
माइतीघर-नयाँ बानेश्वर सडकमा विद्यालय शिक्षक र कर्मचारी भेला हुँदै थिए। गाडीहरू गुड्न छाडेका थिए। सडक प्लेकार्ड र ब्यानर बोकेका शिक्षकहरूले भरिभराउ हुँदै थियो। सडकको एक छेउमा, रातो टोपी, खैरोकोट र नीलो कुर्ता सलवारमा थिइन् नानुमाया पराजुली।
केही शिक्षकहरू उनलाई घेरेर उभिएका थिए। आन्दोलनको अबको मोड, शिक्षा ऐनको भविष्य, शिक्षकको पीडाबारे उनीहरूले चासो राखे। नानुमायासँग कुनै बनिबनाउ उत्तर थिएन। थियो त एकजना नेतृका आँखामा देखिने निडर व्यक्तित्व, आत्मविश्वास र परिवर्तनप्रति अटल विश्वास। उनै नानुमायाको काँधमा अहिले १८ थरीका शिक्षक र विद्यालय कर्मचारीहरूको आशा अडिएको छ।
नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिकी सहअध्यक्ष नानुमाया काठमाडौँमा चैत २० गते थालिएको शिक्षक आन्दोलनको संयोजक हुन्। उमेरले ६ दशक टेक्न लागेकी नानुमायामा ऊर्जा र अठोट देखिन्छ। लामो आन्दोलनले थकाइ त ल्याउँछ तर नानुमायाको अनुहारमा उच्च मनोबल देखिन्छ। नानुमाया भन्छिन्, ‘यो आन्दोलन सफल नभएसम्म पछि हट्दिनँ।’
३८ वर्षदेखि शिक्षण पेसामा उनले अनेक आरोहअवरोह सहँदै अगाडि बढ्दै आएकी हुन्। लमजुङको राइनास नगरपालिका-३ ढाडखर्कमा २०२३ सालमा किसान परिवारमा जन्मिएकी नानुमाया सानैदेखि विद्रोही स्वभावकी थिइन्। घरमा सात दिदीबहिनी, दुई दाजुभाइ। उनी काइँली छोरी।
नानुमायाले संघर्ष कहिल्यै बिर्सिनन्, बरु त्यसलाई प्रेरणा लिएर आफ्नो उद्देश्यमा लागिरहिन्। छोरी विद्यालय पढ्न जानु भनेको सपनाजस्तो थियो। बिहान खेतमा, दिउँसो विद्यालयमा, साँझ घरको चुलोचौको। यी तीनवटा जिम्मेवारी साथसाथ पूरा गरेको क्षण सम्झँदा उनी भावुक हुन्छिन्।
नानुमायाले तीन कक्षासम्म गाउँमै स्कुलमा पढेकी हुन्। त्यसपछि टाढाको स्कुलमा गएर विद्यालय तह पूरा गरेको उनी बताउँछिन्। किताब र कलम जुटाउन पनि सजिलो थिएन। जति दुःख भए पनि नानुमायाले पढाइ छोडिनन्। शिक्षाशास्त्रमा स्नातकोत्तर पूरा गरिन्। त्यो यात्राले नै बनायो- आजकी नानुमाया।
शिक्षक बन्नु उनका लागि सजिलो थिएन। तैपनि समाजमा देखिने विकृति, महिलामाथिको हेपाइ र अन्यायविरुद्ध उभिइन्। उनी भन्छिन्, ‘निकै कठिन थियो शिक्षण पेसामा लाग्न। दुःख गरेर यहाँसम्म आएकी हुँ।’
उनले शिक्षण सेवा सुरु गरेकी हुन् जनचेतना प्रावि ढाडखर्कबाट। २०५० चैत १ गतेबाट शिशु विद्याश्रम माध्यमिक विद्यालय तीनपिप्लेमा अध्यापन गर्न थालिन्। २०५६ भदौ ६ गतेदेखि निरन्तर अहिलेसम्म सोही विद्यालयको प्रधानाध्यापक छिन् नानुमाया।
महिला प्रधानाध्यापक बन्नु आफैँमा महत्त्वपूर्ण, निकै ठूलो उपलब्धि रहेको स्मरण गर्छिन् नानुमाया। समाजको विभेद चिर्ने साहस लिएर अगाडि बढेको उनी बताउँछिन्। नानुमाया भन्छिन्, ‘महिलाले नेतृत्व गर्न सक्दैनन् भन्ने सोच चिर्नैपर्छ भन्ने अठोट थियो मेरो।’
नानुमाया कर्ममा विश्वास गर्छिन्। बोलेको कुरा पूरा नगरी बस्दिनन्। विद्यालयको उन्नतिमा पनि उनको विशेष योगदान छ।
पूर्वाधार निर्माण, गुणस्तरीय पढाइ, कक्षा १२ सम्म विस्तार उनकै नेतृत्वमा सम्पन्न भएका गतिविधि हुन्। विद्यालयलाई घरजस्तै बनाएकी छन् उनले। त्यसैले शिशु विद्याश्रम अब्बल बनेको छ। नानुमाया भन्छिन्, ‘विद्यालय र म बीच दोहोरो सम्बन्ध छ। मेरो जीवनको पूरै ऊर्जा यहीँ दिएँ।’
विद्यालय आज जिल्लाभर चर्चित छ। ‘शिशु विद्याश्रम भनेपछि सबैले चिन्छन्,’ उनी गर्वका साथ भन्छिन्, ‘विद्यालयले मलाई चिनायो, मैले विद्यालयलाई चिनाएँ।’ उनको माइती लमजुङ। घर गोरखाको सिरानचोक गाउँपालिका खमारी।
नानुमाया शिक्षक मात्र होइनन्, आमा पनि हुन्। नानुमायाका तीन छोरी छन् मञ्जु, सञ्जु, अञ्जु। आफूले पढाउने विद्यालयमै स्कुल शिक्षा पूरा गरेका छोरीहरूले पनि आफ्नो पेसा सम्हालिसकेका छन्। मञ्जु राइनास नगरपालिकामा इन्जिनियर छिन्। सञ्जु भरतपुर सामुदायिक अस्पतालमा कार्यरत छिन्। कान्छी अञ्जु बीबीएस सकेर स्वास्थ्य बिमा बोर्डमा जागिरे छिन्।
आमाको सफलतामा तीन छोरीको साथ त छ नै त्योभन्दा बलियो खम्बा बनेका छन् उनका श्रीमान्। जो समाजसेवी हुन्।
नानुमाया हरेक काम सुरु गर्नुअघि छोरीहरू र श्रीमान्सँग परामर्श गर्छिन्। ‘छोरीहरू र श्रीमान्सँग सल्लाह हुन्छ, उनी भन्छिन्, ‘श्रीमान् समाजसेवी हुनुहुन्छ, उहाँको पनि पूर्ण सहयोग छ।’
आफन्त, छिमेकी, समुदाय सबैले उनलाई ‘अभिभावक’ जस्तै मानेका छन्। ‘यो मेरा लागि गर्वको कुरा हो’, उनी भन्छिन्।
२०७५ सालमा नानुमाया अस्ट्रेलिया गइन् समावेशी शिक्षासम्बन्धी तालिमका लागि। २० दिनको त्यो तालिमले अन्तर्राष्ट्रिय दृष्टिकोणको ज्ञान प्राप्त गर्न सहयोग पुर्यायो। उनको मन भने कहिल्यै गाउँबाट टाढा भएन। ‘म लमजुङकै पानी पिएर हुर्केकी, ढिँडोफाँडो खाएर ठूली भएकी हुँ’ उनी भन्छिन्, ‘मेरो गाउँका जस्तै अन्य विद्यालयको अवस्था सुधार्ने अठोट पलाएको छ मलाई।
ऐन अभावमा अहिले सम्पूर्ण शिक्षा क्षेत्र अस्तव्यस्त भएको उनले तर्क छ। मुलुक संघीयतामा गए पनि संघीय शिक्षा ऐन लागू नहुनु मुख्य समस्या भएको उनी बताउँछिन्। ‘नीति छैन, नियमन छैन, तथ्यमा आधारित भएर कोही बोल्दैन। शिक्षकमाथि दोष थोपरेर सरकार चुप लाग्छ,’ उनको आक्रोश छ।
सार्वजनिक विद्यालयमा लगानी बढेन भने सुधार सम्भव छैन। सबै सरकारी सेवासुविधा पाउनेहरूले आफ्ना छोराछोरी सार्वजनिक विद्यालयमा पढाउनुपर्ने नीति ल्याएमात्र सुधार सम्भव हुने उनको अनुभव छ।
२०८० वैशाख ११ गतेदेखि महासंघको सहअध्यक्ष बनेकी उनी अहिले देशभरका शिक्षकहरूको आवाज बनेकी छन्।
द्वैध शिक्षा प्रणाली, सहर केन्द्रित नीति, निजी शिक्षाको बढी प्राथमिकता, सामुदायिक विद्यालयप्रतिको उपेक्षा यी सबैविरुद्ध उनी उभिएकी छन्। शिक्षा ऐन नआएसम्म आन्दोलन जारी राख्नुपर्ने उनको अठोट छ। उनी भन्छिन्, ‘मुलुक संघीयतामा गइसकेपछि शिक्षा ऐन आवश्यक थियो। तर राज्य गम्भीर छैन। आन्दोलन शिक्षण पेसासँग मात्रै सीमित छैन। गुणस्तरीय शिक्षाका लागि पनि हामी सडकमा उत्रन बाध्य भएका हौँ। हामी त शिक्षकको मात्र नभएर लाखौँ विद्यार्थीका पक्षमा बोलिरहेका छौँ।’
निजी विद्यालयको जस्तो चमकधमक नभए पनि सामुदायिक विद्यालयमा भविष्य उज्यालो रहेको नानुमायाको विश्वास छ। उनी भन्छिन्, ‘सार्वजनिक विद्यालयमा गरिबका छोराछोरी मात्रै पढ्ने हो भन्ने भाष्य बनाइयो। सरकार सार्वजनिक शिक्षाको जिम्मेवारीबाट च्यूत भएको छ। नीति छैन, नियमन छैन, अनुगमन छैन। अनि दोष शिक्षकको टाउकोमा थोपर्छन्।’
आन्दोलनमा दिनहुँ भेटिन्छन् पुराना साथी पनि। जोसँग सँगै कक्षा पढेकी थिइन्। ‘एकै कक्षामा पढेका साथीहरू सडकमा भेटिन्छन्, अनि ती दिन सम्झिन्छौँ’, भावुक हुँदै नानुमायाले भनिन्।