वैदेशिक रोजगारीमा इजरायल युद्धको पिरलो

रमेश भारती १८ पुष २०८१ १३:०४
14
SHARES
वैदेशिक रोजगारीमा इजरायल युद्धको पिरलो

काठमाडौँ- गत वर्षदेखि इजरायल र प्यालेस्टाइनी सशस्त्र समूह हमासबीच युद्ध सुरु भएपछि मध्यपूर्वको श्रमबजारमा हलचल भयो। यद्यपि यसको प्रभाव कायमै छ। नेपाली कामदारको मुख्य रोजगार गन्तव्य मध्यपूर्वका देश हुन्। तीमध्ये इजराइल धेरैको रोजाइमा पर्छ। सन् २०२४ मा इजरायल रोजगारीमा जानेका लागि त्यति सुखद रहेन।

सन् २०२४ मा नेपाली पुगेका देशमध्ये मध्यपूर्वका इजरायल, प्यालेस्टाइन, इरान र लेबनानमा युद्ध भयो। युद्धकै क्रममा अघिल्लो वर्ष इजरायलमा हमास लडाकुको आक्रमणमा १० जना नेपालीको मृत्यु भएको थियो। त्यति बेला अपहरणमा परेका विपिन जोशीको अवस्था अझै ज्ञात छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव मुकुन्द निरौला इजरायल युद्धको प्रभाव नेपालको श्रमबजारमा देखिएको बताउँछन्।

वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार सन् २०२४ मा ९ लाख नेपाली वैदेशिक रोजगारीका लागि एक सय २४ देश पुगेका छन्। तीमध्ये ८० प्रतिशतभन्दा बढी नेपाली कामदार मध्यपूर्वका देशमा पुगेको विभागको तथ्यांक छ।

युद्धका कारण सन् २०२४ मा सरकारले नेपाली कामदारलाई इजरायल जान रोक लगायो। यद्यपति भारतको बाटो हुँदै करिब दुई हजार नेपाली रोजगारीका लागि इजरायल पुगेको निरौलाको दाबी छ।

‘नेपाली कामदारको मुख्य रोजगार गन्तव्य मध्यपूर्वका देश हुन्। इजरायल युद्धले यी देश जाने कामदारमा त्रास र भयभीत बनायो। यी देशमा कार्यरत कामदारलाई सरकारले सचेत रहन आग्रहसमेत गरेको थियो’, उनले भने। युद्धका कारण लेबनान, इरान, टर्की र इजरायलमा कार्यरत ५ हजारभन्दा बढी नेपाली कामदार स्वदेश फर्किएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको दाबी छ।

विभागको तथ्यांकअनुसार पश्चिम एसियामा पनि यूएईमा सबैभन्दा बढी नेपाली श्रमिक कार्यरत छन्। सन् २०२४ मा यूएईमा करिब दुई लाख नेपाली रोजगारीका लागि पुगेका छन्। साउदी, कतार, ओमान, कुवेत, टर्की, बहराइन, ओमान, जोर्डन, लेबनान र इजरायलमा यस वर्षमा ५ लाखभन्दा बढी नेपाली रोजगारीका लागि पुगेको विभागले जनाएको छ।

वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारी इजरायलले लेबनान र इरानमाथि आक्रमण गर्दा सबैभन्दा ठूलो असर नेपाली श्रम बजारमा परेको  बताउँछन्। ‘इजरायल र इरानबीच भएको द्वन्द्वको असर पश्चिम एसियाका अन्य देशमा देखियो। यस वर्ष इजरायल युद्धका कारण सन् २०२४ मा वैदेशिक रोजगारीमा जाने कामदारको संख्या घट्यो’, उनले भने।

श्रम गन्तव्य देशमा युद्धसँगै अन्य समयमा आउँदा अपजस जति म्यानपावर व्यवसायीमाथि आउँछ। तर इजरायल सरकारले पठाउने भएकाले व्यवसायीले आरोप खेप्नु नपरेको उनको भनाइ छ। युद्धरत देशमा कार्यरत देशका कार्यरत नेपालीको सुरक्षाका लागि सरकारले चासो नदिएको रोजगारविज्ञहरूको आरोप छ।

रोजगारविज्ञ डा. जीवन बानियाँले इजरायल युद्धका बारेमा नेपाल मौन बस्दा नेपालीको सुरक्षा ओझेलमा परेको बताए। ‘इजरायल मात्र होइन, जहाँजहाँ लडाइँ चलिरहेको थियो ती देशमा कार्यरत नेपालीको जिउज्यानको सुरक्षाका लागि सरकारले ध्यान दिएन’, उनले भने।

युद्ध चलिरहेका बेला सरकारले त्यहाँ आफ्ना नागरिक पठाउने निर्णय किन गरेको भनेर प्रश्न पनि उठेको थियो। युद्ध चलेको बेला, भोलि के हुन्छ भन्ने सुनिश्चितता नहुँदानहुँदै पनि सरकारले इजरायलमा कामदार पठाउन अपराध भएको उनको आरोप छ।

इजरायल जस्तो युद्धग्रस्त देशमा नेपाली कामदार जोखिम मोलेरै भारत हुँदै गएका छन्। यसमा सरकारी पक्षको कमजोरी भएको श्रम सचिव निरौला बताउँछन्। सरकारले रोके पनि युद्धगस्त देश इजरायलले दलालमार्फत कामदार गइरहेका छन्। यसलाई रोक्न प्रयास भए पनि भारतीय राहदानी प्रयोग गरेका कारण असफल भएको उनी स्वीकार्छन्।

सन् २०२४ मा वैदेशिक रोजगारी जाने कामदारको संख्या बढे पनि सुधार भने उल्लेख्य भएन। यस वर्ष जर्मनी र रोमनियासँग श्रम सम्झौता भए पनि सरकारले कामदार पठाउन सकेको छैन।

२०२४ मा साउदी र कतारसँग सरकारले श्रम सम्झौता गर्न सकेन। भने दुवै देशले श्रम सम्झौतामा चासो नदिएको श्रम मन्त्रालयले जनाएको छ।

यस वैदेशिक रोजगारीमा जाने कामदारका हकमा अनिवार्य सामाजिक सुरक्षा कोष लागू भयो। २०२४ मा साढे १४ खर्ब रेमिट्यान्स भिक्रियो भने, १ हजार ५ सयभन्दा बढी नेपालीले वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाए। सात सयभन्दा बिरामी र अंगभंग भएर रोजगारदाता देशबाट फर्किएको वैदेशिक रोजगार बोर्डको तथ्यांकमा छ।

प्रकाशित: १८ पुष २०८१ १३:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast