
धनगढी – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले देशको अवस्था थप बिग्रिन नदिन विकल्पमा जानुपर्ने बताएका छन्।
राप्रपाले आइतबार धनगढीमा गरेको प्रदेशस्तरीय विरोधसभामा उनले देशले अब यही परिस्थिति थेग्न नसक्ने भन्दै नयाँ समझदारी गर्न आवश्यक रहेको धारणा राखे।
नेता मोटाउँदै जाने र जनता दुब्लाउँदै जाने अहिलेको अवस्थाले देश निरन्तर ओरालो लागेको अध्यक्ष लिङ्देनको भनाइ थियो।
‘यस्तो अवस्थामा अब अभिभावकीय संस्थाका रूपमा राजा, जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, पूर्णसमानुपातिक संसद् र सांसद मन्त्री हुन नपाउने व्यवस्था गर्न आवश्यक छ। यसले देशका समस्या समाधान गर्छ,’ उनले भने।
राप्रपा निर्देशन समितिका अध्यक्ष एवं पूर्वमन्त्री डा. प्रकाशचन्द्र लोहनीले राजनीतिक, शासकीय, आर्थिक र परराष्ट्रका दृष्टिमा देश समस्यामा रहेको बताए। उनले सबै राजनीतिक शक्तिबीच निषेध नभई एकता गरेर समस्या समाधान खोजिनुपर्ने उल्लेख गरे।
पार्टी प्रवक्ता ज्ञानेन्द्र शाहीले मुलुकलाई सही बाटोमा लैजान शासन व्यवस्थामा सुधार हुन जरूरी रहेको बताए। सभामा राप्रपाका उपाध्यक्ष विक्रम पाण्डे, दीपकबहादुर सिंह, कुन्तिकुमारी शाही, जयन्त चन्द, धर्मराज जोशीलगायतले सम्बोधन गगरेका थिए।