स्वास्थ्य बिमा गर्नेमा झापा पहिलो जिल्ला, मोरङ दोस्रो

हिमाल प्रेस २७ चैत २०८१ ७:५९
18
SHARES
स्वास्थ्य बिमा गर्नेमा झापा पहिलो जिल्ला, मोरङ दोस्रो

झापा- सरकारले सामाजिक सुरक्षाअन्तर्गत सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रममा झापा सबैभन्दा बढी संख्यामा सहभागी (बीमित) भएको जिल्ला बनेको छ ।

स्वास्थ्य बिमा बोर्ड सम्पर्क कार्यालय झापाकी संयोजक लक्ष्मी कँडेलले झापामा सात लाख ६२ हजार ६८६ जना बीमित रहेको बताइन्। स्वास्थ्य बिमा बोर्डका अनुसार देशभरमा ८९ लाख ६७ हजार सात सय ९० जना बीमित छन्। झापापछि बीमित धेरै रहेको जिल्लामा मोरङ (दोस्रो), सुनसरी (तेस्रो) र चितवन (चौथो) रहेका छन्।

मोरङमा छ लाख एक हजार चार सय २९ जना, सुनसरीमा पाँच लाख ७५ हजार छ सय ९५ जना र चितवनमा पाँच लाख ६५ हजार सात सय १० जना बीमित छन्।

उनले झापामा कूल जनसंख्याको ६९ दशमलव ६७ प्रतिशत स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध रहेको जानकारी दिए। १५ पालिका रहेको जिल्लामा हालसम्म सबैभन्दा बढी बीमितको संख्या दमक नगरपालिकामा रहेको छ भने कम संख्या झापा गाउँपालिकामा रहेको छ।

दमकमा एक लाख ११ हजार ८० जना अर्थात त्यहाँको जनसंख्याको एक सय तीन प्रतिशत बीमित रहेको संयोजक कँडेलले जानकारी दिइन्। भुटानी शरणार्थी र घर भाडामा बस्नेको बिमा भएको हुँदा दमकमा नगरको जनसंख्याभन्दा धेरै बीमित रहेको उनले बताइन्।

सबैभन्दा थोरै बीमित रहेको झापा गाउँपालिकामा १४ हजार नौ सय ७४ जना स्वास्थ्य बिमा कार्यक्रममा सहभागी छन्। यहाँको जनसंख्याको तुलनामा बीमितको संख्या ३८ प्रतिशत मात्र रहेको छ।

अर्जुनधारा नगरपालिकामा ४९ हजार सात सय ६९, भद्रपुरमा ५५ हजार ८३, बाह्रदशी गाउँपालिकामा २० हजार तीन सय २७, विर्तामोडमा ८१ हजार नौ सय ४९, बुद्धशान्ति गाउँपालिका ३८ हजार छसय ४७ र गौरादह नगरपालिका ४६ हजार नौ सय ३१ जना बीमित भएका छन्।

गौरीगञ्ज गाउँपालिकामा १९ हजार चार सय १०, हल्दिबारीमा २५ हजार नौ, कचनकवल गाउँपालिकमा २६ हजार दुई सय ६७, कमल गाउँपालिकामा ४८ हजार तीन सय १२, कनकाई नगरपालिकामा ४१ हजार नौ सय ११, मेचीनगरमा ७८ जार छ सय ५२, शिवसताक्षीमा ५७ हजार चार सय नौ जना बीमित रहेको जिल्ला संयोजक कँडेलले जानकारी दिइन्।

उनले जिल्लामा स्वास्थ्य बिमाबाट पाउने सेवाप्रति जनताको आकर्षण बढ्दै गएकाले नवीकरण गर्नेको संख्यासमेत वृद्धि भइरहेको बताइन्। उनले लक्षित वर्ग समूहमा धेरै नागरिक बीमित रहेको बताउनुभयो । प्रादेशिक अस्पताल भद्रपुरसहित जिल्लाका १४ वटा प्राथमिक सेवा प्रदायक संस्थाबाट बीमितले सेवा लिइरहेका छन् । रेफर भएका बीमितले विर्तामोडको विएन्डसी, कनकाई अस्पताल, भद्रपुरको ओमसाई पाथीभरा, दमकको निम्स, आम्दा र दमक अस्पतालबाट बीमितले सेवा पाइरहेको उनको भनाइ छ।

झापाका पाँच वटा आँखा अस्पतालबाट स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत बीमितले सेवा पाइरहेका छन्। उनले कार्यालयमा दरबन्दी अनुसारको कर्मचारी नहुँदा पालिकाहरु र स्वास्थ्य सेवा प्रदायक संस्थासँग आवश्यक समन्वयको अभाव हुने गरेको बताइन्।

प्रकाशित: २७ चैत २०८१ ७:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast