गणतन्त्रमा ‘राजा आउ देश बचाउ’ भन्नु मुर्खतापूर्ण : सञ्चारमन्त्री गुरुङ

हिमाल प्रेस १८ चैत २०८१ १७:०१ | Monday, March 31, 2025
गणतन्त्रमा ‘राजा आउ देश बचाउ’ भन्नु मुर्खतापूर्ण : सञ्चारमन्त्री गुरुङ सूचना सञ्चार तथा प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ।

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले गणतन्त्रप्रति जनताको विश्वास बलियो बनाउन रेडियो नेपाललगायत सार्वजनिक सेवा प्रसारण संस्थाहरूको भूमिका महत्त्वपूर्ण रहने बताएका छन्।

रेडियो नेपालको ७५औँ वार्षिकोत्सव (हीरक महोत्सव) कार्यक्रममा उनले राजावादी समूहको हिंसात्मक प्रदर्शनलाई सामन्ती प्रवृत्ति भन्दै गणतन्त्रको महत्त्व जनतामा स्पष्ट पार्न आवश्यक रहेको उल्लेख गरे।

पूर्वराजा ज्ञानेन्द्रले सार्वभौम सत्ता जनतालाई सुम्पिसकेको स्मरण गराउँदै उनले भने, ‘गणतान्त्रिक व्यवस्थामा ‘राजा आउ देश बचाउ’ भन्नु कुनै पनि सज्जनको काम होइन।’

सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले रेडियो नेपालले जनतालाई सही सूचना प्रदान गर्नुपर्ने बताउँदै नेपाल सुहाउँदो सार्वजनिक प्रसारण सेवा मोडलका कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने सुझाव दिए।

सञ्चार सचिव राधिका अर्यालले रेडियो नेपालको गरिमामय इतिहासलाई सार्वजनिक प्रसारण सेवामा रूपान्तरण गरेपछि जनताप्रति अझै जवाफदेही बनाउनुपर्ने बताइन्। सार्वजनिक प्रसारण सेवाका कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टले रेडियो नेपालको पहुँच शतप्रतिशत जनतामा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा हुलाक सेवा विभागले रेडियो नेपालको हीरक जयन्तीसम्बन्धी पहिलो हुलाक टिकट आवरण प्रकाशन गरेको थियो जसमा सञ्चारमन्त्री गुरुङले टाँचा प्रदान गरेका थिए।

प्रकाशित: १८ चैत २०८१ १७:०१ | Monday, March 31, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast