काठमाडौँ- आईसीसी यू-१९ महिला विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत आज (मंगलबार) नेपाल र कुवेत भिड्दैछन्।
संयुक्त अरब इमिरेट्स (यूएई)को अजमानस्थित दी सेभेन स्टेडियममा हुने खेल स्थानीय समय अनुसार बिहान साढे ९ बजे सुरु हुनेछ।
नेपालले कुवेतविरुद्वको पहिलो खेलमा १ सय ८ रनको फराकिलो जित निकालेको थियो। नेपाल आजको खेलमा पनि सोही नतिजा दोहोर्याउने योजनामा हुनेछ। यो पछि नेपालले घरेलु टोली यूएईसँग भिड्नुपर्ने छ। यसअघिको खेलमा भने यूएईसँग नेपाल पराजित बन्यो। विश्वकपमा पुग्न यो खेलमा विजेता हुन आवश्यक छ। तर हालसम्म यूएई अंकतालिकामा अगाडि छ।
चार टोली सहभागी छनोटमा हरेक टोलीले ६ खेल खेल्नेछन्। डबल लिग फम्र्याटमा हुने लिगपछि शीर्ष स्थानमा रहने टोलीले सन् २०२५ मा मलेसियामा हुने आईसीसी यू१९ विश्वकपमा स्थान बनाउनेछन्।
एसिया क्षेत्र छनोटको शीर्ष स्थानमा रहने टोलीले अस्ट्रेलिया, बंगलादेश र स्कटल्यान्ड रहेको समूह डीमा स्थान बनाउनेछ। यू-१९ विश्वकप जनवरी १८ देखि फेब्रअरी २ सम्म मलेसियामा हुनेछ।