पुस्तक चर्चा

‘कूटनीतिमा तीन दशक’ : अनुभव, अनुभूति र सूचनाको संगम 

रमेशप्रसाद खनाल ६ पुष २०८१ २०:४३
16
SHARES
‘कूटनीतिमा तीन दशक’ : अनुभव, अनुभूति र सूचनाको संगम 
आफ्नो देशको हित संरक्षण र प्रवर्धन गर्न प्रचलित अन्तर्राष्ट्रिय मानदण्ड र मापदण्डको अधीनमा रहेर शान्तिपूर्ण तवरमा वार्ता, भेटघाट, छलफल, भ्रमण, लेखापढी, पत्राचार आदि कार्यद्वारा निरन्तर गरिने प्रयास र प्रयत्नको अर्को नाम कूटनीति हो। यसलाई जालझेल, धोखाघडी, मिठो बोलेर ढाडमा छुरा रोप्नेजस्ता कुराहरूसँग सामान्यीकरण गर्ने गरेको पाइन्छ तर वास्तवमा कूटनीति दुई देश तथा जनताबीचका विविध  सम्बन्धहरूलाई थप घनिष्ठ र सुमुधुर बनाउँदै आफ्नो राष्ट्रिय हितमा कुनै आँच नपुगोस् भनेर सञ्चालन गरिने एक विशिष्ट प्रक्रिया हो। यसको सफल सञ्चालन यस विषयमा वर्षौँ कार्य गरेका व्यक्तिहरूको सीप, अनुभव र क्षमतामा निर्भर रहन जान्छ।
औपचारिक रूपमा सरकारका अवयवहरू र अनौपचारिक रूपमा देशका नागरिकले समेत कुनै न कुनै रूपमा अर्को देशसँगको सम्पर्क र सम्बन्धका क्रममा न्यूनतम कूटनीतिक कला प्रदर्शन गर्नुपर्ने हुन्छ। तर समग्र देशको कूटनीतिक संयन्त्रको सञ्चालन भने देशको वैदेशिक र अन्तर्राष्ट्रिय मामिला हेर्ने मन्त्रालय (जसलाई धेरै देशहरूमा परराष्ट्र मन्त्रालय भनिन्छ) को हुन्छ। यस मन्त्रालयमा कार्यरत वा काम गरेका व्यक्तिहरू विशेषज्ञ  कूटनीतिज्ञ वा ‘करियर डिप्लोम्याट’ हुन्छन्।
विभिन्न देशमा काम गरेर विशिष्ट ज्ञान हासिल गर्ने वा गरेका यस्ता कूटनीतिज्ञहरूले आफ्नो कार्यकालमा स्वदेश तथा विदेशमा पाएका अमूल्य अनुभव, घटना परिघटना, व्यक्तित्व र उनीहरूसँगको भेटघाट र आफूले आर्जन गरेको अन्तरर्राष्ट्रिय सम्बन्धको उतारचढावको ज्ञान भविष्यका निमित्त ज्ञानवर्धक र उपयोगी होस् भन्ने उद्देश्यका साथ आफूले काम गर्दाका अनुभव समेटिएका पुस्तक प्रकाशन हुने गरेका छन्।  आफ्नो कूटनीतिक सेवा निवृत्त भएपछि फुर्सदमा आफूले विगतमा गरेका काम, त्यस क्रममा पाएका चुनौती र अवसर, विभिन्न स्थान, घटना र संस्थाबारेको विस्तृत वर्णनसहित लेखिने यस्ता आत्मपरक पुस्तक अमेरिका, बेलायत, भारतजस्ता देशहरूमा करियर कूटनीतिज्ञहरूले लेखेका कैयौँ पुस्तकहरू चर्चित पनि हुने गरेका छन्। नेपालमा विगतमा यस प्रकारका पुस्तकहरू लेख्ने चलन त्यति थिएन तर लोकतन्त्रको उदयसँगै यसतर्फ करियर कूटनीतिज्ञ पनि अग्रसर भएको देखिनु सुखद पक्ष मान्नुपर्छ। राजनीतिक नियुक्तिमा नियोग प्रमुख भएका व्यक्तिहरूको पुस्तक बजारमा धेरै देखिन्छ भने करियर कूटनीतिज्ञहरूको संख्या भने निश्चय नै कम रहेको छ।
यसै क्रममा नेपालको परराष्ट्र संयन्त्रमा तीन दशकभन्दा बढी कार्य गरेर फ्रान्समा राजदूत हुँदै सेवा निवृत्त राजदूत र शिष्टाचार महापाल मोहनकृष्ण श्रेष्ठले आफूले ३० वर्षभन्दा बढी समय यो सेवामा हासिल गरेका अनुभव, ज्ञान र सिकाइलाई सुस्पष्ट भाषामा व्यक्त गरेर लेखेको पुस्तक ‘कूटनीतिमा तीन दशक’ प्रकाशन गरेका छन्। उनले कूटनीति, परराष्ट्र सम्बन्ध, तत्कालीन विश्व परिवेश, अन्तर्राष्ट्रिय सभासम्मेलनमा सहभागी हुँदाका अनुभव, आफ्ना विश्व भ्रमणका तितामिठा अनुभव, यस अवधिमा कूटनीतिक सेवामा भोग्नुपरेका विभिन्न चुनौतीहरूको सजीव वर्णन गरिएको कूटनीतिक इतिवृत्त वा इतिहास बनेको पुस्तक पहिलोपटक २०१५ मा प्रकाशन भएको थियो। माग बढेपछि दोस्रो संस्करण २०२१ मा छापियो। अहिले चर्चा गर्न लागिएको पुस्तक तेस्रो संस्करणको हो जुन हालै बजारमा नया कलेवर र थप परिमार्जनसहित प्रकाशित भएको छ।
लेखकले मन्त्रालयका विभिन्न महत्त्पूर्ण शाखा-महाशाखामा काम गर्दा, विदेशमा सभासम्मेलनमा जाँदा तथा कूटनीतिक नियोगहरूमा कार्यरत हुँदा प्राप्त गरेका अनुभव, अनुभूति, सीप र ज्ञान यो पुस्तकमा संगालिएको छ। यो एक प्रकारको कूटनीतिक प्रक्रियाको व्यावहारिक ज्ञान र सूचनाको भण्डार बन्न गएकोले नेपाली कूटनीतिको हाते पुस्तक (ह्यान्ड बुक) भन्दा पनि फरक नपर्ला। लेखक राजदूत एवं शिष्टाचार महापालजस्तो चुनौतीपूर्ण पद पनि सम्हालेका व्यक्तित्व भएकाले उच्चस्तरीय भ्रमण, ओहोदाको प्रमाण पत्र पेस तथा अन्य राजकीय कार्यहरूमा आवश्यक पर्ने आधारभूत शिष्टाचारका विषयमा मिहिन चर्चा गरिएको पुस्तकले नयाँ नियुक्त भएर जाने राजदूतहरूको निमित्त एक सहयोगी भूमिका खेल्न सक्ने देखिन्छ। कूटनीतिक सेवामा शिष्टाचार एक अभिन्न अंग हो। शिष्टाचार अधिकृतदेखि शिष्टाचार महापालसम्मको पदमा धेरै समय काम गरेर विभिन्न उच्च तहका भ्रमणको व्यवस्थापन र सञ्चालन गरेका अनुभवका कथाहरूले पुस्तक पठनीय र खँदिलो बनेको छ। शिष्टाचार महापाल पदमा कार्यरत रहेको १० महिनाको अवधिमा ११ उच्चस्तरीय भ्रमण व्यवस्थापन गर्दा हासिल गरेको अनुभव आफैँमा एक रेकर्ड हुनुपर्छ।
सारांशमा पुस्तकले नेपालको कूटनीतिक इतिहासको विगत ३० वर्षको घटना मात्र समेट्दैन, नेपाली कूटनीतिक सेवाको तितामिठा अनुभवले भरिएको एक जीवन्त ग्रन्थ पनि बन्न पुगेको छ। ३४ अध्यायमा विभक्त पुस्तकले २०३९ सालमा परराष्ट्र सेवा प्रवेशदेखि लेखकले फ्रान्समा राजदूत पदभार समापन गर्दासम्मको घटनाक्रम, लेखकका भोगाइ तथा अनुभवको सविस्तार वर्णन छ। जटिल परिस्थिति सिर्जना हुँदा लिनुपर्ने सजगता, सहनशीलता, धैर्य, लगनशीलता, अथक प्रयत्न र परिश्रमको कति महत्त्व हुन्छ भन्ने बुझ्न पनि यो पुस्तक उत्प्रेरणात्मक ग्रन्थ भएको छ ।
पुस्तकको सुरुवात १९९८ को सेप्टेम्बरमा दक्षिण अफ्रिकाको डर्बान सहरमा सम्पन्न १२ औँ असंलग्न राष्ट्रहरूको शिखर सम्मेलन समापन भएर फर्किँदा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालगायत नेपाली प्रतिनिधिमण्डलका सदस्यहरूको कूटनीतिक राहदानी हराउँदा उत्पन्न तनाव र जटिल अवस्था सहजीकरण गर्दाको चित्रणबाट भएको छ। यो घटना पढ्दा जति रोमाञ्चक लाग्छ त्यतिबेलाको स्थिति सम्हाल्न परराष्ट्रका अधिकारीहरूले भोग्नुपरेको कठिनाइ आफ्नो ठाउँमा छँदैछ। अर्को प्रसंग, फ्रान्सको राजधानी पेरिसस्थित राजदूत निवासको पुनर्निर्माण र मर्मत कार्यका निमित्त लेखक (राजदूत) ले पाएको हन्डर  र दु:खको वर्णनले सरकारी काम सम्पन गर्नुपर्ने कठिनाइ र चुनौतीको उजागर गर्दछ। अर्को चाखलाग्दो प्रसंग सन् २००५ मा राजा ज्ञानेन्द्रको १ महिने अफ्रिका भ्रमण र सो को पूर्व व्यवस्थापनमा खटिनुपर्दाको लेखकको अनुभव रहेको छ। त्यतिबेला राजाको भ्रमण भएका देशहरू, त्यहाँका मानिस र संस्कृतिका विषयमा समेत लेखकले वर्णन गर्न भ्याएका छन्। यो प्रसंगले अफ्रिकी देशहरूको बारेमा जान्न सघाउँछ भने परोक्ष रूपमा त्यस बखतको नेपालको राजनीतिक, कूटनीतिक वस्तुस्थिति र परिस्थितिको चित्र पनि देखाउँछ।
मिहेनत, लगन र अध्ययनले हासिल गर्न केही असम्भव छैन भन्ने अभिप्रेरणा पुस्तकमा वर्णित लेखकको जीवनको उतारचढावले दिन्छ। असन नजिक त्यौड टोलमा एक साधारण परिवारमा जन्मेर लेखकले सानैदेखि गर्नुपरेको संघर्षको रोचक पृष्ठभूमिमा कूटनीतिक सेवामा प्रवेश गर्दै सुरक्षा परिषद्को स्थायी सदस्य राष्ट्र फ्रान्सजस्तो महत्त्वपूर्ण देशमा नेपालको प्रतिनिधित्व गरेको घटना सबैको निमित्त प्रेरणादायी हुन्छ। सरकारी कामको सिलसिला होस् वा निजी प्रयासमा संसारका ६ महादेशका ७४ मुलुक र क्षेत्रहरूको भ्रमण गरेका उनी सम्भवत: एक मात्र नेपाली कूटनीतिज्ञ हुन् भन्दा फरक पर्दैन।
भ्रमण गरेका राष्ट्र, त्यहाँका मानिस, रहनसहन, संस्कृतिको रोचक वर्णनले कुनै नियात्रा पुस्तक पढिरहेको अनुभूति हुन्छ। ‘माछाको आहार भएको प्रसंग’ जस्ता प्रसंगले लेखकको अनुभूतिमा पाठकलाई चुर्लुम्म डुबाउँछ। कूटनीतिक सेवाका अनेक चुनौती सामना गर्दै कसरी अगाडि बढ्नुपर्छ भन्ने जान्न मन हुनेले यो पुस्तक एक पटक पढ्नैपर्ने खालको छ। यो पुस्तक भविष्यका पुस्ताको निमित्त एक सन्दर्भग्रन्थ बनेको छ।
पुस्तकमा रहेको तस्बिर खण्डले ३० वर्ष अवधिमा भएका लेखकका कूटनीतिक गतिविधि झल्काउँछ। सारांशमा, नेपाली पेसेवर कूटनीतिज्ञले आफ्नो अनुभवका आधारमा नेपालको कूटनीतिक क्रियाकलापको विस्तृत वर्णन गरी लेखेको यो पुस्तक नेपालको कूटनीतिक इतिहास बुझ्ने एक गतिलो आँखीझ्याल बनेको छ। अंग्रेजी र हिन्दी भाषामा समेत प्रकाशन भइसकेको यो पुस्तक नेपालको सन्दर्भमा तीन भाषामा उपलब्ध हुने सायद यस प्रकारको पहिलो पुस्तक हुनेछ। पुस्तकमा प्रयुक्त भाषामा थप सुधार, विषयको एकीकृत रूपमा प्रस्तुतीकरण र केही व्यक्ति लक्ष्यित प्रसंग  हटाउने हो भने यो पुस्तक नेपालको कूटनीतिक इतिहास लेखनमा एक उदाहरणीय पुस्तक बन्नेमा द्विमत हुन सक्दैन।
(कूटनीतिक सेवामा ३३ वर्ष सेवा गरेका खनाल जर्मनीका लागि नेपालका पूर्वराजदूत हुन्।)
प्रकाशित: ६ पुष २०८१ २०:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast