![ब्ल्याक बुल्स आहाराराको सेमिफाइनलमा](https://himalpress.com/wp-content/uploads/2025/02/aha_rara_pokhara.jpg)
पोखरा- पोखरामा जारी २४ औँ आहारारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा मंगलबार दुई विदेशी टिमको प्रतिस्पर्धा रोचक देखिएको छ। मैदानमा थिए, भारतको थन्डरबोल्ट्स नर्थ युनाइटेड क्लब र उज्जेकिस्तानको ब्ल्याक बुल्स एफसी।
पहिलोपल्ट आहारारा खेल्न आएका यी टिममा उज्जेकिस्तानको टिमले ३-० गोलअन्तरले जित हात पार्दै सेमिफाइनल यात्रा सुनिश्चित पारेको छ। प्रतियोगिताको जारी संस्करणमा सेमिफाइनल समीकरण पूरा भएको छ। अब पहिलो सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेड क्लब र विभागीय नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ।
दोस्रो सेमिफाइनलमा ब्ल्याक बुल्सले साविक उपविजेता थ्रीस्टारको सामना गर्ने आयोजक सहारा क्लब पोखराले जनाएको छ। आहारारामा पाँचपल्टको विजेता थ्रीस्टारले दोस्रो क्वाटरफाइनलमा मछिन्द्र फुटबल क्लबललाई टाइब्रेकरमा ४-२ गोलअन्तरले पराजित गर्दै अन्तिम चारमा पुगेको हो। गत संस्करणमा थ्रीस्टार विभागीय त्रिभुवन आर्मी क्लबसँग फाइनलमा चुकेको थियो।
मंगलबारको खेलमा उज्जेकितानी टिमले पहिलो हाफमा १-० को अग्रता लिएकोमा दोस्रो हाफमा भारतीय टिममाथि हाबी हुँदै थप २ गोल जोडेको हो। खेलको ३८ औँ मिनेटमा इस्लोमजोन अब्दुकोडिरोभले साभकात्जोनको पासमा सुन्दर प्रहार गर्दै टिमका लागि पहिलो गोल गरेका थिए।
वैकल्पिक खेलाडीका रूपमा छिरेका सायिदजामोल दब्लाजोनोभले ७३ औँ मिनेटमा गोल गर्दा त्यसको २ मिनेट नबित्दै अर्को गोल थपिन पुगेको थियो। ७५ औँ मिनेटमा सभकटजोन सट्टोरोभले डीबक्स बाहिरबाट गरेको प्रहार गोलमा परिणत भएको थियो। जसले जित सुनिश्चित गरिसकेको थियो।
प्रतियोगितामा प्लेयर अफ दि म्याच ब्ल्याक बुल्सका अलिजोन अलिजानोभ घोषित भए। १२ टिमले भाग लिएको प्रतियोगिताको फाइनल फागुन ३ गते हुनेछ।