साउदी जाने कामदारसँग मनपरी शुल्क असुल्दै गाम्का : ३५ सय पर्ने खोपको नौ हजार रुपैयाँ!

रमेश भारती २५ फागुन २०८१ १४:३०
142
SHARES
साउदी जाने कामदारसँग मनपरी शुल्क असुल्दै गाम्का :  ३५ सय पर्ने खोपको नौ हजार रुपैयाँ!

काठमाडौँ- वैदेशिक रोजगारीका लागि साउदी अरेबिया जाने नेपाली कामदारलाई मेनिन्गोकोकल खोप लगाउँदा गल्फ एप्रुबल मेडिकल सेन्टर (गाम्का) ले मनपरी पैसा लिन थालेको पाइएको छ। साउदी अरेबियाले आफ्नो देश प्रवेश गर्ने विदेशी नागरिकले मेनिन्गोकोकल खोप अनिवार्य गरेको छ। एक डोजको ३ हजार ५ सय रुपैयाँ पर्ने यो खोपलाई गाम्काले केही दिनयता ९ हजारसम्म लिएर लगाइरहेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका कार्यवाहक अध्यक्ष डिकबहादुर खत्री (कुमार) ले हिमालप्रेसलाई जानकारी दिएका हुन्।

व्यवसायीहरूले श्रम, रोजगार तथा सामाजिक मन्त्रालयसँग यसबारे छानबिन गर्न माग गरेका छन्। खत्रीले मेनिन्गोकोकल खोपको तीन गुणा मूल्य बढ्दा साउदी जाने कामदारमाथि आर्थिक भार थपिएको बताए। ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालय वा स्वास्थ्य विभागले वैदेशिक रोजगारीमा जाने कामदारको बाध्यता र अत्यावश्यकतालाई ध्यानमा राखेर मेनिन्गोकोकल खोपको निःशुल्क व्यवस्थापन गर्नुपर्छ’, उनले भने। एउटा उद्देश्यले लागू गरेको मेनिन्गोकोकल खोप कामदारका हकमा अनिवार्य गरेर आर्थिक भार थपेको आरोप व्यवसायीहरूको छ। खत्रीले भने, ‘महँगोमा खोप लगाउन बाध्य पारिएको गुनासो कामदार  व्यवसायीहरूबाट आएको छ।’

साउदीले यस्तो खोप आफ्नो देशमा आउने विदेशी नागरिक अथवा हज मनाउन आउनेका हकमा अनिवार्य गरेको थियो। यस खोपलाई गाम्काको सेटिङमा रोजगारीमा जाने नेपाली कामदारलाई पनि अनिवार्य गरिएको व्यवसायीको आरोप छ। कार्यवाहक अध्यक्ष खत्रीका अनुसार नेपालबाहेक अन्य देशबाट साउदी रोजगारीमा जाने कामदारका हकमा यो खोप अनिवार्य छैन।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अधिकारीहरू भने यस विषयमा  बेखबर छन्। मन्त्रालयका प्रवक्ता डन्डुराज घिमिरेले साउदी जाने कामदारलाई मेनिन्गोकोकल खोपको शुल्क बढाएको विषयमा आफूहरूलाई केही जानकारी नभएको बताए। उनले  शुल्क बढाइएको विषयमा गाम्कालगायतका संस्थासँग छलफल गर्ने जानकारी दिए।

मेनिन्गोकोकल खोपको शुल्क बढेका विषयमा अनुसन्धान गरी छलफल गर्ने उनको भनाइ छ। साउदी मासिक २० हजारभन्दा बढी नेपाली कामदार रोजगारीमा गइरहेका छन्। साउदी जाने गाम्कामा आबद्ध विभिन्न १२ मेडिकलले स्वास्थ्य परीक्षण गर्दै आएका छन्। गाम्काले कानुनविपरीत खाडी देश जाने जाने कामदारको स्वास्थ्य परीक्षणका नाममा रकम असुल्दै आएको खत्रीले बताए।

गाम्काअन्तर्गतको अकुवा मेडिकल सेन्टरका सञ्चालक सहिद खान भने कामदारसँग मेनिन्गोकोकल खोपको त्यति धेरै रकम नलिएको दाबी गर्छन्। उनले ३५ सय पर्ने खोपको नौ हजार पैसा लिएको विषयमा आफूलाई जानकारी नभएको बताए। उनले भने, ‘मेनिन्गोकोकल खोप बहराइन र साउदी जानेका हकमा लगाइन्छ। तर त्यति रकम लिएका छैनौँँ।’

प्रकाशित: २५ फागुन २०८१ १४:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast