नयाँदिल्ली- भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको ९२ वर्षको उमेरमा बिहीबार राति निधन भएको छ।
सिंह घरमा अचानक बेहोस भएपछि उनलाई दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) लगिएको थियो।
उमेरसँग सम्बन्धित स्वास्थ्य समस्याका कारण उनको लामो समयदेखि उपचार भइरहेको थियो। बिहीबार घरमा अचानक बेहोस भएका उनलाई तुरुन्तै घरमा सामान्य उपचारपछि राति ८ बजे नयाँ दिल्लीस्थित एम्समा मेडिकल इमर्जेन्सीमा लगिएको थियो।
‘सबै प्रयासका बावजुद उहाँलाई बचाउन सकिएन र राति ९:५१ बजे उहाँलाई मृत घोषित गरियो,’ एम्सले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
सिंहले ३३ वर्ष सेवा गरेपछि यसै वर्षको सुरुमा अवकाश विश्राम लिएका थिए। सन् १९३२ मा पञ्जाबमा जन्मिएका मनोमोहन सिंह सन् २००४ देखि २०१४ सम्म दुई कार्यकाल भारतको प्रधानमन्त्री थिए।
सन् २००४ को लोकसभा चुनावमा अटल बिहारी बाजपेयी नेतृत्वको एनडीएविरुद्ध कंग्रेसले विजय हासिल गरेपछि उनले पहिलो पटक सन् २००४ मा प्रधानमन्त्री पदको शपथ लिएका थिए। रासस