भीम रावललाई एमालेले पर्खाएको ३ वर्ष

किरण पौडेल ११ पुष २०८१ २०:५६
188
SHARES
भीम रावललाई एमालेले पर्खाएको ३ वर्ष

काठमाडौँ- नेकपा एमालेले बुधबार पूर्वउपाध्यक्ष भीम रावललाई पार्टीबाट निष्कासित गर्‍यो। एमालेले पार्टी हितविपरीत अभिव्यक्ति दिएको आरोप लगाउँदै रावलमाथि कारबाही गरेको हो। पछिल्लो समय रावलले एमालेको केन्द्रीय कार्यालय भाटभटेनीका मालिक मीनबहादुर गुरुङले बनाइदिने निर्णयको कडा आलोचना गरेका थिए। रावलले एमाले र अध्यक्ष ओली ‘बिचौलियाको पन्जामा पुगेको’ अभिव्यक्ति दिएका थिए। रावलको अभिव्यक्ति एमालेबाट मार्गप्रशस्त गर्ने एउटा कारण बन्यो।

रावल र एमालेको सम्बन्ध लगभग सकिएको छ। एमालेले कारबाही फुकुवा नगरेमा ‘रावलले ५० वर्ष काम गरेको’ वामपन्थी पार्टीसँग सम्बन्ध टुटाउनुपर्नेछ। रावलमाथि गरिएको कारबाही यति बेला राजनीतिक वृत्तमा चर्चाको विषय छ। अन्य पार्टीका नेताले समेत रावल र ओलीको सम्बन्धलाई लिएर विभिन्न अभिव्यक्ति दिइरहेका छन्। ओलीको स्वाभाव निरंकुश र अलोकतान्त्रिक रहेको भन्दै यस्तो कारबाहीलाई स्वाभाविक मान्ने पनि धेरै छन्। यस्तै कतिपयले रावलकै गल्ती रहेको पनि टिप्पणी गरेका छन्।

राजनीतिक क्षेत्रका जानकारहरू ओलीको कदम ‘पश्चगामी’ र ‘फरक मतमाथि असहिष्णु’ भएको दाबी गर्छन्। एमालेभित्र भने रावलमाथिको कारबाही स्वाभाविक भएको बताउनेको जमात ठूलो छ। विगतबाटै ओली–रावल सम्बन्ध तिक्त थियो। यद्यपि दुईपक्षीय सम्बन्ध सुधार्न प्रयत्न भए पनि सम्भव भएन। रावल एमालेका पूर्वउपाध्यक्ष, पूर्व नेता हुँदै अब पूर्वसदस्य भएका छन्। उनले आफूमाथि गरिएको कारबाहीको तिखो शब्दमा ‘निन्दा’ गरेका छन्। कारबाहीपछिका अभिव्यक्तिमा उनले ‘देशभक्त एमालेजनको बोली कुण्ठित गरिएको’ बताएका छन्।

एमाले नेताहरूका अनुसार रावललाई निष्कासित नै गर्नुपर्छ भन्ने धेरैलाई लागेको थिएन। किनभने जिम्मेवारी खोस्दै लगेपछि रावल आफैँ बाटो लाग्ने एमाले संस्थापनको बुझाइ थियो। रावल जति भूमिकाविहीन भए पनि एमालेमा रहिरहे।

एमालेबाट टुक्रिएर एकीकृत समाजवादी बन्दा रावल पनि विभाजनमा जाने अनुमान थियो। पार्टी फुट्नुअघि रावलले माधव नेपाल र झलनाथ खनालभन्दा पनि कडा आलोचना गरेका थिए। संस्थापनसँग सम्झौता (१० बुँदे) गर्दै रावल एमालेमै रहे। एमालेमा रहँदा रावल नेपाल र खनालसँग निकट थिए।

त्यसबेला रावल एमाले रहनुको एक कारण थियो, नेपालको लिगेसी राख्ने। नेपाल नभएपछि उनी ओली इतरपक्षको नेता बन्न चाहन्थे। तर त्यस्तो भएन। ओलीले रावलबाट सुदूरपश्चिम इन्चार्जसमेत खोसिदिए। ‘रावल एमाले फर्किएपछि इन्चार्ज विवादबाटै फेरि ओलीसँग सम्बन्ध चिसियो,’ एमालेका एक पोलिट्ब्युरो सदस्य भन्छन्।

ओलीले रावलको जिम्मेवारी खोसेर पूर्वमाओवादी नेता लेखराज भट्टराई दिए। ओलीले दसबुँदे भनिएका ‘दसभाइ’ नेता र एमालेभित्रका पूर्वमाओवादी नेताबीच खेल्न खोजेको बुझाइ ती नेताको छ। ‘दुई इतर (१० भाइ र पूर्वमाओवादी नेता-बीच खेल्ने र आफैँ सर्वश्रेष्ठ बन्ने ओलीको रणनीति थियो,’ ती नेता भन्छन्, ‘तर रावलले ओलीप्रति नै इंगित गरेर विरोध गर्न थाले। विवाद १० भाइ नेता र पूर्वमाओवादीप्रति होइन, रावल-ओलीबीच नै बढ्यो।’

महाधिवेशनले बढाएको तिक्तता

२०७८ मंसिरमा चितवनमा भएको एमालको महाधिवेशनमा ओली–रावलको एकै योजना थियो, अध्यक्षमा लड्ने। यहाँनेर दुवै नेताको स्वार्थ बाझियो। ओली सर्वसम्मत अध्यक्ष बन्न चाहे भने रावल उम्मेदवारी दिएरै छाड्ने। ‘ओलीले रावललाई उपाध्यक्षमा थमाउन चाहन्थे तर रावलले टेरेनन्’, एमाले उपमहासचिव प्रदीप ज्ञवाली भन्छन्,‘संकटका बेला सर्वसम्मत नेतृत्व चुनौँ भन्ने बुझाइ थियो। त्यस्तो हुन सकेन।’

अध्यक्षमा सर्वसम्मत भए अन्य पदाधिकारी निर्विरोध हुने बुझाइ ओलीको थियो। रावलकै कारण महासचिवबाहेक अन्य पदमा निर्वाचन भएको निष्कर्ष एमाले संस्थापनको थियो। रावल निकट नेताहरूका अनुसार उनी अध्यक्षमा लडेर वरिष्ठ नेता बन्न चाहन्थे। एमाले विधानअनुसार अध्यक्षमा हारेका नेता वरिष्ठ नेता बन्ने परिपाटी थियो। ओलीले रावललाई सोही जिम्मेवारी दिन चाहेनन्।

रावललाई केन्द्रीय सदस्यमा लैजाने ओलीको प्रस्ताव थियो। रावलले प्रस्ताव मानेनन्। ‘केन्द्रीय सदस्य नमानेपछि सल्लाहकार बनाउने कुरा भयो। तर उहाँ त्यहाँ पनि बस्नुभएन,’ ज्ञवाली थप्छन्, ‘उहाँ जिम्मेवारीमा नरहने काम भइरह्यो। अभिव्यक्तिचाहिँ पार्टीहितविपरीत रह्यो।’

रावलले महाधिवेशनमा समेत ओलीले एकाधिकार गरेको आरोप लगाए। यसपछि भने ओली-रावल सम्बन्ध झनै चिसियो। यत्तिकैमा प्रतिनिधिसभा निर्वाचन आयो। रावल अछाम १ बाट सर्वसम्मत सिफारिस भए। तर ओलीले रावललाई टिकट नदिई झपट बोहोरालाई थमाए। बोहोरा नेकपा विभाजनका बेला एमाले प्रवेश गरेका पूर्वमाओवादी नेता थिए। यसपछि भने रावलले सार्वजनिकरूपमै ओलीको आलोचना गर्न थाले। टिकट नदिएकोमा पत्रकार सम्मेलन गरेर रावलले ओलीको विगतको निन्दा गरे।

‘रावल सर्वसम्मत उम्मेदवारमा सिफारिस हुनुभएको थियो। ओलीले रोक्दा आलोचनामा परिणत भयो,’ एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य भन्छिन्। यसपछि ओली सुदूरपश्चिममा रावलको विकल्पका नेता खोज्न थाले। एमाले नेताहरूका अनुसार यसपछि भने रावलले एमाले छाड्ने अनुमान थियो। रावललाई प्रतिनिधिसभा निर्वाचनमा टिकट नदिएपछि विद्रोह गर्छन् भन्ने अनुमान पनि थियो तर त्यस्तो भएन। उनी साधारण सदस्य मात्रै रहेर भए पनि एमालेमै रहे।

२०७९ सालमै कारबाहीको तयारीमा थियो एमाले

२०७९ चैतमा एमाले उपाध्यक्ष विष्णु पौडेल एमालेको ‘मिसन ग्रासरुट’ अभियान लिएर सुदूरपश्चिम पुगेका थए। उनले कैलालीको कार्यक्रमलाई सम्बोधन गर्दै ‘रावलले पार्टी हितविपरीत काम गरेको’ आरोप लगाएका थिए। रावलपक्षीय नेताहरूले भने स्टेजमै तोडफोड गर्न थाले। कार्यक्रम स्थगित भयो। यसअघि रावलको गृहजिल्ला अछाममा पनि ओली पक्ष र रावलपक्षले छुट्टाछुट्टै ‘मिसनग्रास रुट’कार्यक्रम चलाएका थिए।

यसले पनि ओलीपक्षले रावलमाथि रिसिइबी साँधेको थियो। ‘त्यतिबेलै रावलमाथि कारबाही गर्ने तयारी थियो। जसका लागि कार्यदल समेत बनाइएको थियो,’ एमालेका एक पदाधिकारी भन्छन्। रावलसँग वार्ता गर्न विष्णु पौडेलकै नेतृत्वमा कार्यदल गठन गरिएको थियो।

पौडेलसँगै तिक्तता थियो तर पौडेलकै नेतृत्वमा कार्यदल गठन भयो। यसको कारण हो, रावललाई झनै टाढा बनाउनु। पौडेलसहित कर्ण थापा र लेखराज भट्ट सम्मिलित कार्यदलले रावलसँग छलफल गर्‍यो। यसपछि एक पटक ओली–रावलसँग संवादसमेत भएको थियो।

‘रावललाई कार्यदलसँग छलफलमा बोलाउने नभए कारबाही गर्ने एमालेको योजना थियो,’ एमालेका ती पदाधिकारी भन्छन्, ‘तर रावल संवादमा जुटे।’ एमालेका नेताहरू त्यसबेला रावललाई ओलीले आसमात्र देखाएको बताउँछन्। यसबारे फेरि रावलसँग संवाद भएन। पौडेल नेतृत्वको कार्यदलले काम गर्न नसकेको आरोप रावलपक्षीय नेताको छ।

एमालेको बुझाइ : रावल ‘खेद्ने उपयुक्त समय’

एमालेको बुझाइमा यसअघिको निर्वाचनमा समेत रावलका कारण सुदूरपश्चिममा एमालेलाई घाटा परिसकेको छ। रावल पक्षका अनुसार आठ सिट घाटा परेको निष्कर्ष छ भने एमाले संस्थापन पक्षको तीन सिट घटेको अनुमान छ।

यसबीचमा रावलले गृहक्षेत्रमै पनि कार्यकर्ता भड्काउने काम गरेको एमालेको बुझाइ छ। ‘उहाँ(रावल)बाट कार्यकर्ता बिथोल्ने काम निरन्तर भइरह्यो। एमालेमा समस्या भएका ठाउँमा रावल पुगेर उक्साउने काम समेत गरे,’ एमाले सचिव लेखराज भट्ट भन्छन्, ‘यही कारण सदस्यता खारेज गर्नुपर्‍यो।’ अब रावलबिना पनि सुदूरपश्चिममा एमाले चल्न सक्ने भट्ट बताउँछन्।

आमनिर्वाचन आउन झन्डै ३ वर्ष बाँकी छ। यसबेला निष्कासित गर्दा चुनावमा प्रभाव नपर्ने बुझाइ एमाले नेताहरूको छ। यति मात्र होइन, यतिबेला रावललाई कारबाही गर्दा ‘रावलका कारण नखुलेका नेता’ पनि एमालेमै रहने सम्भावना छ। ‘हामीलाई घाटा पर्दैन। जति पर्नुपर्ने थियो। परिसक्यो’, भट्ट भन्छन्।

एमालेको बुझाइमा अहिले रावल एमालेमा भूमिकाविहीन थिए। उनी सुदूरपश्चिम मात्र नभएर अछाममा मात्र केन्द्रित भएको एमालेको बुझाइ छ। ‘एमालेमा खासै क्षति पुग्दैन। यो नै उत्तम समय हो’, एमालेका एक नेता भन्छन्, ‘एमालेका अन्य असन्तुष्ट नेतासँग समन्वय गरेको भए झनै बढी विस्फोट हुने थियो।’

सुदूरपश्चिममा विगतमा ओलीसँग रहेका नेता पनि अहिले टाढा छन्। ओली निकट मानिने कर्ण थापालगायतका नेताको एमाले नेतृत्वसँग सुमधुर सम्बन्ध छैन। यी नेतासँग आउँदा दिनमा रावलको सम्बन्ध विस्तार भए ओली कमजोर हुने बुझाइ थियो।

रावलको विगतले झस्केका ओली

ओलीले रावललाई विगतबाटै भूमिकाविहीन बनाएका थिए। एमाले नेताहरूका अनुसार महाधिवेशनमा रावललाई उपाध्यक्ष बनाउने योजना ओलीकै थियो। त्यसैका लागि ओलीले एउटा उपाध्यक्ष महाधिवेशनको मनोनयनसम्म राखेका थिए। जब रावल अध्यक्षमै लड्ने निष्कर्षमा पुगे, ओलीले सोही उपाध्यक्ष पद युवराज ज्ञवालीलाई दिए। अबको दुई वर्षपछि एमालेको महाधिवेशन हुँदैछ। यदि रावललाई निष्कासित नगर्ने हो भने फेरि रावल हाबी हुने बुझाइ ओलीको छ। ‘अब फेरि एमाले अध्यक्षमा ओली अघि सर्ने तयारी छ,’ एमालेका एक नेता भन्छन्, ‘यस अवस्थामा रावलले फेरि उम्मेदवारी दिन सक्छन्।’

एमाले नेता विशाल भट्टराई पनि अब पनि एमाले अध्यक्ष ओली नै हुने बताउँछन्। यसै कारण आफ्ना विरुद्धमा उभिन सक्ने रावललाई ओलीले कारबाही गरेको एमाले नेताहरूको बुझाइ छ। यसबाट ओलीले अन्य नेतालाई सन्देश दिएको समेत नेताहरू दाबी गर्छन्। ‘नेतृत्वको विरुद्धमा गएमा कारबाहीको डण्डा लाग्ने देखियो,’ एमालेका अर्का एक नेता भन्छन्।

स्पष्टीकरणको जबाफ दिएनन् रावलले

एमालेको गत कात्तिक ४ मा बसेको सचिवालय बैठकले रावललाई स्पष्टीकरण सोधेको थियो। एमालेको केन्द्रीय कार्यालय भाटभटेनीका मालिक मीनबहादुर गुरुङले बनाइदिने विषयमा रावलले विरोध गरेपछि स्पष्टीकरण सोधेको थियो। राववले स्पष्टीकरणको जबाफ दिएका थिएनन्। स्पष्टीकरण नआएपछि एमालेले कारबाही गर्ने निश्चित थियो।

सचिवालय बैठकमा प्रस्ताव गर्दा समेत केही सदस्यले आनाकानी गरेका थिए। ‘एक पटक बोलाएर सोधपुछ गरौँ भनेर कमरेडहरूले कुरा राख्नुभयो। तर कति पटक मौका दिनु भनेर कारबाही गर्ने निर्णय भयो’, एमालेका एक पदाधिकारी भन्छन्। यसबारे युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्यलगायतका नेताले ‘तत्काल कारबाही’ गर्न नहुने विचार राखेका थिए। अध्यक्ष ओली, महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमाल भने कारबाही गर्नैपर्ने अडानमा रहेको बैठकमा सहभागी एक नेताले दाबी गरे।

रावलको अबको बाटो

रावल एमालेका पूर्वउपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री समेत बनेका नेता हुन्। अब उनले कुन बाटो लिन्छन्, त्यो चासोको विषय बनेको छ। हालसम्म उनले एमाले बाहेक अन्य कुनै राजनीतिक दल नसोचेको बताएका छन्।

रावल नेतासँगै भाषणवाज र संगठक पभएकाले उनको झुकाव कता बढ्छ भन्ने चासोका साथ हेरिएको छ। रावलको अबको बाटो माधव नेपालको पार्टीमै सहज हुने वामपन्थी राजनीतिका जानकार नारायण ढकालको बुझाइ छ। ढकाल यसअघि नै रावल अन्य कुनै पार्टीमा जाने संकेत देखाएको बताउँछन्।

‘उहाँ (रावल) एकपटक अन्य कुनै पार्टीमा जाने योजनामा हुनुहुन्थ्यो। तर पछि कतै लाग्नुभएन,’ ढकाल भन्छन्। रावलका विषय एकथरी नेताहरू उनी कतै नजाने तर्क गर्छन्। आउँदो एमालेको महाधिवेशन पर्खिएर मात्र मार्गप्रशस्त गर्ने बताउँछन्।

आउँदो महाधिवेशनमा एमाले नेतृत्वमा विद्या भण्डारी आए रावललाई सहज हुने नेताहरूको बुझाइ छ। यसअघि पनि रावल र भण्डारीबीच विभिन्न चरणमा संवाद भएको थियो। रावल निकट नेताहरूका अनुसार उनले छिट्टै पत्रकार सम्मेलन गरेर आफ्नो आगामी यात्राबारे जानकारी गराउने तयारी गरेका छन्।

प्रकाशित: ११ पुष २०८१ २०:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast