गभर्नरमा ओलीले ढुंगाना अघि बढाउँदा पाण्डे ‘बोक्दै’ देउवा, भूमिकाविहीन अर्थमन्त्री

निष्कर्षविहीन छनोट समिति

रमेश भारती २६ चैत २०८१ १२:११
1.9k
SHARES
गभर्नरमा ओलीले ढुंगाना अघि बढाउँदा पाण्डे ‘बोक्दै’ देउवा, भूमिकाविहीन अर्थमन्त्री

काठमाडौँ- सत्तारुढ दल कांग्रेस र एमालेले आआफ्ना उम्मेदवारमा अडान नछाड्दा गभर्नर नियुक्ति ढिला भइरहेको छ। तत्काल गभर्नर नियुक्ति हुने सम्भावना नदेखेपछि अर्थ मन्त्रालयले डेपुटी गभर्नरको जिम्मेवारी नीलम ढुंगाना तिम्सिनालाई दिएको छ।

नेपाल राष्ट्र बैंकको गभर्नरको कार्यकाल सकिनु एक महिनाअघि नै नियुक्ति भइसक्नुपर्ने व्यवस्था छ। तर कांग्रेस-एमालेको लुछाचुढीले अझै नियुक्ति अन्यौलमा छ।

ढुंगाना एमालेबाट लबिइङमा छिन् भने पाण्डे कांग्रेस कोटाबाट छन्। प्रधानमन्त्री केपी ओली डा. ढुंगाना र कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्र बैंककै सञ्चालक रहेका डा. रवीन्द्र पाण्डेलाई गभर्नर बनाउन अडान रहेको स्रोतको दाबी छ।

गत बुधबारको मन्त्रीपरिषद् बैठकबाटै गभर्नर टुंगो लगाउने सम्भावना थियो। देउवा-ओलीका अतिरिक्त परराष्ट्रमन्त्री आरजु राणा देउवाले पूर्वमुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीलाई गभर्नर बनाउनुपर्ने अडान राख्दा गभर्नर नियक्तिमा थप समस्या पर्‍यो। राणाका विषयमा प्रधानमन्त्री ओली असन्तुष्ट बनेको एक अधिकारी बताउँछन्।

परराष्ट्रमन्त्री राणाले क्षेत्रीको नाम प्रस्ताव गरेपछि अर्थमन्त्री पौडेलले पनि राष्ट्र बैंककै कार्यकारी निर्देशकबाट राजीनामा दिएर बसेका डा. प्रकाशकुमार श्रेष्ठ र प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनलाई गभर्नर बनाउन सकिने बुधबारको मन्त्रीपरिषद् बैंठकमा संकेत गरेका थिए।

राणा र पौडेलको प्रस्तावपछि ओलीले गभर्नर नियुक्तिमा हस्तक्षेप गर्ने बाटो पनि खोजिरहेको अर्थमन्त्रालयकै उच्च अधिकारीहरू बताउँछन्। गभर्नरको विषयलाई लिएर प्रधानमन्त्री ओली र देउवाबीच छलफल भइरहेको भए पनि निकास निकाल्न मुस्किल भइरहेको अर्थ मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिए।

उनका अनुसार दुई नेताको सहमति नजुट्दा अहिले गभर्नर बन्ने साझा चरित्रको व्यक्तिको खोजीमा प्रधानमन्त्रीले चासो देखाउन थालेका छन्। एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले आफू थाइल्यान्ड जानु अघि नै गभर्नर ढुंगानालाई नियुक्ति गर्न चाहेका थिए। तर देउवाले मापदण्ड नै संशोधन गरी पाण्डेको प्रस्ताव गरेपछि उनी पछि हटेको अर्थ मन्त्रालय स्रोतको दाबी छ।

‘प्रधानमन्त्री ओली केही समय कुरेर अर्को कुनै संवैधानिक नियुक्ति कांग्रेसलाई दिएर गभर्नर आफ्नो पक्षका व्यक्तिलाई नियुक्ति दिने तयारीमा छन्। गभर्नर नियुक्तिमा अहिले सक्ता सहयात्री कांग्रेसले आफू पाउनुपर्ने अडान राखेपछि प्रधानमन्त्री ओलीले यसलाई लम्ब्याएका हुन्।’ उनले भने।

गत सोमबारदेखि गभर्नर महाप्रसाद अधिकारी आफ्नो ५ वर्षे कार्यकाल सकेर बिदा भैसकेका छन्। सरकारले वरिष्ठ डेपुटी गभर्नर डा निलम ढुंगानालाई कामुको जिम्मेवारी दिइसकेको छ। गभर्नरका लागि सात जनाको दौड जारी छ।

नयाँ गभर्नरका लागि राष्ट्र बैंकका डेपुटी गभर्नरद्वय नीलम ढुंगाना र बमबहादुर मिश्र, सञ्चालक समिति सदस्य रवीन्द्र पाण्डे, पूर्वमुख्यसचिव राजेन्द्रकिशोर क्षेत्री, राष्ट्रिय योजना आयोगका सदस्य डा प्रकाशकुमार श्रेष्ठ र ज्ञानेन्द्र ढुंगाना छन्। समितिले सरकारलाई तीन जनाको नाम सिफारिस गर्नुपर्छ।

पछिल्लो समय प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनको नाम पनि थपिएको छ।

भूमिकाविहीन छनोट समिति

सरकारले गभर्नर छनोट समितिमा अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा ३ सदस्सीय समिति बनाएको थियो। समितिमा पूर्व गभर्नरको तर्फबाट विजयनाथ भट्टराई र विज्ञको तर्फबाट डा विश्व पौडेल रहेका छन्। प्रधानमन्त्री र देउवाले आ-आफनो अडान राखेपछि छनोट समितिको भुमिकाविहिन नै भएको छ।

समितिले नयाँ गभर्नरका लागि तीन जनाको नाम पनि छनोट गर्न सकेको छैन। जसका कारण यस पटक सरकारले बनाएको गनर्भर छनोट समिति नाम मात्र भएको अर्थविद्हरूको आरोप छ। समिति सदस्य पौडेल केहीदिन विदेश जाने कार्यसूची रहेकाले तत्काल राष्ट्र बैंकले गभर्नर पाउने सम्भावना नभएको अर्थमन्त्रालयले नै जनाएको छ।

प्रधानमन्त्री केपी र कांग्रेस सभापति देउवाबीच कसलाई गभर्नर बनाउने भन्ने सहमति नजुटेकाले छनोट समितिमा हालसम्म कुनै छलफल भएको छैन। गभर्नर छनोटका लागि छलफल भइरहेको अर्थमन्त्री विष्णु पौडेलले हिमाल प्रेसले जानकारी दिए। उनका अनुसार गनर्भर चाँडै नियुक्ति हुन्छ। अहिले छलफल भइरहेको उनले बताए।

गभर्नर नियक्तिमा हस्तक्षेप 

छनोट समितिले लिष्ट मन्त्रीपरिषद्मा लैजान नसकेको र प्रधानमन्त्री हस्तक्षेप गर्ने पक्षमा उभिएको विषयमा पौडेललाई जिज्ञासा गर्दा ‘सहमति र सहकार्यमै गभर्नर नियुक्ति हुन्छ। यी सबै हल्ला मात्र हुन्। गभर्नर नियुक्तिमा हस्तक्षेप हुँदैन्।’ भन्ने जबाफ दिए।

पौडेलको संयोजकत्वमा गठन भएको सिफारिस समितिको बैठक दुई सातामा एक पटक पनि बसेको छैन। अर्थविज्ञ केशव आचार्यका अनुसार देशकै केन्द्रीय बैंकको रूपमा रहेको नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर अझै नियुक्ति गर्न नसकेपछि अर्थमन्त्री पौडेल भूमिकाविहीन देखिएको छ। सोमबार बसेको मन्त्रीपरिषद् बैठकले नयाँ गभर्नर टुग्यांउने आंकलन गरिएपनि नियुक्त नहुँदा अर्थमन्त्रीले मौन बस्न बाध्य हुनुपरेको उनले बताए।

‘प्रक्रिया मिचेर’ गभर्नर नियुक्ति गर्दै सरकार

गभर्नरविहीन राष्ट्र बैंक, के भन्छन् अर्थमन्त्री पौडेल?

गभर्नर नियुक्ति ओली फर्किएपछि, ‘पार्टीका मान्छे ल्याउन’ उमेर हद संशोधन 

गभर्नर नियुक्तिमा कांग्रेस-एमाले तानातान

प्रकाशित: २६ चैत २०८१ १२:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast