लिङ्देनको अभिव्यक्ति विवादमा, धनुषामा जलाइयो पुतला

हिमाल प्रेस १३ वैशाख २०८२ १५:१०
48
SHARES
लिङ्देनको अभिव्यक्ति विवादमा, धनुषामा जलाइयो पुतला

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले भाटभटेनी लुटपाटमा नेपाली कांग्रेसका एक जना सहमहामन्त्रीका छोरा संलग्न भएको दिएको अभिव्यक्ति विवादित बनेको छ।

लिङ्दनले शुक्रबार प्रतिनिधिसभा बैठकमा चैत १५ गते भाटभटेनीमा भएको लुटपाटमा सत्तारुढ दलकै व्यक्ति परे पनि काबाही नगरी छोडिएको भन्दै दिएको अभिव्यक्ति विवादित बनेको हो।

‘हामीसँग त रेकर्ड छ गृहमन्त्रीज्यू, भाटभटेनीको लुटपाटमा सत्तारुढ पार्टीको, तपाईँकै पार्टी सहमहामन्त्रीको छोरा पक्राउ परेको थियो, किन छोड्नु भएको?,’ उनले संसद बैठकमा उपस्थित गृहमन्त्री लेखकसँग प्रश्न गरेका थिए।

राप्रपा अध्यक्ष लिङ्देनको यो अभिव्यक्तिपछि केही सञ्चारमाध्यमले भाटभटेनी लुटपाटमा कांग्रेस सहमहामन्त्री महेन्द्र यादवको छोरा पक्राउ परे पनि तत्काल रिहा गरिएको समाचार प्रकाशन गरेका थिए।

राप्रपाका अध्यक्ष लिङ्देनले दिएको अभिव्यक्ति झुटो रहेको भन्दै नेपाली कांग्रेसले धनुषामा उनको पुतला जलाउँदै कडा कारबाहीको माग गरेको छ।

कांग्रेसका मधेश प्रदेश सांसद कुमरकान्त झाको अगुवाइमा कांग्रेसका कार्यकर्ताहरूले जनकपुर–ढल्केबर सडक खण्डको लक्ष्मिनीयाँमा लिङ्देनको पुतला जाएको हो। लिङ्देनले संसदमा झुटा अभिव्यक्ति दिएर भ्रम फैलाउने काम गरेकाले सांसद झो कारबाही गर्न सरकारसँग माग गरे।

संसदमा बोल्ने क्रममा लिङ्देनले भाटभटेनी लुटपाटमा कांग्रेसका एक जना सहमहामन्त्रीको छोरा संलग्न भए पनि कसैको नाम लिएका थिएनन्। कांग्रेसमा सात जना सहमहामन्त्री छन्। केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सहमहामन्त्री यादवका छोरा मुकेश यादव भनेर नाम आएको थियो।

सहमहामन्त्री यादवका दुई छोराहरू विकास र आकाश छन्। एक जना भारतको मथुरामा एमडी अध्ययनरत छन् भने अर्का काठमाडौँमा एमडी पढिरहेका छन्।

सहमहामन्त्री यादवले तीनकुनेमा प्रदर्शन भएको दिन आफ्ना एक छोरा मथुरामा रहेको र अर्को काठमाडौँको घरबाट बाहिर ननिस्केको दाबी गरे। साथै सञ्चारमाध्यमहरूमा मुकेश आफ्नो छारो रहेको भनेर आएको समाचारमा कुनै सत्यता नभएको बताए।

राप्रपा अध्यक्ष लिङ्देनले झुटा अभिव्यक्ति दिएको भन्दै धनुषा कांग्रेसले उनलाई कारबाही गर्न माग गरे। धनुषा कांग्रेसका सभापति योगेन्द्र पञ्जियारले लिङ्देनमाथि कारबाहीको माग गर्दै आइतबार जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने कार्यक्रम तय भएको जानकारी दिए।

प्रकाशित: १३ वैशाख २०८२ १५:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast