अझै द्वन्द्वकालको धङधङी : पूर्वमा बम आतंक, के गर्दैछ प्रहरी?

विवेक विवश रेग्मी १ माघ २०८१ १९:५१
112
SHARES
अझै द्वन्द्वकालको धङधङी : पूर्वमा बम आतंक, के गर्दैछ प्रहरी?

इटहरी- घटना १: १४ चैत २०७८ को राति करिब ११ बजेतिर इटहरी-२, नवजागृति टोलमा बम विष्फोट भयो। विष्फोटबाट कोठाभाडामा बस्दै आएका २२ वर्षीय रविन थापा र लमजुङ-५, ढोडेनीका २३ वर्षीय शेरजंग गुरुङ घाइते भए।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट सुतली बम रहेको पुष्टि भयो। घटनास्थलबाट बम विष्फोटमा हिमाल सुरक्षा परिषद् नेपालको पर्चा बरामद भयो। उक्त पर्चामा संघीयता खारेज, ५ विकास क्षेत्र कायम गरिनुपर्ने, हिन्दु राष्ट्रिय कायम गर्नुपर्ने, नागरिकता छानबिन गर्नुपर्ने, भारत-चीन सीमा विवाद समाधान गरिनुपर्ने, स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुपर्ने, एमसीसी सम्झौता खारेज गरिनुपर्ने लगायतका मागहरू राखिएको थियो।

घटनाको अनुसन्धानपछि प्रहरीले पाँच जनालाई पक्राउ गरेको थियो। थापा र गुरुङसँगै खगेन्द्र खरेल, उत्तम रिजाल र लक्ष्मीदेवी थापा ठकुरी थिए। पक्राउ परेकामध्ये खगेन्द्र मुख्य नाइके रहेको खुलेको थियो। प्रहरीका अनुसार हिमाल सुरक्षा परिषद्को नाममा बम विस्फोट र संगठित अपराध गरेको आरोपमा मुख्य अभियुक्त खरेलसहित लक्ष्मीदेवी र शेरजंगलाई जिल्ला अदालत सुनसरीले पुर्पक्षको लागि कारागार चलान गरेको थियो।

बम विस्फोट र संगठित अपराध गरेको कसुरमा प्रमुख अभियुक्त रहेका खगेन्द्र खरेल दोषी ठहर भएपछि २०७९ जेठ २० देखि २०८१ असोज १४ गते सम्म खरेलले जेल जीवन बिताए। उनी जेल जीवन बिताएर छुटिसकेका छन्।

घटना २ः १३ भदौ २०८० मा पाँचथरको फालेलुङ गाउँपालिका-५, डाँडागाउँमा ‘होम मेड ग्रिनेड’ विस्फोट हुँदा घाइते भएका नाबालक दाजु-बहिनीको मृत्यु भयो। मृत्यु हुनेमा ११ वर्षीय दिप्सन साँवार अढाई वर्षीया छोरी प्रिन्सा साँवा रहेकी छन्।

माओवादी कार्यकर्ता आइतराज केरुङको घरमा भेटिएको बम खेलाउने क्रममा विष्फोट हुँदा सख्त घाइते भएका दिप्सनको सोही दिनको राति नै झापाको बिर्तामोडस्थित बी एण्ड सी अस्पताल बिर्तामोड र प्रिन्साको इलाम अस्पतालमा निधन भएको थियो।

घटनामा ७ वर्षीय दिप्सन राई र ११ वर्षीय पवन राई घाइते भएका थिए। उक्त घर आइतराजको भए पनि उनी भने ०६८ सालदेखि पाँचथर सदरमुकाम फिदिममा बस्दै आएको छ। उनको घरमा ज्ञानबहादुर राईको परिवार बसोबास गर्दै आएको छ।

प्रहरीको अनुसन्धानअनुसार घटनास्थलको प्रकृति हेर्दा विष्फोटक पदार्थ माओवादी सशस्त्र द्वन्द्वका समयमा लुकाएर राखेको खुलेको थियो। गृहमन्त्री रमेश लेखकले पनि विष्फोट भएको बम द्वन्द्वकालकै भएको पुष्टि गरेका थिए। द्वन्द्वकालमा सो घर माओवादीको सेल्टरकै रूपमा प्रयोग भएको थियो। उक्त विक्षिप्त घटनाले अहिले पनि फालेलुङवासी बेलाबेला झस्किरहन्छन्।

घटना ३ः १६ पुस २०८१ मा इटहरी उपमहानगरअघि, बूढीखोला र धरानको भोटेपुल नजिकै बम राखेको भन्दै प्रहरीमा म्यासेज आयो। अब आन्दोलन सुरु भयो भन्ने प्रकृतिको म्यासेज बिहान ४ः३६ बजे इलाका प्रहरी कार्यालय इटहरी इलाका प्रहरी कार्यालय पकलीमा आएको थियो।

त्यससँगै प्रहरीले विशेष सावधानी अपनायो। नेपाली सेनाले डिस्पोज गर्ने क्रममा प्रेसर कुकर फेला पार्‍यो। प्रहरीलाई म्यासेजमा तीन ठाउँ बम राखिएको भनेर सूचना आए पनि उपमहानगर गेटअघि मात्रै प्रेसर कुकर फेला परेको र अन्यतिर भने आतंक मच्चाउनका लागि मात्रै प्रहरीलाई गलत सूचना दिइएको थियो।

डिस्पोजका क्रममा उक्त कुकरभित्र राष्ट्रिय सुरक्षा दल लेखिएको पर्चा भेटिएको थियो। पर्चामा हिन्दु राष्ट्र स्थापना, संघीयता खारेजी गर्नुपर्ने, स्थानीय तहलाई बलियो बनाउनुपर्ने, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था हुनुपर्ने लगायतका माग राखिएको छ। उक्त घटनाको प्रकृति हेर्दा २०७८ चैतमा इटहरीको घटनासँग मिल्दोजुल्दो छ। अहिले प्रहरीले घटनामा संलग्नको खोजी जारी राखेको छ।

घटना ४ः २५ पुस २०८१ मा मोरङको सुन्दरहरैँचामानगरपालिका-७ मालती पुलनजिकै द्वन्द्वकालीन सिलिन्डर बम फेला पर्‍यो। अहिले सो खण्डमा एसियन हाइवे निर्माणाधीन छ। निर्माणाधीन हाइवे अन्तर्गत सडक उत्खनन कामसमेत भइरहेको छ। यसैबीच सडक उत्खनन गर्दा पड्किन सक्ने जोखिम रहेको भन्दै माओवादीकै कार्यकर्ताले स्थानीय प्रशासनलाई सूचना दिएका थिए। सूचना प्राप्त भएपछि पूर्वपश्चिम राजमार्गको गोठगाउँदेखि बेलगाछीसम्मको करिब २ किलोमिटर सडकमासंयुक्त सुरक्षा फौजले ‘सर्च’ गरेको थियो।

सेनाको डिस्पोजल टोलीले दुई वटा सिलिन्डर बम डिस्पोज गर्‍यो। सुरुङ खनेर राखिएको चार वटा सिलिन्डर बम फेला परेको थियो। प्रहरीका अनुसार चार वटामध्ये दुई वटा सिलिन्डर बम र दुई वटा ग्यास भरिएको सिलिन्डर रहेको पत्ता लागेको छ। विस्फोटक पदार्थ भरिएको दुई वटा सिलिन्डर बम डिस्पोज गरिएको र ग्यास भरिएका दुई वटा सिलिन्डरलाई थप बुझ्नका लागि भन्दै सेनाले लगेको थियो।

माथि उल्लेखित चार वटा प्रतिनिधिमूलक घटना हुन्। विभिन्न नाममा चन्दा माग्ने, आतंक सिर्जना गर्ने र समाजलाई त्रसित पार्ने समूह बेलाबेला सक्रिय हुँदा प्रहरीलाई तनाव हुने गरेको छ। अहिले इटहरीमा भेटिएको शंकास्पद वस्तु राख्ने व्यक्तिको खोजीका लागि प्रहरीले अनुसन्धान गरिरहेको छ। खास गरी घटनामा एक व्यक्तिको मात्रै संलग्नता भएको अवस्थामा भने प्रहरीलाई पत्ता लगायत मुस्किल हुने प्रहरी स्रोत बताउँछ। यद्यपि प्रहरी घटनाको नजिक पुगिसकेको बताइन्छ।

इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) लक्ष्मी भण्डारीले अहिले अनुसन्धान भइरहेको जनाए। ‘हामी अनुसन्धान गरिरहेका छौँ। अनुसन्धानको चरण यति नै पुगिसकेको छ भन्ने नभएपनि चाँडै संलग्नलाई पक्राउ गर्छौँ,’ उनले भने, ‘पक्राउ गर्नेबित्तिकै सार्वजनिक गर्छौँ। अहिले अनुसन्धान जारी छ।’

बमजस्तो शंकास्पद वस्तु राखेर आतंकित पार्ने र चन्दा असुली गर्ने क्रम अझै पनि रहेको भन्दै प्रहरीले निगरानीसमेत बढाएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ। खास गरी प्रहरी स्रोतका अनुसार इटहरीको घटनामा संलग्नको पहिचान भने भइसकेको छ। पहिचान भए पनि पक्राउ नपरेका कारण प्रहरीले संलग्नलाई पक्राउ गर्न विशेष निगरानी बढाएको छ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भीमबहादुर दाहालका अनुसार इटहरीको घटनामा प्रहरीले सूक्ष्म अनुसन्धान गरिरहेको छ। ‘प्रदेश प्रहरी कार्यालयसमेतले अनुसन्धान गरिरहेको छ,’ दाहालले भने, ‘त्यसबारे हामीले अझै अनुसन्धान नै गरिरहेका छौँ।’ उनका अनुसार मोरङको सुन्दरहरैँचामा भेटिएको ग्यास सिलिन्डर भने द्वन्द्वकालकै बेलाको हो।

‘द्वन्द्वकालकै बेला राखेको भन्ने सूचना आएपछि हामीले सेनाको सहयोगमा डिस्पोज गरेका हौँ,’ एसएसपी दाहालले हिमाल प्रेससँग भने, ‘यो घटनाले द्वन्द्वकालमा राखेका केही अवशेषहरू अझै छन् भन्ने पुष्टि हुन्छ, जुन पाँचथरको घटनाले पनि देखाएको छ।’

उनका अनुसार सुन्दरहरैँचामा कुनै दुःखद् घटना नभए पनि पाँचथरमा भने द्वन्द्वकालकै बेलाको बमले गर्दा विक्षिप्त घटना भयो। जसले दुई बालकले कलिलैमा ज्यान गुमाए। यी घटनाले द्वन्द्वकालको धङधङी अझै रहेको पुष्टि हुन्छ? भन्ने जिज्ञासामा उनले भने, ‘द्वन्द्वकालका अवशेषहरू अझै रहेको र कहीँ कहीँ छन् भन्ने देखिन्छ। द्वन्द्वकालमा राखेर पनि नपड्किएका बम त्यतिकै रहे। यसबारे सूचना आए हामी सेनासँगको सहकार्यमा डिस्पोज गर्नेछौँ।’

द्वन्द्वकालको समयमा लापरबाहीपूर्वक राखिएका बम अझै कहीँ कतै राखिएको हुन सक्ने उनले जनाए। ‘हामीकहाँ सूचना आएसँगै सेनाको सहयोगमा डिस्पोज गर्छौँ,’ उनी भन्छन्, ‘थाहा पाएसम्म समयमै डिस्पोज गरिरहेको छ। यो विषयबारे थाहा हुनुपर्छ भन्ने हो।’

उनले द्वन्द्वकालबाहेक अरू शंकास्पद वस्तु राखेकोबारे भने विभिन्न कोणबाट अनुसन्धान गरिरहेको समेत जनाए। शंकास्पद वस्तु कसले र के कारणले राखेको हो भन्नेबारे सूक्ष्म किसिमबाट अनुसन्धान भइरहेको र दोषी उम्कन नदिन प्रहरीले निगरानी बढाएको उनको दाबी छ।

प्रकाशित: १ माघ २०८१ १९:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast