 
                             
                                            भक्तपुर– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले बुद्धले दिएको ज्ञानलाई आफ्नो जीवनपद्धतिमा अनुसरण गर्नु अहिलेको आवश्यकता रहेकोमा जोड दिएका छन्।
आईतबार सम्पन्न बुद्ध दर्शनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन ‘धम्म डिस्कसन’ मा बोल्दै मन्त्री पाण्डेले यस्तो बताएका हुन्। मन्त्री पाण्डेले भने, ‘बुद्ध नेपालमा जन्मेकोमा गर्व गर्नु भन्दा पनि बुद्धको ज्ञानलाई आफ्नो जीवनमा अनुसरण नगर्ने हो भने त्यो गर्व गरेको कुनै अर्थ छैन।’
देशको वर्तमान शिक्षा पद्धतिलाई सैद्धान्तिकभन्दा व्यवहारिक र सदाचारि बनाउनु पर्ने आवश्यकता औल्याउँदै मन्त्री पाण्डेले शिक्षा पद्धति आध्यात्मिक र व्यक्तिको चेतनास्तर बढाउने किसिमको हुनु पर्नेमा जोड दिए।
विभिन्न देशका बुद्ध धर्मका आध्येताहरुलाई नेपालको धर्म संस्कृति र प्रकृतिको अध्ययनका लागि आउन आग्रह गर्दै मन्त्री पाण्डेले लुम्बिनीको भ्रमणका लागि भैरहवा विमानस्थलले सहजता प्रदान गर्ने समेत विश्वास दिलाए। बुद्ध नेपालमा जन्मिएको भए पनि बुद्धको सन्देश विश्वभरि फैलाउन योगदान गरेकोमा मन्त्री पाण्डेले बुद्ध धर्मकी व्याख्याता आचार्य सुजिन लगायतको समूहलाई धन्यवाद दिए।
कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै कोटेश्वर बहुमुखी क्याम्पसका अध्यक्ष एवं पुर्व पराराष्ट्र मन्त्री एवम् राजदुत महेन्द्रबहादुर पाण्डेले अहिले पनि कतै तेस्रो विश्व युद्ध त हुँदैन भन्ने त्रास रहेको बेला बुद्ध जन्मेको देशका मानिस र बुद्ध धर्मलाई जीवनमा अनुसरण गरिरहेका देशका विद्धानहरु एक थलोमा बसेर छलफल गरेर शान्तिको सन्देश दिनु महत्वपुर्ण भएको बताए।
सम्मेलनमा थाइल्याण्डबाट आएकी ९८ वर्षीया आचार्य सुजिनले भगवान बुद्धलाई कसरी चिन्ने भन्ने विषयमा प्रवचन दिएकी थिइन्। कार्यक्रम कोटेश्वर बहुमुखी क्याम्पस र सारीपुत्र फाउन्डेसन तथा धम्म लर्निङ एण्ड सपोर्टिङ सेन्टरको संयुक्त आयोजनामा भक्तपुरका जर्मन होम्समा भएको थियो।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 