मलेसियामा रोजगारी, स्वास्थ्य परीक्षण शुल्क १० हजार बनाउन ‘चलखेल’

रमेश भारती ८ पुष २०८१ १०:३०
132
SHARES
मलेसियामा रोजगारी, स्वास्थ्य परीक्षण शुल्क १० हजार बनाउन ‘चलखेल’

काठमाडौँ- नेपालबाट मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणबापत दुई हजार रुपैयाँ शुल्क तिरे पुग्छ। यो मलेसियाबाट सूचीकृत स्वास्थ्य संस्थामा स्वास्थ्य परीक्षणबापत लाग्ने शुल्क हो। नेपाल स्वास्थ्य व्यवसायी महासंघले अहिले मेडिकलका नाममा एकै कामदारसँग पटकपटक स्वास्थ्य परीक्षण गराएर ६ हजार आठ सय रुपैयाँ लिने गरेको छ।

अहिले फेरि सिन्डिकेट ब्युँत्याए मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण लागत खर्च १० हजार पुर्‍याउने चलखेल भइरहेको  महासंघका एकजना पदाधिकारीले जानकारी दिए। महासंघका अध्यक्ष सिन्डिकेट ब्युँताउन लागिपरेको आरोप महासंघका ती पदाधिकारीको छ।

नेपाल स्वास्थ्य व्यवसायी महासंघ र मलेसियाको बेस्टिनेट एसडीएन बीएचडीबीचको सम्झौता गत मेमा सकिएको छ। सम्झौता नवीकरण भएको छैन। मलेसियास्थित बेस्टिनेट एसडीएन बीएचडीसँगको सम्झौता तोडिएपछि मलेसिया रोजगारीमा जाने कामदारले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मान्यता दिएको जुनसुकै मेडिकल संस्थाबाट मेडिकल गर्न पाउनेछन्। यसविपरीत सिन्डिकेट ब्युँत्याएर खड्काले लागत खर्चसमेत बढाउने चलखेल गरिरहेको महासंघका ती पदाधिकारीको आरोप छ।

मलेसिया सरकारले विदेशी श्रमिक केन्द्रीय व्यवस्थापन प्रणाली (एफडब्लूसीएमएस) अन्त्य भएको नेपाललाई एक महिनाअघि इमेलमार्फत जानकारी गराएको थियो। यस विषयमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अहिलेसम्म केही जवाफ दिएको छैन।

चौथोपटक नेपाल स्वास्थ्य मेडिकल महासंघको अध्यक्ष बनेका कैलाश खड्का पुनः सिन्डिकेट ब्युँताउन परराष्ट्रमन्त्री आरजु राणा, मुख्य सचिव एकनारायण अर्याल र प्रधानमन्त्री केपी ओलीका स्वकीय सचिव राजेश बज्राचार्यको सहयोग मागिरहेको आरोप महासंघका ती पदाधिकारीले दाबी गरे।

यस क्रममा खड्का आफैँ मलेसिया पुगेका छन्। उनले केही दिनपहिले मलेसिया पुगेर त्यहाँको बेस्टिनेट एसडीएन बीएचडीका उच्च कर्मचारीसँग छलफल गरेका थिए। त्यसलगत्तै खड्काले राजनीतिक दलका नेतासँग सिन्डिकेट ब्युँत्याउन लबिइङ गरिरहेको आरोप नेपाल मेडिकल व्यवसायी संघ (नेमो) का अधिकारीहरूको छ।

नेमोका अध्यक्ष तारानाथ अर्यालले सिन्डिकेटका कारण नेपालीको पैसा बाहिरिने र मेडिकल व्यवसायी विस्थापित हुने अवस्था सिर्जना भइरहेको बताए। उनले मलेसिया सरकार र नेपालबीच भएको श्रम सम्झौताका आधारमा मलेसियाको सिन्डिकेट अन्त्य हुनुपर्ने बताए। नेमोले मलेसियाको स्वास्थ्य परीक्षणमा पुनः सिन्डिकेटको प्रयास भइरहेको र कुनै पनि बहानामा सिन्डिकेट ब्युँत्याउने नहुने चेतावनी दिएको छ।

‘महासंघका अध्यक्ष कैलाश खड्का सिन्डिकेट ब्युँताउन राजनीतिक शक्ति केन्द्रमा धाइरहेका छन् रे। दलहरूले सिन्डिकेटका कारण मलेसियामा उत्पन्न समस्या बुझेका होलान् भन्ने हाम्रो आस छ’, उनले भने।

मलेसियासँग २०७५ साल कात्तिकमा भएको श्रम सम्झौतामा स्रोत देशबाटै कामदारको स्वास्थ्य परीक्षण गर्ने सहमति भएको छ। मलेसिया र नेपालबीच २०७२ सालपछि भएका सम्झौतामा समेत मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण जुनसुकै मेडिकलबाट गर्ने सम्झौता पटकपटक भएका छन्। तर ती सम्झौता कार्यान्वयन भएका छैनन्।

अब सरकारबाट सूचीकृत सबै स्वास्थ्य संस्थाले मलेसियामा जाने कामदारको मेडिकल गर्न पाउने नयाँ व्यवस्था लागू भएको छ। यस विषयमा श्रम मन्त्रालयले केही प्रतिक्रिया दिएको छैन।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले यस विषयमा सरकारले विशेष योजना र नयाँ ढंगबाट स्वास्थ्य परीक्षण गराउन पठाउने विषयमा छलफल गरिरहेको जानकारी दिए। उनले हिमालप्रेससँग भने, ‘छलफल भइरहेको छ। सिन्डिकेटका कारण देखिएको समस्या चाँडै समाधान हुनेछ।’

केही स्वार्थ समूह स्वास्थ्य परीक्षणको सिन्डिकेट ब्युँताउन लागिपरेका छन् नि भन्ने प्रश्नमा भण्डारीले भने, ‘मलाई पनि यस विषयमा जानकारी आएको छ। कामदारको स्वास्थ्यजस्तो विषयमा सिन्डिकेट हुनु गलत हो। यसको पनि उपचार हुन्छ।’ मन्त्री भण्डारीका अनुसार मलेसिया सरकारसँग भएको श्रम सम्झौताका आधारमा त्यहाँ जाने कामदारको स्वास्थ्य परीक्षण गरेर पठाइन्छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast