 
                             
                                            झापा- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अंग्रेजी शिक्षकसामु मातृभाषाका साथै बद्लिदो परिवेशका कारण अंग्रेजी पनि सिक्नुपर्ने अवस्था आएको बताएका छन्।
आज झापाको दमकमा नेपाल अंग्रेजी भाषा शिक्षक संघ (नेल्टा) को कोशी प्रदेश सम्मेलन तथा विचार गोष्ठीको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले हरेक सामुदायिक विद्यालयले मातृभाषाका साथै विद्यार्थीलाई न्यूनतम रूपमा अंग्रेजी भाषामा बोलीचाली गर्नसक्ने गरी क्षमता वृद्धि गराउनुपर्ने बताए।
आफ्नो विद्यालय तहको पढाइ स्मरण गर्दै मुख्यमन्त्री कार्कीले भने, ‘हामी विद्यालय पढ्ने बेला कक्षा पाँचमा मात्रै अंग्रेजी अक्षर चिनेको थिएँ। अहिले समय बदलिएको छ। अंग्रेजी भाषाले अन्तर्राष्ट्रिय मान्यता पाएसँगै विश्वको जुनसुकै ठाउँमा पुगे पनि सञ्चार गर्न सकिन्छ। नेपाली शिक्षा, रोजगारीलगायत कारणले विभिन्न मुलुक जाने गरेका छौँ, तसर्थ अंग्रेजी सिक्नु आवश्यक जस्तै बनेको छ।’
नेल्टा कोशी प्रदेश समितिका अध्यक्ष गुणराज नेपालको अध्यक्षतामा भएको उद्घाटनमा नेल्टाका पूर्वराष्ट्रिय अध्यक्ष एवं प्राध्यापक डा.गोविन्दराज भट्टराई, काठमाडौँ विश्वविद्यालय शिक्षा सङ्कायका डिन प्रा.डा.बालचन्द्र लुइँटेल, नेल्टाका केन्द्रीय अध्यक्ष प्रा.डा.लक्ष्मण ज्ञवाली, अमेरिकी दूतावासको क्षेत्रीय अंग्रेजी भाषा विभागप्रमुख रोजरअफ कोहेन, युकेबाट फोनेक्स केनी, नेल्टाका पूर्वअध्यक्ष सहप्राध्यापक मोतिकला सुब्बा, काठमाडौँ विश्वविद्यालयका सहप्राध्यापक हेमन्तराज दाहाललगायत व्यक्तित्वको उपस्थिति थियो।
आइतबारसम्म सञ्चालन हुने उक्त गोष्ठीमा कोसी प्रदेशका विभिन्न विद्यालयका, क्याम्पसलगायत शिक्षण संस्थाका अंग्रेजी विषयका शिक्षक गरी करिब पाँच सय सहभागी भएका आयोजकले जनाएको छ।
स्थानीय सिदार्थ बोर्डिङ स्कूलमा सुरु भएको शैक्षिक क्षेत्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषय विज्ञहरूबीच बहस र अन्तरक्रियासहितकको यस किसिमको गोष्ठी झापामा पहिलो पटक भएको आयोजकको भनाइ छ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 