काठमाडौँ- परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले चीनसँग भएको बीआरआई सम्झौता अनुदानमा आधारित सहयोगको समझदारी भएको स्पष्ट पारेकी छन्। सोमवार अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा उनले सांसदहरुले राखेका जिज्ञासाहरुको जवाफ दिँदै उनले चीन सरकारसँग ऋण लिनेसम्बन्धी कुनै पनि समझदारीपत्रमा हस्ताक्षर नभएको बताइन्।
उनले नेपालको कुल गार्हस्थ्य उत्पादन निष्क्रियजस्तै भएको जानकारी गराएको उल्लेख गर्दै चीन सरकार एड र ग्राण्ट दिन तयार भएको बताइन्। उनले चीन सरकारबाट बीआरआई परियोजनाअन्तर्गत आउने सबै परियोजना एड फाइनान्सिङमै आउने बताइन्।
‘मैले चीनको परराष्ट्रमन्त्रीज्यूलाई स्पष्टसँग के राखेकी छु भने हाम्रो कुल गार्हस्थ्य उत्पादन (जीडीपी) डेथ सर्विसिङमा छ। हामी कुनै पनि प्रकारको ऋण लिने अवस्थामा छैनौँ‚’ उनले भनिन्, ‘त्यसकारण हामीले तपाईसँग एड र ग्रान्टमात्र अपेक्षा गरेका छौँ भनेर निर्लज्जताका साथ प्रस्तुति गरेकी छु‚ जे हो त्यो त भन्ने पर्यो नि! अहिले हामीले जति परियोजना यसमा हालेका छौँ त्यो सबै एड फाइनान्सिङमै आउँछ।’
बैठकमा सोमवार प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणलगायत विषयमा छलफल भएको हो। बैठकमा चीन भ्रमणका उपलब्धि सार्वजनिक गर्दै मन्त्री राणाले छलफलमा विभिन्न महत्वपूर्ण सम्झौता भएको उल्लेख गरिन्।
उनकाअनुसार प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा बेल्ट एण्ड रोड सहकार्य फ्रेमवर्क, टोखा–छहरे सुरुङमार्ग, नेपाल–चीन व्यापार अभिवृद्धिसम्बन्धी समझदारीपत्र, नौतले वसन्तपुर दरबार पुनर्निर्माण सम्पन्न प्रमाणपत्रको आदानप्रदान, आर्थिक तथा प्राविधिक सहयोगसम्बन्धी समझदारी, नगद सहयोगसम्बन्धी पत्र आदानप्रदान लगायतका विषयमा सम्झौता भएको छ।