अन्योलमा नेविसंघ, महाधिवेशन कि स्ववियु चुनाव?

किरण पौडेल १२ फागुन २०८१ ९:५८
72
SHARES
अन्योलमा नेविसंघ, महाधिवेशन कि स्ववियु चुनाव?

काठमाडौँ- लामो समयदेखि तदर्थमा चलिरहेको नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) यतिबेला दोहोरो दबाबमा परेको छ। स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन संघारमा रहेका बेला नेविसंघलाई तत्काल आफ्नै महाधिवेशन गर्नुपर्ने बाध्यता छ।

त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले चैत ५ का लागि स्ववियु निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। यसैगरी कांग्रेसले चैतभित्र सबै भ्रातृ संगठनको महाधिवेशन सक्न निर्देशन जारी गरेको छ।

अब स्ववियु निर्वाचनमा लाग्ने कि महाधिवेशन केन्द्रित हुने भन्नेमा संघ अन्योलमा परेको हो। २०७८ देखि दुजाङ शर्पाकै अध्यक्षमा नेविसंघ चलिरहेको छ। सो वर्षको चैत ९ गते कांग्रेस सभापति शेरबहादुर देउवाले दुजाङलाई नेविसंघ तदर्थ समिति अध्यक्षमा मनोनयन गरेका थिए। दुजाङले संगठनको अधिवेशनका लागि कुनै काम नगरेको आरोप विद्यार्थी नेताहरूको छ।

देशको सबैभन्दा ठूलो लोकतान्त्रिक दलको भ्रातृ संगठन नेविसंघमा तदर्थ नेतृत्वको भर परेको यो पहिलोपटक होइन। यसअघिको स्ववियु निर्वाचनमा पनि नेविसंघ तदर्थ समितिकै भरमा थियो भने अध्यक्ष दुजाङ शेर्पा नै थिए। अर्को स्ववियु निर्वाचन आउन लाग्दा पनि नेविसंघले महाधिवेशन गर्न सकेको छैन। पार्टी निर्देशनअनुसार महाधिवेशन गर्न सम्भव नेखिएको विद्यार्थी नेताहरू बताउँछन्।

स्ववियु क्यालेन्डर फेरिँदा तनाव

नेविसंघले स्ववियु क्यालेन्डर फेरिँदा महाधिवेशन अनिश्चित बनेको दाबी गरेको छ। लामो समय महाधिवेशन गर्न नसक्दा अहिलेको अवस्था आएको तथ्यचाहिँ विद्यार्थी नेताहरू स्वीकार्न चाहँदैनन्। नेविसंघका नेताहरूको भनाइलाई आधार मान्ने हो भने फागुनमा स्ववियु निर्वाचन गरेर चैतमा महाधिवेशन गर्ने तयारी थियो। प्रवक्ता सुरज सेजुवाल स्ववियु निर्वाचन एक महिनापछि (फागुन १५ बाट चैत ५ मा) सर्दा कार्यतालिका प्रभावित भएको बताउँछन्।

‘हामीले फागुनमा स्ववियु गर्ने र चैतमा महाधिवेशन गर्ने भन्ने योजना बनाएका थियौँ तर स्ववियुकै कार्यतालिका परिवर्तन भइदियो’, उनी भन्छन्। नेविसंघले यही वर्षभित्र महाधिवेशन गर्ने लगभग अनिश्चित बनेको छ। किनभने जिल्लादेखि प्रदेश हुँदै केन्द्रसम्मका अधिवेशन सक्नुपर्नेछ। प्रवक्ता सेजुवाल जिल्ला अधिवेशन सुरु हुन नसकेको बताउँछन्। ‘पहिलो चरणको सदस्यता वितरण त सकियो। तर अन्तिम सूची आउन बाँकी छ,’ उनी भन्छन्, ‘अब फागुन १४ गतेसम्म सूची पठाउन निर्देशन गरिएको छ।’ चैत ५ मा स्ववियु निर्वाचन सकेर चैत ३० सम्ममा महाधिवेशन गर्ने तयारी नेविसंघले गरेको छ।

नेविसंघको त्यो तयारी पूरा हुने सम्भवना देखिँदैन। किनभने सबै क्याम्पसमा चैत ५ मा स्ववियु हुने सम्भावना कम छ। ‘चैत १५ सम्ममा स्ववियु निर्वाचन सरेमा निर्वाचन सकियो भने त्यसपछि केही गर्न सकिन्छ कि?’ सेजुवाल भन्छन्।

समानान्तरको सकस

स्ववियु निर्वाचनमा जाँदा नेविसंघलाई समानान्तर समितिको सकस छ। पार्टी नेता शेखर कोइराला पक्षीय विद्यार्थीहरू प्रेमिका रानामार्फत समानान्तर गतिविधि चलाइरहेका छन्। शेखर पक्षले पनि स्ववियु निर्वाचनको तयारी गरिरहेको छ। ‘दुवै पक्ष स्ववियुमा छन् तर उम्मेदवारी चयनदेखि सबैमा एकरूपता नहुँदा अन्तर्घात हुने सम्भावना छ,’ नेविसंघका एक नेता भन्छन्। प्रवक्ता सेजुवाल भने स्ववियुमा एकसाथ जाने सहमति भएको बताउँछन्। ‘समानान्तर गतिविधिले केही असहजता रहला तर हामी एक भएर स्ववियुमा होमिन्छौँ’, उनी थप्छन्।

नेविसंघका नेता धर्मराज शाही अध्यक्ष शेर्पाले संगठनमा एकाधिकार गरेकाले नयाँ तरिकाले गतिविधि चलाउन बाध्य हुनुपरेको बताउँछन्। कोइराला निकट मानिने शाहीले भने, ‘स्ववियुका सन्दर्भमा दुजाङजीले एकाधिकार गरेमा त्यहाँ पनि समानान्तर गर्छौँ।’ उनले अहिलेको नेविसंघ नेतृत्वमा विद्यार्थीलाई जागरुक बनाउनुपर्छ भन्ने सोच नै नभएको आरोप लगाए। उनले भने, ‘अवैधानिक गतिविधि सच्याउनुपर्छ भनेर चेतावनी दिएको छौँ। नभएमा अझै सशक्त तवरले अघि बढ्छौँ।’

भित्रभित्रै स्ववियु चुनावको तयारी

नेविसंघमा शेखर र देउवा पक्ष मात्र होइन। गगन पक्ष पनि अहिले देखिएको छ। यसले गर्दा आगामी स्ववियु निर्वाचनमा पनि तीनपक्षीय लडाइँ हुने सम्भावना छ। यसले टिकट वितरणमा नेतृत्वले सचेतता अपनाउनुपर्ने एक नेता बताउँछन्। यसका साथै नेविसंघले स्ववियुको तयारी पनि गरिरहेको छ। अध्यक्ष शेर्पाले अन्य विद्यार्थी संगठनका नेताहरूलाई समेत भेटेर स्ववियुमा जाने ऐक्यबद्धता जनाएका छन्।

‘नेविसंघले जितोस् वा हारोस् तर हामी स्ववियुको आवधिक निर्वाचनका पक्षमा छौँ,’ सेजुवाल भन्छन्, ‘हामी पहिले पनि पहिलो बनेका हौँ। अब पनि बन्छौँ। यद्यपि हार्ने देखिए पनि हामी स्ववियु हुनुहुँदैन भन्दैनौँ।’ सेजुवालका अनुसार यसअघि नेविसंघबाट सभापति जितेका सबैलाई भेला गरेर स्ववियु तयारीमा जुट्न निर्देशन दिइएको छ भने स्ववियु निर्देशन समितिसमेत बनिसकेका छन्। ‘हामी एकदुई दिनभित्रै घोषणापत्रसमेत निर्माण गरिसक्छौँ,’ उनी भन्छन्।

निर्वाचनबाट नेतृत्व ल्याउन सधैँ सकस

नेविसंघमा निर्वाचन (महाधिवेशन) गर्न वा आवधिक रूपमै महाधिवेशन गर्न सधैँ सकस पर्ने गरेको छ। निश्चित समयसम्म अधिवेशनबाट आएका निर्वाचित नेतृत्वले नेविसंघ चलाउने र तदर्थलाई नेतृत्व दिने प्रचलन नेविसंघमा ‘संस्कार’ जस्तै बनेको छ। यसमा पार्टी नेतृत्वले पनि आफू ‘मुताबिक’ भ्रातृ संगठन चलाउन खोजेको देखिन्छ। यसअघि अध्यक्षमा निर्वाचित नैनसिंह महरको कार्यकाल सकिएपछि सभापति देउवाले दुजाङलाई अध्यक्ष बनाएका हुन्। दुजाङले तीन वर्षदेखि न पद छाडेका छन्, न त महाधिवेशन गर्न सकेका छन्।

नेविसंघ भने केन्द्रमा निर्वाचन नभए पनि जिम्मेवारी हस्तान्तरण हुँदै आएको दाबी गर्छ। ‘महाधिवेशन नभएको हो तर पद हस्तान्तरण भने भइरहेको छ,’ प्रवक्ता सेजुवाल भन्छन्। महर २०७३ साउनमा नेविसंघ अध्यक्ष चुनिएका थिए। उनले २०७५ माघमा राजीनामा दिए। अब नेविसंघले १५ औँ महाधिवेशन गर्नुपर्ने हुन्छ।

‘पार्टीले निर्देशन दिएको हो तर हाम्रो बाध्यता पनि हेरिदिनुपर्‍यो। हामी जेठसम्ममा चाहिँ महाधिवेशन सकेर नयाँ नेतृत्व ल्याउन सक्छौँ’, सेजुवाल भन्छन्। उनका अनुसार कांग्रेसका सक्रिय भ्रातृ संगठनभित्र नेविसंघ पर्ने भएकाले पार्टीले समय थप गर्ने आस छ।

नेविसंघमा कहिल्यै भएन समयमा महाधिवेशन

नेविसंघको इतिहासमा एकपटक मात्र समयमा महाधिवेशन भएको छ, त्यो हो २०५९ सालमा। हालका महामन्त्री एवं तत्कालीन नेविसंघ सभापति विश्वप्रकाश शर्माले समयमा महाधिवेशन गरेर गुरुराज घिमिरेलाई नेतृत्व हस्तान्तरण गरेका थिए। जानकारहरूका अनुसार उनी समयमा महाधिवेशन गर्ने पहिलो र हालसम्मका एक्ला नेता मानिन्छन्।

नेविसंघको पहिलो सभापति विपिन कोइरालादेखि शेरबहादुर देउवा, ज्ञानेन्द्रबहादुर कार्की कसैले पनि समयमा महाधिवेशन गर्न नसकेको विगत छ। नेविसंघमा समयमा निर्वाचन हुन नसक्नुको प्रमुख कारण गुटगत टकराव रहेको जानकारहरू बताउँछन्। पार्टी नेतृत्वले आफ्नै हातमा चलाउन चाहने भएकाले अनपेक्षित नतिजा आउने सम्भावना देख्दा समयमा महाधिवेशन भएको पाइँदैन। पार्टी नेतृत्वमा जो छ, उही निकट विद्यार्थी नेतालाई नेविसंघ ल्याउने प्रचलन छ। यसले गर्दा पनि आवधिक निर्वाचन नहुने गरेको नेविसंघका नेता बताउँछन्।

अर्को, पार्टी केन्द्रीय सभापतिलाई नेविसंघको पदाधिकारी गठन र विघटनको अधिकार दिइएको हुन्छ। यही कारण पार्टीले हस्तक्षेप गर्दै आएको छ। ‘नेविसंघलाई पार्टी नेतृत्वले नै विघटन-गठन गर्दा समयमा महाधिवेशन हुँदैन,’ सेजुवाल बताउँछन्, ‘यो अधिकार नदिए मात्र समयमा महाधिवेशन हुन्छ।’

सेजुवालका अनुसार निर्वाचन आयोगले पार्टीलाई जस्तै भ्रातृ संगठनमा पनि महाधिवेशन नखोज्दा समस्या निम्तिएको हो। ‘आयोगले पार्टीलाई आवधिक निर्वाचन गरेको-नगरेको सोधपुछ राख्छ। तर त्यही पार्टीको भ्रातृ संगठनबारे सोधपुछ गर्दैन,’ उनी थप्छन्, ‘पार्टीलाई निर्वाचन आयोगले हेरेपछि भ्रातृ संगठनलाई पनि हेर्नुपर्‍यो।’

नेविसंघका पूर्वअध्यक्ष रन्जित कर्ण तीन कारणले नेविसंघको अधिवेशन तोकिएको अवधिमा हुन नसकेको बताउँछन्। उनका अनुसार पहिलो कारण हो अध्यक्षले आफ्नो जिम्मेवारी ठिक ढंगले पूरा गर्न नसक्दा समयमा अधिवेशन गर्न अवरोध हुँदै आएको छ। यसैगरी पार्टी नेतृत्वले असहयोग गर्दा र अध्यक्षलाई कार्यकाल लम्ब्याइरहने लोभले समयमा अधिवेशन हुन नसकेका उदाहरण छन्। उनले हिमालप्रेससँग भने, ‘अहिलेको कारण त के हो भन्न सकिन्न। यसअघिको अभ्यास हेर्ने हो भने अध्यक्ष इमानदार नहुँदा, पार्टीले सहयोग नगर्दा र अध्यक्षलाई कार्यकाल लम्ब्याइरहने लोभले गर्दा नेविसंघको अधिवेशन तोकिएको समयमा भएको पाइँदैन।’

नेविसंघका पूर्वप्रवक्ता यूपी लामिछाने अहिलेसम्म नेविसंघले एउटा जिल्लाको पनि अधिवेशन नगरेकाले अहिलेको नेतृत्वले तोकिएको समयभित्र महाधिवेशन गराउने सम्भावना देख्दैनन्। उनले तदर्थ समितिलाई पार्टीले अधिवेशन गर्ने गरी जिम्मेवारी नदिएको दाबी गरे।

उनले भने, ‘म्याद गुजारा गर्ने जस्तो मात्र देखिन्छ। तदर्थ समिति महाधिवेशन गर्ने गरी गठन भएकै होइन। पार्टीले समेत महाधिवेशन गर्ने गरी अधिकार दिएको हुँदैन।’ मनोनीत अध्यक्ष अधिवेशनको झन्झटमा फस्न नचाहेको पनि उनले बताए। उनले भने, ‘तदर्थ समिति किन बनाएको भन्ने निश्चित छैन। अहिलेको नेतृत्वले एकपटक राम्ररी केन्द्रीय समिति बैठक राखेको छैन। एक केन्द्रीय सदस्यले अर्का केन्द्रीय सदस्यलाई नचिन्ने अवस्था छ। अनि कसरी हुन्छ?’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast