आर्मीका पालले जिते गैँडाकोट हाफ म्याराथनको उपाधि

हिमाल प्रेस १५ पुष २०८१ १६:०३ | Monday, December 30, 2024
आर्मीका पालले जिते गैँडाकोट हाफ म्याराथनको उपाधि फाइल तस्बिर

नवलपुर- नवलपुरमा भएको ‘गैँडाकोट हाफ म्याराथन–२०२४’ को उपाधि त्रिभुवन आर्मी क्लबका मुकेशबहादुर पालले जितेका छन्। सोमबार भएको प्रतियोगितामा सशस्त्र प्रहरी बलका गोपीचन्द्र पार्कीलाई पछि पार्दै आर्मीका पालले उपाधि जितेका हुन्। पालले निर्धारित २१ किलोमिटर दूरी १ घण्टा १६ मिनेट ८ सेकेन्डमा पूरा गरेका थिए। दोस्रो भएका एपीएफका पार्कीले निर्धारित दूरी एक घण्टा १७ मिनेट ४३ सेकेन्डमा पूरा हुन्।

यसैगरी, त्रिभुवन आर्मीकै धावक नरेन्द्र सिंह रावत तेस्रो भएका छन्। रावतले निर्धारित दूरी १ घण्टा १८ मिनेट ५१ सेकेन्डमा पार गरेका थिए। प्रतियोगितामा प्रथम भएका पालले एक लाख पुरस्कार प्राप्त गरे। यस्तै, दोस्रो भएका एपीएफका पार्कीले ५० हजार र तेस्रो भएका आर्मीका रावतले २५ हजार रुपैयाँ प्राप्त गरेको आयोजक विजय फाउन्डेसन नेपालका अध्यक्ष त्रिलोचन सापकोटाले जानकारी दिए। दोस्रो संस्करणको प्रतियोगितामा देशभरका एक सय ४१ धावकको सहभागिता थियो।

प्रतियोगितामा महिलातर्फको उपाधिसमेत त्रिभुवन आर्मी क्लबकी पूर्णलक्ष्मी न्यौपानेले जितिन्। उनले २१ किलोमिटरको दूरी एक घण्टा ४८ मिनेट ४६ सेकेन्डमा पूरा गरिन्। यस्तै, नवलपुरको गैँडाकोट–६ की अनु मगर २ घण्टा ४१ मिनेट पाँच सेकेन्डमा निर्धारित दूरी पार गर्दै दोस्रो हुँदा चितवनको कालिका–८ की सुनिना मगरले तीन घण्टा एक मिनेट ३७ सेकेन्डमा दूरी पार गरी तेस्रो भएकी छिन्।

पहिलो भएकी न्यौपानेले ५० हजार रुपैयाँ पुरस्कार पाउँदा दोस्रो भएकी अनु र तेस्रो भएकी सुनिनाले क्रमश: १५ हजार र ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन्। प्रतियोगितामा उपाधि जितेकाहरूलाई गैँडाकोट नगरपालिका प्रमुख मदनभक्त अधिकारी, धावक वैकुण्ठ मानन्धरसहितले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए।

प्रकाशित: १५ पुष २०८१ १६:०३ | Monday, December 30, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast