
काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौँ गुर्खाजले विराटनगर किंग्समाथि रोमाञ्चक जित हासिल गरेको छ।आइतबारको पहिलो खेलमा विराटनगरलाई १ विकेटको रोमाञ्चक जितका साथ काठमाडौंले प्लेअफ सम्भावना कायमै राखेको हो।
विराटनगरले दिएको १ सय १८ रनको लक्ष्य काठमाडौँले १८.१ ओभरमा ९ विकेट गुमाएर पूरा गर्यो। काठमाडौँका लागि प्रतिक श्रेष्ठले सर्वाधिक ३९ रन जोडे। उनले ३४ बलमा २ चौका र २ छक्का प्रहार गरे । १४औं ओभरको तेस्रो बलमा अनिल खरेलको बलमा प्रतिक आउट भए । लगत्तै पहिलो बलका सामना गरिरहेका कप्तान करण केसीलाई पनि उनले नै बोल्ड आउट गरे ।
राशिद खानले १५ बलमा १ चौका र १ छक्काको सहयोगमा १४ रन जोडे । राशिद विराटनगरका कप्तान सन्दीप लामिछानेले बोल्ड आउट गराए । ओपनर माइकल लेभिट ६ बलमा १० रन बनाउँदै कप्तान सन्दीपकै बलमा आउट भए । अर्का ओपनर स्टेफन स्किनाजी १ रन बनाउँदै बसिर अहमदको बलमा आउट भए ।
तल्लो क्रमका ब्याटर दिपेश कंडेलले ५ बलमा नट आउट ११ रन जोड्दै रोमाञ्चक जित दिलाए । जेहार्ड एरास्मस ७ बलमा १२ रन जोड्दै विराटनरका कप्तान सन्दीपको बलमा आउट भए । विराटनगरका लागि कप्तान सन्दीप लामिछानेले ३ तथा अनिल खरेल र क्रिस सोल, बसिर अहमदले समान २ लिए ।
त्यसअघि टियु मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले १९।५ ओभरमा अल आउट हुँदै १ सय १७ रनमा समेटियो। विराटनगरका लागि राजेश पुलामी मगरले सर्वाधिक २५ रन जोडे । उनले २१ बलमा १ चौका र १ छक्का प्रहार गरे । उनी २०औं ओभरको चौथो बलमा कप्तान करण केसीद्वारा आउट भए ।
ओपनर दिपक बोहोराले २४ बलमा २ चौकाको सहयोगमा २० रन जोडे । दिपक नवौं ओभरको अन्तिम बलमा दिपेश कंडेलको एलबिडब्लु सिकार हुन पुगे ।स्कट एडवार्डस १४ बलमा १५ रन बनाउँदै जेहार्ड एरास्मसको बलमा बोल्ड आउट भए । बसिर अहमद १३ बलमा १३ बनाउँदै आउट भए ।
बसिरले १५औं ओभरको दोस्रो बलमा छक्का प्रहार गरेका थिए। त्यसपछिको बलमा साहब आलमविरुद्ध ठूलो सटको प्रयास गर्दा बाउन्ड्रीमा भीम सार्कीबाट क्याच आउट भए। ओपनर लोकेस बम ९ बलमा ८ रन बनाउँदै डान डाउनवेथटको एलबीडब्लू सिकार भए । निकोलस किर्तन १९ बलमा १२ रन बनाउँदै रन आउट भए। इस्मात आलम ५ रन बनाउँदै दिपेश कंडेलको बलमा बोल्ड आउट भए ।
काठमाडौंका लागि जेहार्ड एरास्मसले ३, दिपेश कंडेलले २ तथा डान डाउथवेट, करण केसी र शाहब आलमले समान १ विकेट लिए ।
जितसँगै काठमाडौंले प्लेअफ सम्भावना कायमै गरेको छ। सोमवार कर्णाली याक्स र सुदूरपश्चिमबीचको खेलमा कर्णालीको फराकिलो हार भएमा काठमाडौंले प्लेअफमा स्थान बनाउँनेछ। यसअघि लुम्बिनी लायन्स, विराटनगर, पोखरा एभेन्जर्स प्रतियोगिताबाट बाहिरिसकेका छन्।
पराजित विराटनगर यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको थियो। यस संस्करणको अन्तिम खेल विराटनगरले हारका साथ प्रतियोगिता समाप्त गरेको छ। आजै हुने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सको सामना गर्नेछ।