एउटा शब्दले गर्दा…

मोहनकृष्ण श्रेष्ठ ३ चैत २०८० १५:५९
286
SHARES
एउटा शब्दले गर्दा…

माथितिर हेर्दा नीलो आकाश। अनि सिरसिर बहिरहेको हावा। आहा कस्तो राम्रो मौसम! पारिलो घाम ताप्दै तातो चियाको चुस्की लिँदा मन नै आनन्दित हुने। आज पनि बरन्डामा बसेर यस्तै दिनचर्या। मलाई आज फरक अनुभूति भइराखेको छ।

अचानक एउटा पुरानो घटना याद आयो। आफ्नै परिवारसँग सम्बन्धित त्यो घटना मार्मिक थियो। हुन त यो घटना भोग्ने पात्र मबाहेक दुनियाँमा अरू कोही पनि छैनन्। जीवनमा कहिलेकाहीँ एउटा घटना, शब्द, वाक्यले कत्ति प्रभाव पार्न सक्दो रहेछ। यस्तो घटना अभिव्यक्त गर्दा जनमानसको ध्यान जाला? तर पनि समाजमा यस्तो घटनाले कहीँ न कहीँ, कतै न कतै केही उपदेश दिन सक्छ भन्ने भावना पलायो।

हाम्रा बाका दुई दाजुभाइ तथा दुई बहिनी। आज उहाँहरू कोही पनि जीवित हुनुहुन्न। त्यस्तै आमातर्फ बाजे तथा बजैको चाँडै स्वर्गवास भएकाले कान्छा हजुरबा हेममान श्रेष्ठ र कान्छी हजुरआमा सत्यमायाले आमालाई हुर्काउनुभएको रहेछ। बजै सत्यमाया अलि कडा स्वभावको हुनुहुन्थ्यो।

आमा १०१ वर्ष पुग्नुभयो। दीर्घजीवी हुनुहुन्छ। गत वर्ष अक्टोबरमा परिवारजन मिलेर उहाँको चौथोपटक दिव्य रथारोहण मनायौँ। यता ठूलोबाको एउटी मात्र छोरी। बाका भने ६ छोरा र ३ छोरी। सबै मिलाएर ९ जना सन्तान। त्यसैले ठूलोबाले सल्लाह गरी मलाई छोराजस्तै अपनाउनुभएको थियो। म ठूलोबा र ठूलीआमासँग बस्थेँ।

ठूलोबा त्यति बेला सुब्बा दर्जामा कार्यरत हुनुहुन्थ्यो। सायद भन्सारतिर जागिर थियो। म सानै थिएँ। एक दिन ठूलाबाले तलबका रूपमा लिएर आउनुभएको मोहर भद्रकाली मन्दिरको गेटमै कपडाको झोलाबाट भुइँमा खसेका थिए। ती मोहर टिप्न मैले पनि सहयोग गरेको कुरा अहिलेसम्म याद छ। कान्छा हजुरबा भीमफेदीमा बसोबास र व्यापार गर्नुहुन्थ्यो। कपडाको ठूलो पसल थियो। भीमफेदी बजार बाइरोड (त्रिभुवन राजपथ) को बाटो नबनेसम्म निकै चहलपहल भएको बजार हो।

सर्वप्रथम काठमाडौँ खाल्डोमा गाडी ल्याउँदा भीमफेदीकै बाटो भएर भरियाहरूले बोकेर ल्याएका रहेछन्। अस्ति एउटा कार्यक्रममा जाँदा तिलगंगा आँखा अस्पताल नजिक रहेको होटल परिसरमा सबभन्दा पहिला भरियाले बोकी ल्याएको गाडी देखेको थिएँ। एउटा फोटो लिएँ। किनभने त्यो इतिहास बोकेको गाडी थियो।

मेरा दिदी र दाजुभाइसमेत भीमफेदीमा बर्सौँसम्म बसे। त्यहीँ बसेर पढाइ लेखाइ गरे। मचाहिँ त्यस्तै दुईतीन महिना जति मात्रै बसेको याद छ। २०१८ सालतिर बाजेको घर सामुन्ने नदीमा ठूलो बाढी आएको थियो। फराकिलो नदीमा त्यत्रो बाढी पहिलोपटक देखेको हुँ। कति डरलाग्दो देखिने रहेछ बाढी!

२०१८/२०२० सालतिर बाजे हेममान अचानक स्वर्गवास हुनुभयो। घरपरिवारमा रोदन, कोलाहल भयो। हामी सबै कैयौँ दिनसम्म रोएर बस्यौँ। बाजे हेममान अग्लो कदको हुनुहुन्थ्यो। सफा र सेतो लुगा लाउनुहुन्थ्यो। याद भनेको यत्ति हो।

बजै र हाम्रा मामाहरूबीच पैत्रिक सम्पत्तिको कुरालाई लिएर विवाद भएको थियो। एक दिन त चर्काचर्की परेको थियो। मैले चाहिँ देखेको हैन तर अरू दाजुभाइ र माइजूले भन्नुहुन्थ्यो त्यस दिन बाजे हेममान घरपछाडि सेतै कपडामा झुल्किनुभएको थियो रे। यो कुरा साँचो हो भने स्वर्गतिर गए पनि मानिसको आत्मालाई शान्तिचाहिँ नहुने रहेछ परिवारमा विवाद, झैझगडा भयो भने।

ठूलोबाको वीरगन्जमा सरुवा भयो। म पनि वीरगन्ज गएँ। स्कुलमा भर्ना गरिदिनुभयो। मलाई पढाइमा खास मन नलाग्ने। केही महिनामै वीरगन्जका लडकाहरूसँग हिमचिम भयो। लोकल खाना पनि रमाई–रमाई खान्थेँ। बगेडीको मासु खुब मिठो लाग्थ्यो। समयसमयमा ठूलोबा र आमाले रक्सौल जाँदा सँगै लैजानुहुन्थ्यो।

वीरगन्जमा कति समय बसेँ ठयाक्कै याद भएन। एक दिन ठूलोबाले तिमी अब फर्कनुपर्‍यो भन्नुभयो। उहाँलाई फेरि कता सरुवा गरिएको हो कि अरू कुनै कारणले? ठूलोबाले भाइलाई समाचार पठाउँछु भन्नुहुन्थ्यो। त्यो बेला आजको जस्तो सञ्चारका कतिपय माध्यम थिएनन्। सबभन्दा ठूलो सञ्चारमाध्यम भनेको टेलिग्राम थियो। सायद ठूलोबाले मेरो बालाई टेलिग्राम पठाउनुभएको होला भीमफेदीमा।

भोलिपल्ट हो कि पर्सिपल्ट। बिहान ९ बजेको समय हुँदो हो। घरमा बिहानै कसैले ढोका ढकढक्यायो। मैले ढोका खोलेँ। आँखा सामुन्ने बा र बज्यै सत्यमाया आउनुभएको रहेछ। मलाई देख्नासाथ बा त एकदम ठूलो स्वरले रुनुभयो। बज्यै पनि रुन थाल्नुभयो। मलाई छातीमा टाँसेर बा अति नै रुनुभयो । ठूलोबा र आमा पनि दौडेर आउनुभयो। यो के भएको? सामुन्ने भाइ र आमा। दुवै रोइरहेका छन्। कुनै वाक्य नफुट्ने गरी रुनुभएको। एकछिन त घरको वातावरण बडो असामान्य तथा रोदनयुक्त भयो। बिस्तारै सबैजना सम्हालिए। रोदन पनि कम भयो। भलाकुसारी तथा चियापान र खानाको बन्दोबस्त भयो।

बासँग कैयौँ महिना, वर्षदेखि भेट्न नपाएको। मलाई पनि बा भेटेर अति नै खुसी लागेको थियो। सुनिएअनुसार बाको जन्मदिनमा होम गरिरहँदा म जन्मेको र म जन्मेपछि बाको बढुवा भएको रहेछ। त्यसकारण बाले मलाई विशेष स्नेह गर्नुहुन्थ्यो।

भएको के रहेछ भने ठूलाबाले मेरो बुबालाई टेलिग्राम पठाउँदा अन्य विभिन्न कुरा लेखेर ‘बाबु मलाई असर्ग परेकाले (अप्ठेरो परेकोले) लिन आउनू’ भन्नुभएको रहेछ। टेलिग्रामको शब्द टिप्ने कारिन्दाले असर्ग को सटृा स्वर्ग लेखिदिएछ। यसको मतलब बा र बज्यैले मेरो महाप्रस्थान भयो भनेर बुझ्नुभएछ।

भीमफेदीदेखि रातारात गाडी भाडामा लिएर वीरगन्ज पुग्नुभयो। भीमफेदीदेखि भैँसेसम्म उबडखाबड सडक। केही किलोमिटर सडक पार गर्न पनि घण्टौँ लाग्ने। भीमफेदीबाट भैँसे अनि हेटौँडा हुँदै वीरगन्ज पुगिन्थ्यो। सडक पिच भए तापनि ठाउँठाउँमा बिग्रेर हैरान। यस्तो हैरानी खेप्दै बा र बज्यै रातारात गरी वीरगन्ज आइपुग्नुभएको थियो।

मलाई आँखा सामुन्ने जीवित देखेर बा र बज्यै भावविह्वल भई रुनुभएको रहेछ। त्यस्तो समाचार पाएर दुःखी मन लिई आएको, आफ्नो छोरालाई सकुशल सामुन्ने देखेर बा त खुसीले सम्हाल्नै नसक्ने अवस्थामा हुनुहुन्थ्यो। टेलिग्रामको कपी पनि देखाउनुभयो। साँच्चै शब्दमा केही तलमाथि हुँदा मानिसलाई कति चोट पर्छ, कति दुःख हुन्छ भन्ने एउटा कथाजस्तै सत्य घटना थियो त्यो।

समय, व्यक्तिगत हैरानी र खर्च भए तापनि आफ्नो छोरानाति सकुशल देखिएपछि बा र बज्यै शान्त हुनुभयो। बाल्यकालमा भएको एउटा सत्य घटना हो यो। बा परमधाम भएको पनि ५२ वर्ष भइसकेको छ। अबुधाबीमा कार्यरत रहँदा एक दिन बालाई पूरै शरीरसहित सपनामा देखेँ। हामी दुवै जना कताकता घुम्न निस्केका थियौँ। निद्राबाट झल्याँस्स ब्युँझदा साँच्चै बा अब हामीमाझ हुनुहुन्न भन्ने कुरा सम्झन कतिबेर लाग्यो।

बा बित्नुभन्दा दुईतीन महिना जति अगाडि बा र म पाटनमा गएका थियौँ। अशोक हलबाट मंगलबजारतिर जाने बाटोमा हिँड्दै थियौँ। अचानक बाले मलाई त राँगोको टाउको खान मन लाग्यो बाबु भन्नुभयो। घरमा आएर मैले यो कुरा आमालाई भनेँ। आमा त रुन थाल्नुभयो। आमा यसरी किन रुनुभएको हो मैले केही बुझिनँ। त्यो वाक्य भनेको अति अशुभ रहेछ। अब महाप्रस्थानको समय आएको भन्ने पूर्वजानकारी रहेछ। नभन्दै २०२८ पुस २२ गतेका दिन बा धरतीबाट सदाका लागि बिदा हुनुभयो।

बाले दिनुभएका ज्ञानगुनका कुरा अहिले बुझ्दैछु। सम्झँदैछु। कति याद आउँछ बाको। बालाई फ्रान्स  र अन्य युरोपेली देशका कुरा कण्ठस्थ हुन्थ्यो। सुनाइरहनुहुन्थ्यो। अंग्रेजी नपढे पनि युरोपियन इतिहासका धेरै कुराहरुका ज्ञाता बा। कानुन विषयमा त अब्बल।

फ्रान्समा राजदूत भई पेरिस पुगेको दिन बाको खुब याद आयो। आजसम्म जीवित भएको भए त कति खुसी हुनुहुन्थ्यो होला भनेर। आमालाई चाहिँ पेरिसमा बोलाएँ। त्यति बेला आमा ८९ वर्षकी हुनुहुन्थ्यो। पेरिसस्थित राजदूत निवासको माथिल्लो तलाको फलामे भर्याङ ठाडो र घुमाउरो छ। आमालाई माथि उक्लन गाह्रो होला भनी हामीहरु के कसो गर्ने भनेर विचारविमर्श गर्दै थियौँ। आमा त्यस्तो ठाडो भर्याङमा पनि सरासर उक्लिनुभयो। कस्तो फुर्ती त्यत्रो उमेरमा पनि! हामीलाई ताज्जुब लागेको थियो।

सबैको जीवन गतिशील छ। सबैले सबै कुरा चाहेजस्तो पाउँदैन। जे छ त्यसैमा चित्त बुझाएर जिउने हो। एकबारको जिन्दगीमा केही सुखको अनुभूति गर्ने हो भने सन्तोषी हुनुपर्छ।

प्रकाशित: ३ चैत २०८० १५:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =