फिफा द वेस्ट अवार्ड यो वर्ष भिनिसियस जुनियर र आइताना बोनमतीले जितेका छन् । विश्व फुटबल महासंघ (फिफा)ले प्रदान गर्ने अर्वाड कतारमा मंगलबार राति आयोजना भएको थियो।
ब्राजिल तथा स्पेनिस क्लब रियल म्याड्रिडका भिनिसियसलाई पुरुषतर्फ र स्पेन तथा बार्सिलोनाकी बोनमतीलाई महिलातर्फ उत्कृष्ट वर्ष फुटबलर २०२४ घोषित भएका हुन्।
मिडफिल्डर बोनमतीले लगातार दोस्रो वर्ष फिफा द बेस्ट महिला खेलाडीको अवार्ड जितेकी हुन् । २६ वर्षीया बोनमतीले सन् २०२४ मा क्लब र राष्ट्रका लागि उत्कृष्ट प्रदर्शन गरेकी छिन् । उनी सम्मिलित स्पेन टोलीले २०२३ मा महिला विश्वकपको उपाधि जितेको थियो।
ब्राजिलका भिनिसियसले २०२३–२४ को सिजनमा ३९ खेल खेल्दै २४ गोल गरेका थिए । रियललाई च्याम्पियन्स लिगको १५ औं पटक उपाधि जिताउन उनको महत्वपूर्ण भूमिका रहेको थियो।
रियलका कार्लो एन्सेलोटीले फिफा द बेस्ट पुरुष प्रशिक्षकको अवार्ड जिते। महिलातर्फ अमेरिकी महिला फुटबल टोलीकी प्रशिक्षक एम्मा हेजले अवार्ड जितिन्। वेस्ट गोलकिपरको अवार्ड पुरुषमा इंग्लिस क्लब एस्टन भिल्लाका अर्जेन्टिनी गोलकिपर एमिलियानो मार्टिनेज र महिलामा अमेरिकाकी एलिसा नेहरले जितिन्।
उत्कृष्ट गोल गर्नेलाई प्रदान गरिने पुस्कास अवार्ड महिलातर्फ अमेरिकी क्लब ओलरान्डो प्राइडकी ब्राजिलियन खेलाडी मार्टा र पुरुषतर्फ म्यानचेस्टर युनाइटेडका अर्जेन्टिनी खेलाडी अलेक्जान्ड्रो गोरान्चोले जिते।