यूएईको जेलमा नेपाली महिला, मापसे गरेर झगडा गर्दा पक्राउ

रमेश भारती २७ फागुन २०८१ ११:३६
138
SHARES
यूएईको जेलमा नेपाली महिला, मापसे गरेर झगडा गर्दा पक्राउ

काठमाडौँ- सात महिनाअघि रोजगारीका लागि यूएई पुगेकी धादिङकी एक महिला भारतीय नागरिकसँग विवाद गर्दा प्रहरी फन्दामा परिन्। उनको दुई साताअघि भारतीय नागरिकसँग विवाद भएको थियो। अबुधाबी सहरनजिकै एउटा होटलमा मादक पदार्थ सेवन गरी भारतीय नागरिकसँग विवाद गरिरहेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको  थियो।

केयरगिभरको रोजगारीका लागि म्यानपावर कम्पनीमार्फत यूएई गएकी उनी अहिले अबुधाबी जेलमा छिन्।

ताप्लेजुङकी एक महिला पनि बंगलादेशी नागरिकसँग झगडा गर्दा तीन महिनाअघि जेल परिन्। दुई वर्षअघि ब्युटी पार्लरमा काम गर्न गएकी उनलाई मादक पदार्थ सेवन गरेर बंगलादेशी नागरिकमाथि हातपात गर्दा प्रहरीले  पक्राउ गरेको थियो।

एक वर्षअघि रोजगारीका लागि यूएई पुगेकी कञ्चनपुरकी एक महिला गत जनवरीमा मादक पदार्थ सेवन गरी आफनै देशकी एकजना महिलासँग झगडा गर्दा पक्राउ परिन्। उनीहरू एउटै अस्पतालमा कार्यरत थिए। नयाँ वर्षका अवसरमा मादक पदार्थ सेवन गरी सामान्य विषयमा विवाद हुँदा ती महिलाले बोतलले हानेर अर्की नेपाली महिलाको टाउको फुटाएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

वैदेशिक रोजगारीका क्रममा हुने यी घटना प्रतिनिधि उदाहरण मात्र हुन्। यूएईमा कार्यरत महिला मादक पदार्थ सेवन गरी झैझगडामा उत्रिँदा जेल पुग्ने गरेको अबुधावीस्थित नेपाली दूतावासका राजदूत तेजबहादुर क्षेत्रीले बताए। दूतावासका अनुसार  यूएईमा मापसे गरी झगडा गरेर वार्षिक २० भन्दा बढी नेपाली जेल पर्ने गरेका छन्। यूएईका विभिन्न जेलमा ३ सयभन्दा बढी रहेको दूतावासले जनाएको छ। तीमध्ये ६ जना नेपालीले आजीवन जेलसजाय भोगिरहेका छन्।

व्यक्तिगत र संस्थागत रूपमा यूएई रोजगारीमा गएका कतिपय महिला कामदार मादक पदार्थ सेवन गरी नेपालीसँगै विदेशी नागरिकसँग नसाको तालमा झैझगडा गर्दा जेल पर्ने गरेका  छन्। यूएईमा रोजगारीका लागि आएका पुरुषमात्र होइन महिला कामदार पनि मादक पदार्थ सेवन गरी झैझगडामा उत्रिने गरेका छन्। अहिले यूएईमा यस्तो घटना बढ्दो छ।

‘एक महिनाअघि यूएई रोजगारीमा आएका नेपाली-नेपालीबीच ग्याङ फाइट परेको थियो। त्यसमा तीन जना महिला कामदार पनि थिए। उनीहरु पनि उक्त झगडामा संलग्न भएको थाहा पाएपछि प्रहरीले  प्रकाउ गरेको थियो,’ दूतावासका एक अधिकारीले भने।

केही समयदेखि नेपालीहरूले मादक पदार्थ सेवन गरी झैझगडा गर्ने प्रवृत्ति बढेका कारण समस्या बढ्दै गएको राजदूत क्षेत्रीले जानकारी दिए। मादक पदार्थ सेवन गरी झैझगडा गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरी आवश्यक कानुनी कारबाहीसहित नेपाल फिर्ता पठाउने गरेको पनि छ। नेपाली दूतावासले यसतर्फ समयमै सचेत रहन आग्रह गर्दै  सूचित गराउँदै आएको उनले बताए।

‘नेपालीले मादक पदार्थ सेवन गरी झैझगडा गर्ने प्रवृत्ति बढेको छ। यसका कारण नेपाली नै समस्यामा परेका छन्। दूतावासले यस्तो कार्यमा सलंग्न नहुन नेपालीलाई बारम्बार सूचित गराउँदै आएको छ,’ उनले भने।

राजदूत क्षेत्रीले यूएईमा कार्यरत नेपालीलाई यहाँको कानुनअनुसार सभ्य र शिष्ट व्यवहार प्रदर्शन गर्न, आफ्नो पेसा र व्यवसायप्रति यूएईको कानुनअनुसार अनुशासित भएर काम गर्ने उनले आग्रह  गरेका छन्।

वैदेशिक रोजगारीमा यूएईमा कार्यरत नेपाली कानुनविपरीत मादक पदार्थ सेवन गरी झैझगडामा उत्रिने गरेका छन्। दूतावासका अनुसार गत वर्ष मादक पदार्थ सेवन गरी झैझगडा गरेकै कारण ५० जनाभन्दा बढी नेपाली पक्राउ परेका थिए।

रोजगारीमा आएका नेपालीहरूले आफ्नो मर्यादा बिर्सिएर यूएईको ऐन, कानुन, नियम र मूल्यमान्यताको पूर्ण पालना नगरी सोहीअनुरूप आचरण र व्यवहार गर्न दूतावासले आग्रह गरेको छ।

दूतावासको विज्ञप्तिमा यूएईको ऐन, कानुन, नियम र मूल्य मान्यताको पूर्ण पालना गरी सोही अनुरुप आचरण र व्यवहार गर्न त्यहाँ कार्यरत नेपालीलहरूलाई आग्रह गरिएको छ। दूतावासले जथाभाबी मादक पदार्थ सेवन गरी झैझगडा गरेको र रेसिडेन्सियल नियम पालना नगरेका कारण डिपोर्ट हुने नेपालीको संख्या बढिरहेको जनाएको छ।

दूतावासले ट्राफिक नियमको पालना गर्न तथा आफ्नो इमिरेट्स परिचय पत्र सधैँ साथमा लिएर हिँड्न समेत यूएईमा कार्यरत नेपालीलाई आग्रह गरेको छ। दूतावासले कुनै समस्या वा गुनासो प्रस्तुत गर्नुपरेमा दूतावासका सम्बन्धित अधिकारीसमक्ष सभ्य, शिष्ट र मर्यादित भई आफ्ना समस्याबारे जानकारी गराउन पनि यूएईमा रहेको नेपालीलाई सूचनामार्फत जानकारी गराएको छ।

प्रकाशित: २७ फागुन २०८१ ११:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast