अदुवाबाट उत्पादन र आम्दानी बढ्दा खेती गर्ने किसान घटे

हिमाल प्रेस ८ माघ २०८१ ६:३२ | Tuesday, January 21, 2025
अदुवाबाट उत्पादन र आम्दानी बढ्दा खेती गर्ने किसान घटे

काठमाडौँ- रूकुम-पश्चिमको त्रिवेणी गाउँपालिकामा यस वर्ष अदुवा उत्पादन वृद्धि भएसँगै मूल्य पनि बढेको छ। गत वर्षभन्दा यस वर्ष अदुवाखेती गर्ने किसानको संख्या घटे पनि उत्पादन वृद्धि भएको हो।

यस वर्ष यहाँबाट करिब छ करोड रुपैयाँको अदुवा बिक्री भएको त्रिवेणी गाउँपालिकाका कृषि शाखा प्रमुख रमेश पुनले जानकारी दिए। उनका अनुसार अदुवा बिक्रीबाट किसानले पाँच करोड ९२ लाख रुपैयाँ आम्दानी गरेका छन्। दस वटा वडा रहेको त्रिवेणीमा एक हजार नौ सय ५० परिवारले अदुवाखेती गर्दै आएका छन्।

प्रत्येक किसानले दुई रोपनीभन्दा बढी जग्गामा अदुवाखेती गर्दै आएका पुनले बताए। पालिकाभर हाल एक सय ९५ हेक्टर जग्गामा अदुवा उत्पादन भइरहेको उनले जानकारी दिए।

कृषि शाखा प्रमुख पुनका अनुसार एक रोपनी क्षेत्रफलमा चार क्विन्टलभन्दा बढी अदुवा उत्पादन हुने गरेको छ। पालिकाभर यस वर्ष १५ हजार छ सय क्विन्टल अर्थात् १५ दशमलव छ मेट्रिकटन अदुवा उत्पादन भएको छ। किसानले प्रतिक्विन्टल  तीन हजार आठ सयभन्दा बढी मूल्यमा अदुवा बिक्री गरेका उनले उल्लेख गरे।

गत आर्थिक वर्षमा पालिकामा दुुई हजार छ सय परिवारले अदुवाखेती गर्दै आएकामा यस वर्ष उक्त संख्या छ सय ५० ले घटेरको प्रमुख पुनले बताए। व्यापारी गाउँमा पुगेर अदुवा खरिद गर्ने गरेकाले बजारको समस्या नरहेको गाउँपालिकाको कृषि शाखाले जनाएको छ।

व्यावसायिक रूपमा अदुवाखेती गर्दै आएका त्रिवेणी–४ खुम्चेरीका नरबहादुर खड्काले यस वर्ष अदुवा बिक्रीबाट एक लाख रुपैयाँ आम्दानी गरेको बताए। बीस वर्षदेखि अदुवाखेतीमा लाग्नुभएका उनले निरन्तर खेती गर्दा मौसममा दुई लाख रुपैयाँसम्म आम्दानी हुने जानकारी दिए

त्रिवेणी–६ बाँठाकोटका कृषक कमलप्रसाद घर्तीले यस वर्ष अदुवा उत्पादन र मूल्य दुवै राम्रो पाएको बताए। अदुवा गाउँबाटै प्रतिक्विन्टल पाँच हजार रुपैयाँ र बीउका लागि प्रयोग हुने अदुवा प्रतिक्विन्टल रू १२ हजारसम्ममा बिक्री हुने गरेको जानकारी दिए।

‘पहिले एक क्विन्टल अदुवाबाट पाँच क्विन्टलसम्म उत्पादन हुन्थ्यो, अहिले उत्पदान घटेर तीन क्विन्टलसम्म हुन्छ। मौसममा आएको परिवर्तन, मल अभावलगायत कारणले उत्पादन घटेको हुनसक्छ,’ उनले भने। घर्तीले अदुवाका साथै सुन्तला र किभीको पनि खेती गर्दै आएका छन्।

प्रकाशित: ८ माघ २०८१ ६:३२ | Tuesday, January 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast