
काठमाडौँ- ४ देशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप प्रतियोगिता दशरथ रंगशालामा सोमबार (आज)देखि सुरु हुँदैछ। प्रतियोगितामा नेपालसहित म्यानमार, लेवनान र कीर्गिस्तान सामेल हुनेछन्। आज दिउँसो उद्घाटन खेलमा म्यानमार र लेवनानबीच भिड्दैछन्।
साँझ ६ बजे नेपाल र कीर्गिस्तानबीच खेल हुनेछ। प्रतियोगिताका लागि रेखा पौडेल, कप्तान अन्जिला तुम्बापो सुब्बा केही दिनअघि नै नेपाल फर्किएका थिए। उनीहरू युरोपका विभिन्न लिग खेलिरहेका थिए। नेपाल टिमका स्टार फरवार्ड साबित्रा भण्डारी सोमबार बिहान फ्रान्सबाट नेपाल आउँदैछिन्।
उनले पहिलो खेल खेल्ने सम्भावना कम छ। फ्रान्सको अभान्ट ग्वेन्ग्याम्पबाट लिग खेलिरहेकी उनी शनिबार साबिक विजेता लियोनविरुद्ध मैदान उत्रिएकी थिइन्।
उक्त खेलमा ग्वेन्ग्याम्प ७-० ले पराजित भएसँगै क्लबले उनलाई रिलिज गरेको हो। उनी आइतबार नै नेपाल प्रस्थान गरिसकेकी छन्। तर, लामो यात्रा र छोटो विश्रामका कारण उनलाई पहिलो खेल आराम दिने सम्भावना प्रबल रहेको देखिन्छ।
फिफा वरीयतामा कीर्गिस्तान नेपालभन्दा तल छ। नेपाल १०३ औं स्थानमा रहँदा किर्गिस्तान १२८ औं स्थानमा छ। नेपाल जितबाट खाता खोल्ने योजनामा छ। कीर्गिस्तानसँग नेपाल एकपटक मात्रै खेलेको छ। ६ वर्षअघि भएको भएको खेलमा नेपाल ८(२ गोलले विजयी भएको थियो।
प्रतियोगिताका खेलहरू राउन्ड रोबिन आधारमा खेलाइनेछ। शीर्ष दुई टोलीबीच फाइनल खेल हुनेछ। प्रतियोगिताको टिकट दर साधारण पारापिटतर्फ ५०० र भिआइपीतर्फ एक हजार तोकिएको छ। टिकट खल्ती एपबाट किन्न सकिनेछ।
प्रतियोगिताको लिग चरण र फाइनल गरी नौ दिनमा चार दिन म्याच डे हुनेछन्। नेपालले फागुन ५ मा किर्गिस्तान, फागुन ८ मा लेवनान र फागुन ११ मा म्यानमारसँग खेल्नेछ। यस प्रतियोगितालाई एएफसी महिला एसियन कप २०२६ को छनोटको तयारीका रूपमा लिइएको छ।