
सोलुखुम्बु- सोलुखुम्बुमा भाइरल संक्रमणको प्रकोप तीव्र भएको छ। पछिल्ला केही हप्तामा जिल्लाका विभिन्न स्थानहरूमा ज्वरो, रूघाखोकी, दम, निमोनिया, झाडापखाला, टाउको दुख्ने र श्वासप्रश्वाससम्बन्धी समस्याका बिरामीहरूको संख्या अत्यधिक बढेको छ।
स्वास्थ्य कार्यालयका अनुसार बिरामीको चाप असामान्य रूपमा वृद्धि भएको छ। यसले जिल्लाको प्रमुख स्वास्थ्य केन्द्र फाप्लु अस्पतालमा सेवा प्रवाहमा कठिनाइ ल्याएको छ। अस्पतालका निमित्त प्रमुख सानी शेर्पाका अुसार १५ शय्याको क्षमताको अस्पतालमा अहिले ५० जनाभन्दा बढी बिरामी भर्ना गरेर उपचार गरिरहेका छन्।
अस्पतालमा उपचार गरिरहेका अधिकांश बिरामी गम्भीर अवस्थाका छन् र ज्वरो, दम, निमोनिया तथा श्वासप्रश्वास समस्याले ग्रसित छन्। अस्पतालका डाक्टरहरूले ती बिरामीलाई अक्सिजन समेत दिनुपर्ने अवस्था आएको उनको भनाइ छ।
जिल्लाको दुर्गम क्षेत्र भएकाले स्वास्थ्यकर्मी सीमित छन्। बिरामीको चाप भने अत्यधिक छ। जसकारण उपचार प्रभावकारी रूपमा दिन कठिन भइरहेको छ। अस्पताल प्रशासनले जनशक्ति र आवश्यक उपकरणको अभावको समस्या उल्लेख गर्दै स्वास्थ्य सेवामा सुधारका लागि स्थानीय, प्रदेश र संघीय सरकारसँग समन्वयको आवश्यकता रहेको बताएका छन्।