वीरगन्जमा हिंसा भड्काउनेहरूमाथि कारबाही गर्न मुख्यमन्त्रीको निर्देशन

हिमाल प्रेस ३ वैशाख २०८२ १२:४४ | Wednesday, April 16, 2025
वीरगन्जमा हिंसा भड्काउनेहरूमाथि कारबाही गर्न मुख्यमन्त्रीको निर्देशन

वीरगन्ज- मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले हनुमान जयन्तीका अवसरमा वीरगन्जमा भएको हिंसात्मक घटनालाई दुर्भाग्यपूर्ण भन्दै सामाजिक सद्भाव कायम गर्न सबैलाई संयमता अपनाउन आह्वान गरेका छन्।

मुख्यमन्त्री सिंहका प्रेस सल्लाहकार अनिलकुमार कर्णद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएअनुसार घटनापछि प्रदेश सरकार, प्रशासन र प्रहरीसँगको निरन्तर छलफल जारी छ र जनजीवन सामान्य बनाउन प्रयास भइरहेका छन्। विज्ञप्तिमा भनिएको छ, ‘समाजमा सद्भाव र भाइचारा कायम गर्न सम्पूर्ण धार्मिक, सांस्कृतिक र जातीय समुदायबीच आपसी सम्मान आवश्यक छ। हिंसा भड्काउने जोसुकैलाई कानुनी दायरामा ल्याउन निर्देशन दिइएको छ।’

मुख्यमन्त्री सिंहले वीरगन्जलाई मधेशको शक्ति र धार्मिक–सांस्कृतिक विविधताको प्रतीक बताउँदै यसमा चोट पुर्‍याउने कुनै पनि गतिविधि चिन्ताजनक र दुःखद् भएको उल्लेख गरेका छन्।

यसैबीच, खानेपानीमन्त्री प्रदीप यादवले पनि सामाजिक सञ्जालमार्फत सार्वजनिक सम्पत्तिमा तोडफोड र उत्तेजक अभिव्यक्ति दिनेहरूमाथि कडा कारबाही गर्न आग्रह गरेका छन्। ‘वीरगन्ज सधैं भाइचारा र सद्भावको उदाहरण रहँदै आएको छ। तनाव समाधान आपसी संवादबाट हुनुपर्छ,’ मन्त्री यादवले बताएका छन्।

पर्सा प्रहरी प्रमुख गौतम मिश्रले हनुमान जयन्तीको शोभायात्राका क्रममा तोडफोडमा संलग्न दुवै समुदायका चार जनालाई पक्राउ गरिएको र अन्यको खोजी भइरहेको जानकारी दिए। त्यस्तै, मंगलबार निषेधाज्ञा तोडेर प्रदर्शन गर्ने दुई जनालाई पनि नियन्त्रणमा लिइएको छ।

प्रकाशित: ३ वैशाख २०८२ १२:४४ | Wednesday, April 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast