
काठमाडौँ- नेपाली फिल्म क्षेत्रका लागि २०८१ साल ऐतिहासिक बन्यो। चलचित्र विकास बोर्डले विगतमा सार्वजनिक गर्ने तथ्यांकमा प्रदर्शन र व्यापारका दृष्टिले हिन्दी फिल्मकै वर्चश्व देखिन्थ्यो। २०८१ सालमा हिन्दीभन्दा बढी नेपाली फिल्म हेर्ने दर्शक बढेको आकलन समीक्षकहरूको छ। व्यापार पनि बढेको तथ्यांकमा उल्लेख छ।
गत वर्ष पहिलो महिनादेखि नै फिल्मको चहलपहल थियो। ‘बोक्सीको घर’को सफलताले वर्षभर नै उत्साहमय भयो। यस वर्ष कस्तो रहला भन्ने आम फिल्मकर्मी र फिल्मप्रेमीकाे कौतूहल विषय बनेकाे छ।
त्यसो त साताको पहिलो शुक्रबार कुनै फिल्म प्रदर्शन भएनन्। अहिले हलमा नयाँ वर्ष लक्षित प्रदर्शन भएको ‘पिताम्बर’ र ’कर्मा’, हिन्दी फिल्म ‘केशरी च्याप्टर २’ र ‘जाट’, बायाेपिक फिल्म ‘अञ्जिला’ चलिरहेकाे छ। हलमा दर्शक न्यून रहेकाे र साेचेअनुरूप व्यापार नभएकाे हल सञ्चालककाे गुनासाे छ।
दोस्रो सातादेखि भने पाँच फिल्म प्रदर्शनको तयारीमा छ। पहिलो महिनामा अहिलेसम्म वरिष्ठदेखि चल्तीका कलाकारले खेलेका पाँच फिल्मले प्रदर्शन मिति तोकेको छ। ती हुन्, ‘भूठान’, ‘खेल’, ‘झिल्को’, ‘ऊनको स्विटर’ र ‘जार’। पाँचओटै फिल्मको कथावस्तु फरक छ। कुनै फिल्म पुराना निर्माताले बनाएका छन् भने कुनै नयाँले। सबै फिल्मले प्रचार सामाग्रीबाट राम्रै चर्चा पनि पाइरहेका छन्। फिल्मले दर्शकको मन कति जित्ला भन्नेचाहिँ केही सातापछि जानकारी हुनेछ।
कुन फिल्म कस्तो छ?
भूठान
वरिष्ठ अभिनेता हरिवंश आचार्य मुख्य भूमिका रहेको फिल्म हो ‘भूठान’(द वर्ल्डस् ह्यापिस्ट म्यान)। फिल्ममा अभिनेता आचार्य भुटानी आप्रवासीको भूमिकामा देखिनेछन्। फिल्मको कथा भुटानदेखि भारत, नेपाल हुँदै अहिले अमेरिकामा बसोबास गरिरहेका भुटानीहरुको दैनिकी र देशप्रेममा आधारित छ। १२ वैशाखदेखि प्रदर्शन हुने फिल्ममा दयाहाङ राई, पूजा चन्द लामा, ऋचा घिमिरे, जोयश पाण्डे, अदिति प्याकुरे, हलिउड अभिनेता ब्रुस डर्नलगायत कलाकारको अभिनय छ।
फिल्मका लेखक तथा निर्देशक विनोद पौडेल हुन्। यसअघि उनको निर्देशनमा फिल्म ‘बुलबुल’ चर्चित बनेको थियो। यसबाट कलाकार र फिल्म निर्माण टिमले सकारात्मक प्रतिक्रिया पाएका थिए। फिल्ममा अविरल थापा, सुशांक मैनाली, राजेन्द्र ठकुराठी, अमिताभ जोशी र किर्तना बाँस्कोटाले लगानी गरेका छन्। फिल्मको पाेस्टर, टिजर, ट्रेलर र ‘कागजको खोस्टो’ बोलको गीत सार्वजनिक भइसकेको छ।
खेल
फिल्म ‘खेल’ पनि वैशाख १२ देखि नै प्रदर्शन हुँदैछ। लोककथामा आधारित फिल्म हरर, थ्रिलर र सस्पेन्स जनरामा बनेको छ। फिल्मका निर्देशक अनुराग प्रधान र आस्था श्रेष्ठ हुन्। फिल्म अध्ययनका लागि काठमाडौँको होस्टेलमा बसेका ४ साथीको कथामा आधारित छ। फिल्म उनीहरूकै विगतका घटना वरीपरी घुमेको निर्माण टिमले बताएको छ। फिल्मको पाेस्टर, ट्रेलर र टाइटल गीत सार्वजनिक भइसकेको छ।
फिल्ममा सुरक्षा पन्त, मोनिका थापा, हेना नगरकोटी, निकिता आचार्य, समापिका गौतम, मिथिला शर्मा, सरिता गिरी, भोलाराज सापकोटा, किरण श्रेष्ठलगायत कलाकारको अभिनय छ। सिरूपाते कट्सको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता लुइसराज कहर्जन र आशिषराज महर्जन हुन्।
झिल्को
मोबाइलको प्रयोगले बालबालिकामा परेको असरको विषयवस्तुमा आधारित फिल्म हो ‘झिल्को’। फिल्म १९ वैशाखदेखि हलमा लाग्नेछ। फिल्ममा अहिलेका पुस्तामा बढ्दो डिजिटल निर्भरता र त्यसले पार्ने मनोवैज्ञानिक, समाजिक तथा पारिवारिक प्रभावलाई समेटेको टिमको दाबी छ। फिल्मको पाेस्टर, टिजर र ‘नाँच पुतली’ बोलको गीत सार्वजनिक भइसकेको छ।
फिल्मका निर्देशक यादवकुमार भट्टराई हुन्। फिल्मको कथा तथा पटकथा निर्देशक भट्टराईसहितअरुणदेव जोशी र देवव्रतले लेखेका छन्। फिल्ममा आयुषी ढकाल, सुनिल पोखरेल, वर्षा शिवाकोटी, विशाल पोखरेल, भोलाराज सापकोटा, जेभिन श्रेष्ठ, जेभिस श्रेष्ठलगायत कलाकारको अभिनय छ। निर्देशक भट्टराईले यसअघि सतिप्रथामा आधारित ‘झोला’ र दाइजो प्रथामा आधारित ‘भोर’ निर्देशन गरेका थिए।
ऊनको स्विटर
अभिनेता विपिन कार्की र अभिनेत्री मिरुना मगरको मुख्य भूमिका रहेको फिल्म ‘ऊनको स्विटर’ २६ वैशाखमा प्रदर्शन हुँदैछ। सामाजिक कथामा आधारित फिल्ममा प्रेम, स्मृति र सम्बन्धमा आउने उतारचढावलाई प्रस्तुत गरिएको छ।
फिल्ममा अन्य कलाकार विल्सन विक्रम राई, एलेक्स पारस, परीक्षा लिम्बू, सुनिल पोखरेल, माओत्से गुरुङ, सुरज तमूलगायतले अभिनय गरेका छन्। नवीन चौहानको लेखन र निर्देशनमा बनेको फिल्म आर्टमाण्डुले निर्माण गरेको हो। सहायक निर्देशकमा काम गरिहेका चौहानको यो डेब्यु निर्देशन हो। फिल्मको पाेस्टर, टिजरसहित ‘काफ्ले’, ‘मखमली’ र ‘फूल’ बोलको तीन गीत पनि सार्वजनिक भइसकेको छ।
जार
फिल्म ‘जार’ साहित्यकार इन्द्रबहादुर राईको कथामा आधारित छ। ‘जार’ कथा सन् १९६१ मा प्रकाशित साहित्यकार राईको ‘विपना कतिपय’ संग्रहमा संकलित छ। कथामा रुद्रमान, हर्षजित र ठूली गरी तीन पात्रको कथा छ। फिल्ममा भने सौगात मल्ल रुद्रमान बनेका छन्। हर्षजित पात्रको भूमिकामा अनुपविक्रम शाही र ठूलीको भूमिकामा गीताञ्जली थापाले अभिनय गरेका छन्। फिल्मको पाेस्टर र ट्रेलर पनि युट्युबमा सार्वजनिक भइसकेकाे छ।
भोगेर अर्को विवाह गरेकी स्त्रीको दोस्रो श्रीमानलाई पहिलो श्रीमानले जार भन्ने प्रचलन छ। यही जार संस्कृतिमा आधारित फिल्म फेर्री टेल पिक्चर्सले निर्माण गरेको हो। फिल्म सिक्किममा छायांकन गरिएको छ। यही २६ वैशाखमा प्रदर्शन हुने फिल्मका लेखक तथा निर्देशक फूर्वा छिरिङ लामा हुन्।