
काठमाडौँ– प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले उदयपुर सिमेन्ट उद्योगका विषयमा उदयपुरका सरोकारवालासँग छलफल गरेको छ।
समितिले मंगलबार हाल बन्द अवस्थामा रहेको उदयपुर सिमेन्ट उद्योगको स्थलगत निरीक्षण गर्दै जिल्ला प्रशासन कार्यालय उदयपुरमा सरोकारवालाहरुसँग छलफल गरेको हो।
छलफलमा सहभागीहरुले उद्योग राज्यले नै सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए। छलफलमा सहभागी नेकपा एमाले उदयपुरका अध्यक्ष भागवत राउतले उदयपुर सिमेन्ट उद्योगलाई सार्वजनिक–निजी–साझेदार (पीपीपी) मोडलमा संचालन गर्न नहुने तर्क रखे।
छलफलमा बोल्दै कोशी प्रदेश सभा सदस्य तथा नेपाली कांग्रेस उदयपुरका सभापति हिमाल कार्कीले उदयपुर सिमेन्ट चल्न नसक्नुको प्रमुख कारण राजनीतिक दल रहेको बताए।
कार्यक्रममा चौदण्डीगढी नगरपालिकाका मेयर कालुमान लामाले राज्यले गतिलो कानुन नबनाउँदा देशमा उद्योगहरु संकटमा परेको भन्दै राज्यले आवश्यक नीति तर्जुमा नगर्ने हो भने देशमा थप उद्योग खुल्न समेत कठिन हुने बताए।
उक्त कार्यक्रमका लागि उदयपुर पुगेको समितिले उदयपुरमा उदयपुर सिमेन्ट उद्योगको नीजिकरणको बारेमा आएका सुझावसमेतलाई गम्भीरतापूर्वक रुपमा लिएको जनाएको छ।