
झापा- भद्रपुर नगरपालिकाले उन्नत जातका तरकारीका बेर्ना ८५ प्रतिशत अनुदानमा वितरण गर्न थालेको छ। कृषि विकास अधिकृत सुमन विमलीका अनुसार तरकारीको बीउको सट्टा बेर्ना वितरण गर्दा किसानको समय र लागत बचत हुनेछ।
भद्रपुर नगरपालिकाका विभिन्न तीन स्थानमा रहेका कृषि फार्मबाट किसानहरूले १५ प्रतिशत मूल्य तिरेर उन्नत जातका तरकारीका बेर्ना प्राप्त गरेका छन्।
नगरपालिका बाँकी ८५ प्रतिशत रकम वहन गर्दै प्रत्येक कृषि फार्मबाट काँक्रा तीन हजार, करेला तीन हजार, खुर्सानी तीन हजार, घिरौला दुई हजार दुई सय र लौका दुई हजार दुई सय बेर्ना वितरण गरेको जानकारी दिइएको छ।
नगरपालिकाका अनुसार खुर्सानीका बेर्नाको प्रतिईकाइ वितरण मूल्य १० र अन्य तरकारीका बेर्ना प्रतिईकाइ १५ रहेको भए पनि किसानहरूले खुर्सानीका लागि १.५ र अन्य तरकारीका बेर्नाका लागि २.२५ रुपैयाँ मात्र तिर्नुपर्नेछ।
नगर प्रमुख गणेश पोखरेलले नगरपालिकाभित्र कृषि क्षेत्रको विकास र विस्तार गर्ने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताए। उनका अनुसार यस कार्यक्रमले किसानलाई लाभ पुर्याउने र कृषि क्षेत्रको दीर्घकालीन विकासमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।