काठमाडौँ– एसीसी एसियाकप यू–१९ एसियाकप क्रिकेटमा नेपालले अफगानिस्तानलाई पराजित गरेको छ। आज भएको खेलमा अफगानिस्तानलाई नेपालले एक विकेटले पराजित गरेको हो। यूएईको सारजहा क्रिकेट मैदानमा भएको समूहको अन्तिम खेलमा अफगानिस्तानले दिएको १२४ रनको लक्ष्य नेपालले ९ विकेटको क्षतिमा पूरा गरेको हो।
पहिले फिल्डिङ गरेको नेपालले अफगानिस्तानलाई ३५.४ ओभरमा १२३ रनमा सीमित गरेको थियो। जवाफी ब्याटिङमा आएको नेपालले ४१.३ ओभरमा ९ विकेट गुमाएर अफगानिस्तानलाई पराजित गर्यो।नेपालले अफगानिस्तानका दुवै ओपनरलाई शून्यमा आउट गरे पनि फैसल खानले अर्धशतक बनाएर अफगानिस्तानको इनिङ्सलाई उकासेका थिए। उनले ६७ बलमा ५२ रन बनाए। खातिर खान स्टानिकजाईले १५, बरकत इब्राहिमजाईले १२, अल्लाह गजानफरले ११ र नसिर खान मारुफखीले १० रन जोडे ।
नेपालका लागि युनिस विक्रम सिंह ठकुरी र सन्तोष यादवले ३/३ विकेट लिए भने हेमन्त धामी र अभिषेक तिवारीले २/२ विकेट लिए । नेपालका लागि नरेन साउदले ५४ बलमा सर्वाधिक २६ रन बनाए। कप्तान हेमन्त धामीले ३३ बलमा लगातार चौकासहित २२ रन बनाएर अविजित रहे। अर्जुन कुमाल र अभिषेक तिवारीले क्रमशः २१ र १३ रन बनाए । धामीले एक विकेट मात्र बाँकी रहँदा लगातार चौका प्रहार गर्दै जित सुनिश्चित गरे ।
समूह ‘बी’ बाट श्रीलंका र बंगलादेश सेमिफाइनलमा प्रवेश गरेका छन्। नेपालले आज अफगानिस्तानलाई पराजित गर्दै एसियाकपमा सुखद् अन्त्य गरेको छ।