काठमाडौँ- अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले पाकिस्तानले आयोजना गर्न लागेको च्याम्पियन्स ट्रफी–२०२५ को केही खेल तटस्थ स्थानमा हुने जनाएको छ।
भारतले सुरक्षा कारण देखाउँदै पाकिस्तानमा च्याम्पियन्स ट्रफी खेल्न अस्वीकार गर्दै यसबारे आईसीसीलाई जानकारी गराएको थियो।
भारतको यो अडानपछि आईसीसीले सन् २०२४ देखि २०२७ सम्म भारत–पाकिस्तानबीच आईसीसीका सबै प्रतिस्पर्धा तटस्थ मैदानमा हुने प्रस्ट पारेको छ।
आईसीसीको यो निर्णयपछि भारत च्याम्पियन्स ट्रफी खेल्न पाकिस्तान नजाने पक्का भएको छ। प्रतियोगिताअन्तर्गत यी दुवै देशबीचका खेल तटस्थ मैदानमा हुनेछ।
च्याम्पियन्स ट्रफी २०२५ फ्रेबु्रअरी र मार्चमा हुँदैछ। प्रतियोगिताअन्तर्गतका खेलहरू अब पाकिस्तान र तटस्थ मैदानमा हुने भएको छ। यद्यपि तटस्थ मैदानबारे आईसीसीले अहिले प्रस्ट पारेको छैन।
आईसीसीको यो निर्णय च्याम्पियन्स ट्रफी २०२५ का साथै भारतले आयोजना गर्न लागेको आईसीसी महिला क्रिकेट विश्वकप २०२५ र भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गर्ने आईसीसी पुरुष टी–२० विश्वकप २०२६ का लागि पनि लागु हुनेछ।
च्याम्पियन्स ट्रफीको खेल तालिका चाँडै सार्वजनिक गरिने आईसीसीले जनाएको छ। पाकिस्तानले सन् २०१७ मा च्याम्पियन्स ट्रफी जितेको थियो।
च्याम्पियन्स ट्रफीमा भारत, पाकिस्तान, अफगानिस्तान, अस्ट्रेलिया, बंगलादेश, इंग्ल्यान्ड, न्युजिल्यान्ड र दक्षिण अफ्रिकासहित आठ टिम सामेल हुनेछन्।