एक्ली महिला बरघर, जसले गर्छिन् समुदायको नेतृत्व

हिमाल प्रेस २७ कार्तिक २०८१ २०:३१
6
SHARES
एक्ली महिला बरघर, जसले गर्छिन् समुदायको नेतृत्व

कञ्चनपुर- शुक्लाफाँटा नगरपालिका-५, गर्जमुनीकी ५२ वर्षीया अंकली डगौरा गाउँको रीतिथिति बसाल्ने कार्यमा दुई वर्षदेखि क्रियाशील छन्। बरघरमा चयन भएपछि उनी दुई वर्षदेखि गाउँको धार्मिक, न्यायिक, सांस्कृतिक, सामाजिक कार्यको नेतृत्व गर्दै आएकी छन्।

थारु समुदायमा गाउँँको अगुवाइ गर्ने व्यक्तिका रूपमा प्रत्येक वर्षको माघ महिनामा बरघर चयन गर्ने गरिन्छ। नगरपालिका क्षेत्रमै बरघरमा नेतृत्व गर्ने अंकली एक्लो महिला हुन्।  ‘गाउँका २२ परिवारले विश्वास गरेर नेतृत्व दिएका छन्। गाउँका बासिन्दाको सल्लाहमै विवाह, परम्परागत सांस्कृतिक कार्यक्रम, अंशबण्डा, विकास निर्माणलगायतका योजना बनाएर कार्यान्वयनमा ल्याउँदै आएका छौँ,’ डगौराले भनिन्।

गाउँमा हुने झै झगडा, विवादको छिनोफानो गर्नेदेखि कुलो, बाटो निर्माण तथा मर्मत गर्ने, पूजाआजा, विवाहका लागि समय निर्धारण गरी कार्यको जिम्मेवारी तोक्ने, देउथनुवा निर्माण गर्ने, पूजापाठ सामग्रीको व्यवस्थासँगै समय मिलाउने, मर्निकर्नी (जन्म–मृत्यु) संस्कारको चाँजोपाँजो मिलाउने कार्य बरघरको काँधमा हुने गर्दछ। गाउँका बासिन्दासँग समन्वय गरी सहज रूपमा कार्य गर्दै आएको अंकलीको भनाइ छ।

‘पहिलो वर्ष बरघरमा चयन हुँदा महिलाले पनि गाउँको नेतृत्व गर्न सक्लिन् र! भनेर कुरा काट्ने पनि थुप्रै थिए,’ उनले भने, ‘सबैको मन जित्न सकेकाले नै दोस्रो वर्ष पनि बरघरको नेतृत्व गर्ने मौका पाइएको छ।’

सामाजिक कार्यमा पहिला पुरुषकै अधिक अग्रसरता हुने गरेको थियो। हाल संस्कृति जोगाउने, गाउँको विकास, कुप्रथा, कुरीति हटाउनका लागि महिलाले अग्रसरता देखाउने गरेका छन्। फौजदारीबाहेक अन्य विवाद, झैझगडा गाउँमै मेलमिलापको माध्यमबाट समाधान गर्दै आएको डगौराले बताइन्।

‘गाउँमा हुने विवाह एकैपटक गर्न सकिँदैन, त्यै भएर महिना, गते, बार तोक्ने गरेका छौँ,’ अंकली अगाडि भन्छिन्, ‘तोकिएअनुसार गाउँका बासिन्दालाई दाउरा चिरान, पात टिप्ने, माछा मार्ने, खाना बनाउने जिम्मेवारी तोक्ने गर्छु, आफैँ पनि काममा खटिँदै आएकी छु, त्यै भएर सबैको सहयोग पाइने गरिएको छ।’

दसैैँतिहार, चाडपर्वमा आवश्यक सास्कृतिक कार्यक्रम, परम्परागत नृत्य, वाद्यवादन गर्नेहरूको चयन पनि गाउँका बासिन्दाकै सल्लाहमा गरिँदै आएको छ। बाटोघाटो मर्मत, प्राकृतिक ताल संरक्षण, कुलो मर्मतलगायत कार्यका लागि सरकारी बजेटको भर नपरेर बरघरको नेतृत्वमा गाउँका बासिन्दाले श्रमदानमार्फत गर्दै आएका छन्।

थारु अगुवा हवलदार चौधरी अंकलीले गाउँमा रीतिथिति बसाउने कार्यमा राम्रो भूमिका निर्वाह गरको बताउँछिन्। ‘विकास निर्माण, झैझगडा मेलमिलाप गराउने कार्यसँगै संस्कृति संरक्षणमा चासो दिएर कार्य गर्नुहुन्छ,’ चौधरीले भनिन्, ‘नगर क्षेत्रमै एक्लो बहिला बरघर भएकाले सुरुमा धेरैले आशङ्का व्यक्त गर्थे तर उहाँले सामाजिक कार्यका साथै गाउँ समाजमा रहेका महिलाको नेतृत्व विकासमा पनि योगदान गर्न थालेपछि हामी सबै प्रसन्न छौँ।’

वडाध्यक्ष चक्रबहादुर खड्काले बरघरले गाउँमै विवादको छिनोफानो गर्दा वडा कार्यालयमा विवादको थोरै घटना आउने गरेकाले अन्य विकास निर्माणलगायत काममा लाग्न सहज भएको बताए। विकासका कार्य सुरु गर्नुअघि बरघरको सल्लाह लिने गरिएकाले कार्य गर्नमा निकै सहजता हुँदै आएको उनको भनाइ छ।

थारु समुदायमा प्रचलित बरघर प्रथालाई जीवन्त राख्नका लागि नगरपालिकाले ऐन बनाएर लागू गरेको चर्चा गर्दै उनले ऐन कार्यान्वयनका लागि कार्यविधि नबनाइँदा कार्यान्वयनमा ल्याउन नसकिएकाले यसका लागि पहल गरिने बताए। रासस

प्रकाशित: २७ कार्तिक २०८१ २०:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast