नारीवादसम्बन्धी कला प्रदर्शनी माघ १२ गतेदेखि

हिमाल प्रेस १० माघ २०८१ १९:१९ | Thursday, January 23, 2025
नारीवादसम्बन्धी कला प्रदर्शनी माघ १२ गतेदेखि

काठमाडौँ- दक्षिण एसियाली महिला कलाकारको नारीवादसम्बन्धी बृहत् कला प्रदर्शनी आयोजना हुने भएको छ। यही माघ १२ गतेदेखि काठमाडौँमा सुरु हुने प्रदर्शनीमा दक्षिण एसियाका १० जना महिला कलाकारले आफ्ना सृजना प्रदर्शन गर्नेछन्।

आज (बिहीबार) यहाँ आयोजित पत्रकार सम्मेलनमा ‘फेमिनिस्ट फ्युचरः आर्ट, एक्टिभिजम एण्ड साउथ एसियन वुमनहुड’ शीर्षकको प्रदर्शनीले दक्षिण एसियामा नारीवाद, कला र सक्रियताका जटिल पक्ष उजागर गर्ने जानकारी दिइयो।

डा. अर्शिया लोखन्डवालाको परिकल्पनामा आयोजना हुन लागेको प्रदर्शनीले पितृसत्तात्मक संरचना, परम्परागत सोच र लैंगिक राजनीतिजस्ता विषय सम्बोधन गर्ने जनाइएको छ। तारागाउँ नेक्स्टको आयोजना र सराफ फाउन्डेसनको सहकार्यमा काठमाडौँको बौद्धस्थित तारागाउँ सांस्कृतिक केन्द्रमा हुने प्रदर्शनी सर्वसाधारणले तीन महिनासम्म अवलोकन गर्न सक्नेछन्।

प्रदर्शनीमा भारतका चार, नेपालका तीन र श्रीलंका, पाकिस्तान र बंगलादेशका एक/एक महिला कलाकारका सृजना रहनेछन्। आयोजकका अनुसार भारतीय कलाकारहरू अनिता दुबे, मिथु सेन, शेबा छाच्छी र पुष्पमाला, नेपाली कलाकार अश्मिना रञ्जित, विधाता केसी र उमा विष्टसँगै श्रीलंकाकी अनोली पेरेरा, पाकिस्तानकी नाइजा खान र बंगलादेशकी तायबा बेगम लिपिका सृजना प्रदर्शनीमा रहनेछन्।

सबै कलाकारले कलामार्फत पारम्परिक लैंगिक भूमिकालाई चुनौती दिँदै महिलाको स्वायत्तता र सामाजिक संरचनाहरूको प्रभाव उजागर गर्ने प्रयास गर्नेछन्।

नेपालको महिला अधिकारसँग सम्बन्धित मुद्दालाई दक्षिण एसियाली देशका महिला अधिकारका विषयसँग सम्बन्धित संघर्षसँग जोड्ने प्रयासस्वरूप प्रदर्शनी आयोजना गरिएको सराफ फाउन्डेसन तथा तारागाउँ नेक्स्टकी संस्थापक निर्देशक नमिता साराफको भनाइ छ।

प्रदर्शनीमा विभिन्न समकालीन मुद्दाहरूलाई अन्वेषण गर्ने सृजनासमेत समावेश छन्। पुष्पमाला एनको ‘अभेगा– द प्यासन (२०१२)’ ले रामायणका महिलाका पात्रहरूको पारम्परिक चित्रणलाई चुनौती दिँदै उनीहरूको सशक्त पक्षबारे उजागर गर्नेछ।

प्रकाशित: १० माघ २०८१ १९:१९ | Thursday, January 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast