काठमाडौँ- सहकारी ठगी मुद्दामा जिल्ला अदालत काठमाडौँमा उपस्थित भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान सकिएको छ। जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा १२:३० बजेबाट बयान सुरु भएको थियो। बयान २०:३० मा सकिएको हो। अदालतका अनुसार थुनछेक बहस केहीबेरमा सुरु हुनेछ।
स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम अपचलन गरेको भन्दै अभियोग पत्र दायर भएपछि उनी आइतबार आफैँ अदालतमा हाजिर भएका हुन्। गोरखा मिडिया नेटवर्कमा कानुन विपरीत स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ लगेको प्रहरीको अनुसन्धान निष्कर्ष छ। रविलाई सरकारी वकिलले सो ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ बिगो मागदाबी गरेको छ।
अभियोग पत्रमा उल्लेख भए अनुसार ७५ लाख १० हजार २ सय रुपैयाँ रेमिट मार्फत विदेश पठाएको फेला भेटिएको छ। २०२१ र २०२२ मा सो रकम गएको प्रहरीको अनुसन्धान निष्कर्ष छ। सो रकम रवि लामिछानेको नामबाट विदेशमा पठाएको भेटिएको छ। कास्की अदालतले धरौटीमा रिहा गरेपछि ८४ दिन कास्की प्रहरीको हिरासतबाट निस्केर शनिबार उनी काठमाडौँ आइपुगेका थिए।