर हुन्छ। अगाडि रहेको योद्धाले नेपाल कत्तिको बुझैको वा जानेको हुन्छ त्यसमा निर्भर गर्छ’, उनले भने।
समस्यामा परिन्छ भन्ने डर नमानी वैदेशिक रोजगारीमा जाँदा पनि कतिपय नेपाली आतंककारी आक्रमणमा परेको उनी बताउँछन्। अवैध बाटो भएर अर्को देशमा पुगेका धेरै नेपालीले विद्रोही र आतंककारी आक्रमणमा ज्यान गुमाएको मैनालीको भनाइ छ। उनले भने, ‘पैसा कमाउन भनेपछि केही नसोची म्यानपावर र एजेन्टको प्रलोभनमा परी युद्धग्रस्त देश जाँदा कतिपय नेपाली विद्रोही समूहको आक्रमणमा परी ज्यान गुमाएका छन्।’
नेपाली कामदार विश्वका १८१ देशमा व्यक्तिगत भिसामा जाने गरेका वैदेशिक रोजगार विभागको तथ्यांक छ। २०६३ सालयता नेपालीहरू वैदेशिक रोजगारीमा व्यक्तिगत भिसामा विभिन्न देशमा जान थालेका हुन्। भारत, बंगलादेश, श्रीलंका र थाइल्यान्ड हुँदै नेपालीहरू वैदेशिक रोजगारीमा जाने गरेका छन्। यसरी गएका कतिपय कामदार आतंकारी आक्रमण र अपहरणमा समेत पर्ने गरेको श्रम मन्त्रालयको आप्रवासनसम्बन्धी अध्ययनमा उल्लेख छ।