रुसी सेनामा मृत्यु भएको दुई परिवारले पाए क्षतिपूर्ति, भर्ती नेपालीको संख्या खुलाउन चाहँदैन रुस

रमेश भारती ११ माघ २०८१ १५:२२
338
SHARES
रुसी सेनामा मृत्यु भएको दुई परिवारले पाए क्षतिपूर्ति, भर्ती नेपालीको संख्या खुलाउन चाहँदैन रुस फाइल तस्बिर

काठमाडौँ– रुसी सेनामा भर्ती भई युक्रेनसँग भएको युद्धमा मारिएका नेपालीहरुले क्षतिपूर्ति पाउन थालेका छन्। रुस–युक्रेन युद्धमा मृत्यु भएका ५६ जना नेपालीमध्ये दुई जनाका परिवारले पहिलो किस्तामा क्षतिपूर्ति पाएको मस्कोस्थित नेपाली दूतावासले जनाएको छ।

मृतकका दुई परिवार आफैँ मस्को पुगेर रुसको रक्षा मन्त्रालयसँग आग्रह गरेपछि क्षतिपूर्ति दिएको रुसबाटै रुकुमका मनबहादुर बुढाले जानकारी दिए।

बुढा अहिले रुसमै बसेर त्यहाँको सेनामा भर्ती भई घाइते भएका र मृतक परिवारको पक्षबाट रुसको रक्षा मन्त्रालयसँग सहजीकरणको काम गर्दै आएका छन्।

युक्रेनी सेनासँग भएको लडाइँमा परी मृत्यु भएका स्याङ्जाका गणेश श्रेष्ठ र कञ्चनपुरका विराजन विष्टका परिवारलाई रुसको रक्षा मन्त्रालयले क्षतिपूर्ति उपलब्ध गराएको दूतावासले जनाएको छ। तर उनीहरुले कति क्षतिपूर्ति पाए यसबारे दूतावासले खुलाएको छैन।

क्षतिपूर्ति पाउने मृतकका परिवारले पनि यस विषयमा खुलाउन नचाहेको र नेपाली २५ लाखका दरले क्षतिपूर्ति पाएको हुनसक्ने बुढाले हिमालप्रेससँग बताए।

‘परिवारले पहिलो किस्ताको रकम मस्कोमा बुझेका छन्। पाँच किस्तामा रुसी रक्षा मन्त्रालयले मृतक नेपालीका परिवारलाई क्षतिपूर्ति दिइने बताउँदै आएका छन्। तर कहिलेसम्म दिने भन्ने खुलाइएको छैन,’ उनले भने।

मस्कोस्थित दूतावासले रुस सरकारसँग आवश्यक समन्वय गरेपछि पहिलो किस्तामा दुई जना नेपालले क्षतिपूर्ति पाएको परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले जानकारी दिए।

उनका अनुुसार रुस–युक्रेन युद्धमा मारिएकामध्ये दुई नेपालीका परिवारले क्षतिपूर्तिवापतको पहिलो किस्ता पाएका छन्। पाँच किस्तामा रुसको रक्षा मन्त्रालयले मृतक सेनाका परिवारलाई क्षतिपूर्ति दिने आश्वासन दिएको उनले बताए।

‘अहिले क्षतिपूर्ति कति रकम पाएभन्दा पनि क्षतिपूर्ति पाउन थालेका छन्। कतिपय विषय कुटनीतिक तहमा गोप्य राख्नुपर्छ। रुसी सेनामा कार्यरत रहेका नेपालीहरूको मुद्दा सरकारले प्राथमिकतामा राखेर छलफल चलाइरहेको छ,’ उनले भने।

रुसी सेनामा भर्ती भएका नेपालीहरूको संख्या उपलब्ध गराइदिन परराष्ट्र मन्त्रालयले १८ महिनामा पाँच पटकभन्दा बढी मस्कोस्थित नेपाली दूतावासमार्फत रुसको रक्षा मन्त्रालयलाई पत्रचार गरेको छ। तर, रुसी रक्षा मन्त्रालयले हालसम्म त्यहाँ सेनामा भर्ती भएका नेपालीहरूको यकिन संख्याबारे जनाकारी गराएको छैन।

परराष्ट्र स्रोतका अनुसार रुसी रक्षा मन्त्रालयले भर्तीको मात्र नभइ मृत्यु र घाइते नेपाली संख्याको विवरण माग्दा पनि बेवास्ता गर्दै आएको छ। परराष्ट्र मन्त्रालयले रुसको रक्षा मन्त्रालयसँग छलफलका लागि प्रयास गरे पनि रुसी पक्षले समय नदिएको परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिए।

आफ्नो कार्याकाल सकेर स्वदेश फर्किएपछि रुसका लागि तत्कालीन नेपाली राजदूत मिलनराज तुलाधर २३ भन्दा बढी स्थानमा लडाइँ भइरहेको बताए। सेनामा भर्ती भएका नेपाली कति छन् भनेर सोध्दा रुसको रक्षा मन्त्रालयले जवाफ नदिएको उनले सार्वजनिक कार्यक्रममै बताएका थिए।

उनले मृतक र घाइते नेपालीको संख्या माग्दा पनि उपलब्ध गराउन रुसले अस्वीकार गरेको बताएका थिए।

‘रुसी रक्षा मन्त्रालयले कुन देशका नागरिक कति मरे भनेर गोप्य राख्यो। युद्धको देशमा यस्ता विषय खुल्दो रहेनछन्। त्यही भएर रुसी सेनामा कति नेपाली छन् भन्ने विवरण नपाइएको हो,’ उनले भने।

उनका अनुुसार सन् २०२३ देखि रुस–युक्रेन युद्ध सुरु भएयता नेपालीहरु कतार र युएई हुँदै रुसी सेनामा भर्ती भएका छन्। योभन्दा अरु विषय रुसले खुलाउन नचाहेको उनको भनाइ छ।

रुसी सेनामा भर्ती भएका सात सयभन्दा बढीको नेपालीको मृत्यु भएको रुसी सेनाकै अधिकारीहरुले बताउँदै आएका छन् भने दुई हजारभन्दा बढी घाइते भएको सूचना पाएको रुसबाट मन बहादुरबुढाले जानकारी दिए।

उनका अनुसार मस्को आसपासका ५० वटाभन्दा बढी अस्पतालमा तीन सयभन्दा बढी रुसी सेनाका तर्फबाट युद्ध लडेका नेपाली घाइते भई उपचाररत छन्। युक्रेनसँग भएको युद्धमा एकै पटक ६० जनासम्म नेपालीको मृत्यु भएको घाइतेहरु बताउँछन्।

रुसी सेनामा भर्ती भएको नेपाली मस्कोस्थित नेपाली दूतावासको सम्पर्कमा पुग्दैनन्। दूतावासले भागेका र घाइते भएका नेपालीलाई सुरक्षा दिन नसकेको उनी बताउँछन्।

रुसी सेनामा भर्ती भएर ज्यान गुमाएका सैनिकका परिवारलाई प्रतिव्यक्ति ३३ लाखका दरले करिब साढे १८ करोड क्षतिपूर्ति दिन परराष्ट्रय मन्त्रालयले माग गरेको थियो। रुसी सेनामा भर्ती भएका ५६ जना नेपालीको मृत्यु भएको त्यहाँको रक्षा मन्त्रालयले पुष्टि गरिसकेको छ।

कन्सुलर सेवा विभागमार्फत डीएनए परीक्षणसहित ४९ जना मृतकको विवरण पठाए पनि अहिलेसम्म रुसको रक्षा मन्त्रालयले केही प्रतिक्रिया दिएको छैन।

रुसी सेनामा भर्ती भएका ५ सय ४३ निवेदनमध्ये परिवारसँग सम्पर्कमा नभएका १ सय ८५ जनालाई खोजी गरी फिर्ता ल्याइदिन माग गर्दै उनीहरुका परिवारले निवदेन दिएको विभागले जनाएको छ।

तर परराष्ट्र मन्त्रालयले भने रुसी सेनामा भर्ती भई घाइते तथा अन्य कारणले उद्धार गर्नुपर्नेहरूको संख्या १ सय ७१ जना मात्र भएको दाबी गर्दै आएको छ।

सेनाबाट करिब २ सय ५० जना स्वदेश फर्किएका छन्। उनीहरुका अनुसार रुसी सेनामा ७ देखि ९ हजार नेपाली भर्ती भएका छन्।

प्रकाशित: ११ माघ २०८१ १५:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast