मनाइयो १३९ औँ लेखनाथ जयन्ती

हिमाल प्रेस १५ पुष २०७९ १७:४९ | Friday, December 30, 2022
मनाइयो १३९ औँ लेखनाथ जयन्ती

काठमाडौँ- त्रिमूर्ति निकेतनका अध्यक्ष इन्दिरा प्रसाईले कविशिरोमणि लेखनाथ पौड्यालको १३९ औँ जयन्तीका उपलक्ष्यमा सञ्चारग्रामस्थित लेखनाथ पौड्यालको पूर्णकदको सालिकमा शुक्रबार माल्यार्पण गरेकी छन्। सोही अवसरमा उनले नाट्यसम्राट् बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटाका पूर्णकदको सालिकमा पनि माल्यार्पण गरिएको थियो।

त्रिमूर्ति निकेतनद्वारा आयोजित सो कार्यक्रममा निकेतनका अध्यक्ष इन्दिरा प्रसाई, लेखनाथ पौड्याल काव्यसभाका संयोजक प्रा. केशव सुवेदी तथा सदस्यसचिव नरेन्द्रराज प्रसाईले त्रिमूर्ति अर्थात् कविशिरोमणि, नाट्यसम्राट् र महाकविले देखाएको बाटोमा हिँड्नु नै त्रिमूर्तिप्रतिको सच्चा श्रद्धाञ्जली हो भने।

कार्यक्रममा गीता निरौला भण्डारी, यादव भट्टराई, ललिता दोषी, भगवती बस्नेतले कविता वाचन गरेका थिए।

लेखनाथ पौडयालको संक्षिप्त परिचय

लेखनाथ पौडयालको जन्म १९४१ साल पुस १५ गते कास्कीको अर्र्घौँअर्चलेमा भएको थियो। २००८ साल असार २९ गते पौड्याललाई राजा त्रिभुवनद्वारा कविशिरोमणिको पद्‌वी र मासिक दुई सय रुपैयाँ आजीवन भत्ता प्रदान गरिएको थियो।

लेखनाथ पौडयाल, बालकृष्ण सम र लक्ष्मीप्रसाद देवकोटा २००९ सालमा दार्जीलिङ जाँदा त्यहाँका त्रिरत्न सूधपा अर्थात् सूर्यविक्रम ज्ञावाली, धरणीधर शर्मा र पारसमणि प्रधानद्वारा पौड्याल, सम र देवकोटालाई त्रिमूर्तिको पद्वीले सम्मान गरिएको थियो।

२०११ सालमा पौडयालकै शुभजन्मोत्सवको उपलक्ष्यमा काठमाडौँमा पौड्यालको रथयात्रा गरिएको थियो। गोपाल पाण्डे असीमको अग्रसरतामा देवकोटा र सम समेत भएर पौडयाललाई रथारोहण गराइएको थियो।

पौडयालका डेढ दर्जन जति कृति प्रकाशनमा आए। ती कृतिहरू नेपाली आधुनिक भाषासाहित्यका अनुपम नमुना मानिन्छन्। साहित्यप्रतिको कदरस्वरूप पौड्याललाई मरणोपरान्त २०२६ सालमा त्रिभुवन प्रज्ञापुरस्कार प्रदान गरिएको थियो।

२०२२ सालको शिवरात्रि अर्थात् फागुन ७ गते कविशिरोमणि लेखनाथ पौड्यालको देहावसान भएको थियो।

प्रकाशित: १५ पुष २०७९ १७:४९ | Friday, December 30, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast