नोस्टाल्जियामा घिरौँला चिन्तन

राजाराम बर्तौला २४ कार्तिक २०८१ १०:५३
124
SHARES
नोस्टाल्जियामा घिरौँला चिन्तन

भदौ आधाउँधी सकिँदासम्म पनि काठमाडौँमा मनसुनी झरी थामिने सुरसार गरेकै थिएन। अघिल्लो दिन भेट्न आउँछु भनेर आफैँले फोन गरेर समय लिएपछि पानी प¥यो भनेर रोकिएर बस्नु पनि उचित थिएन। भिजेरै भए पनि भेट्न जान्छु भन्ने निश्चय गरेँ र दुईपांग्रे टुकटुके चढेर कलंकी हान्निएँ।

कलंकीको मोड काटेर अलिकति उत्तर ओरालो लागेपछि मकालु पेट्रोलपम्प आउँछ त्यसको नजिकै मेरो घर छ भन्नुभएको थियो मेरा पूर्वहाकिमले। त्यहाँ पुगेर आफू आएको र पम्पको नजिकै रहेको जानकारी दिएँ। उहाँ आफैँ लिन बाटोसम्म आउनुभयो। उहाँ अर्थात् लेखक, साहित्यकार, पूर्वपेसागत कूटनीतिज्ञ तथा बंंगलादेशका लागि नेपाली पूर्वराजदूत हरिकुमार श्रेष्ठ।

बोली, वचन र व्यवहारमा नम्र र शिष्ट हुनुहुन्छ त्यो थाहा थियो। तर यत्ति डाउन टु अर्थ हुनुहोला भन्ने मैले सोचेको थिइनँ। हुन त उहाँ मेरो हाकिम भए पनि सँगै बसेर सहयोगी भएर काम गरेको थिइनँ। उहाँलाई भेट्न जानुको उद्देश्य पनि उहाँको भन्दा बढी मेरै स्वार्थ थियो- भर्खरै प्रकाशित कृति ‘देश-देशान्तर’ हातमा थमाउनु।

बेलाबखत उहाँले सामाजिक सञ्जाल फेसबुकमा घिरौँलाको तस्बिर राखेर घिरौँला चिन्तन गर्नुहुन्छ। त्यस्तै मेरा अर्का हाकिम हुनुहुन्छ – मधुवन पौडेल। उहाँचाहिँ विभिन्न प्रजातिका रङ संयोजन गरेर पुष्प चिन्तन गर्नुहुन्छ। हुनचाहिँ दुवै चिन्तशील हुन्। जीवनलाई आफ्नै परिधिबाट विभिन्न आयाममा नाप्ने यी चिन्तनशील प्राणीहरू खासमा भौतिकवादी नश्लका भोगवादी चिन्तक हुन्। एउटाले जीवनको रङ पुष्पहारमा देख्दछ भने अर्को घिरौँलाभित्रको जालीले जेलिएको दर्शन जस्तो। दुवैका चिन्तनका आकार र सार गहन देखिन्छ। त्यो सादृश्यता उनीहरूको साहित्य लेखनमा प्रस्फुटित भएको पनि देखिन्छ।

यति सरल जीवन चलेको होला यी हरिप्रिय हरिको भन्ने सोचेको थिइनँ। घिरौँला चिन्तनको पहिलो दर्शन सडकबाट सानो गल्ली छिर्नेबित्तिकै भएको थियो। झनै घरमा प्रवेश गरेपछिको सादगी र स्वागतले त खत्रक्कै परेँ म। नोस्टालजियाका सह-लेखक श्रीमती शकुन्तला (लेखकले नै स्वीकार गरेको) फलफूलहरूको मिठो फ्रुट सलाद र चियाले स्वागत गर्नुभयो। मिठासयुक्त फलफूलको रसले फुर्किएर भन्दा पनि लेखकले दिनुभएको पुस्तक नोस्टाज्लियाको रसमा डुबुल्की मारेर यो लेख लैख्दै छु।

पुस्तक समीक्षा गर्नु मेरो क्षमताको कुरो पनि हैन। समालोचना त झन् हुँदै होइन। त्यसैले यो पुस्तक समीक्षाभन्दा पनि पाठक प्रतिक्रियाभन्दा ठिक हुनेछ। पुस्तक पढेर आएका मनोभावलाई व्यक्त गर्ते दुस्साहस गरेको छु।

लेखकको यो कृतिभन्दा अगाडिका दुईवटा कृति पढ््ने सौभाग्य पनि मिलेको थियो। ‘मितेरी एक्सप्रेस’ नामक पुस्तक परराष्ट्र मन्त्रालयको सभाकक्षमा लोकार्पण हुँदा प्रसिद्ध नियात्राकार बेलायततिर बरालिँदाका लेखक तारानाथ शर्माले गर्नुभएको पुस्तक समीक्षा पनि सुनेको थिएँ।

लेखकको यो तेस्रो कृति नोस्टालजिया २०७८ पुसमा प्रकाशित भए पनि यसलाई पढ्ने सौभाग्य भर्खरै मिल्यो। नोस्टालजिया मूलतः नियात्रा संग्रह नै हो र पनि यसलाई यात्रा सस्मरण वा यात्रा निबन्ध भनेर भन्न पनि सकिन्छ। आखिर जे नाम दिए पनि के फरक पर्दछ र गुलाफलाई; ऊ फूलै हो फुलिदिन्छ। यो पनि त्यस्तै कृति हो सुवासित।

कृतिको शीर्षकको भाषा अंग्रेजीमा देखेर केही असहज लागे पनि यस किसिमको लेखन क्रिया सामान्य हुँदै गइरहेको छ। भाषालाई संश्लेषणत्मक गर्ने कुरामा यसको बनोटभन्दा पनि ग्राह्यतालाई प्राथमिकता दिनुपर्ने देखिन्छ। केही भाषाविज्ञहरूको विचारमा सम्भव भएसम्म नेपाली शब्द नै चयन गरिनुपर्दछ भन्ने मान्यता छ। जसलाई सीधै नकार्न त सकिन्न तर लेखकको भाव सम्प्रेषणलाई बिचैमा भाँजो हाल्न पनि पाइँदैन। जस्तै- नोस्टाल्जिक सामान्य रुपमा पनि प्रचलनमा आएको हुँदा यसले पाठकलाई भाव सम्प्रेषण गर्दछ।

पुस्तकमा समावेश २६ वटै शीर्षकमा व्यक्त भाव सरल, सहज र सम्प्रेषणीय भएको हुँदा लेखक आफ्नो विगतप्रति भावोत्तेजित भएको प्रस्टै देखन्छ। यसमा मनोगतभन्दा पनि दर्शनीय वस्तुहरूप्रतिको आकर्षण, त्यसको महत्त्व र मानवीय भावनाको यथार्थ पत्रहरूलाई सरल शब्द चयनले पर्गेल्ने प्रयत्न गरिएको छ। मायापिरतीको प्रशान्त महासागरमा डुबेको पनि प्रस्टै देखिन्छ। अनुभूत गरिन्छ।

लेखक मात्र हैन, पढ्दै जाँदा हामी पाठक लेखकसँगै बग्दै गएको पत्तै पाउँदैनौँ। त्यसलाई आत्मसात् गर्र्दर्छौँ। लेखकको सबैभन्दा बलियो पक्ष यही हो कि लेखकले व्यक्त गरेको अभिव्यक्ति सरल भाषामा लेखिएको छ र कतै वक्रोक्ति छैन। लेखकले पुस्तकका सहलेखिका सहधर्मिणी शकुन्तलालाई साथमा शिवले पार्वतीलाई लिएर हिँडेको जस्तो देखिन्छ। यस्तो लेखकीय क्षमता विरलैमा पाइन्छ।

स्थानीयता, जनजीविका र लोकभाका यस पुस्तकको चर्चा नगरिनहुने अर्को सशक्त पक्ष हो। स्थानीयताको झर्रो स्वाद पाइन्छ ससाना छन्द मिलेका वाक्यांशहरू पढेर। केही उदाहरणहरू यस्ता छन्-

‘मायासँग भेटभा’को आजै हो
मनको कुरा भन्नलाई लाजै भो।’

‘दिनदिनै चाइने जो सपनी देख्छु
देऊ न कलम चाइने जो मायाको नाम लेख्छु।’

‘घर त खैरेनी
हाँसे बोलेनी मन त रौइरनी।’

‘घर त दमौली
हामीसँग जान पाए रमौली।’

‘छानामाथि फूल फूल्यौ पयाँलै
लाइदिऊँ कि हितैको मायालाई।’

नोस्टाज्लियाभित्रका वाक्य संयोजनलाई मिठास दिने काम उपमा, बिम्ब, प्रतीक, टुक्का र भावोद्गारहरूले गरेका छन्। यस्ता उदाहरण प्रशस्तै छन्। खासमा भन्ने हो भने यसमा झर्राे नेपालीको खर्रो स्वाद पाइन्छ। यस पुस्तकभित्र प्रयुक्त केहि उदाहरण हेरौँ-

‘मन्दिर, मस्जिद, गिर्जाघर सबै मानिसले सिर्जेका हुन्। ती मान्छेको ईश्वरप्रतिको आस्था र विश्वासका प्रतीक हुन्। तर मन्दिर र मस्जिदकै कारण देशै विभाजन हुनुपर्दोरहेछ भन्ने जान्नलाई टाढा पुग्न पर्दैन। ढकाबाट मैत्री एक्सप्रेस चढेर भारतको पश्चिम बंगाल छिर्नासाथ त्यसको अनुभव भइहाल्छ।’

‘नवयौवना मगर्नी केटीहरू लुंगी माथिसम्म सारेर पानीमा सर्र जाल हान्दै जब हाम्रो नजिक आउँथे, त्यसबेला जिउमा करेन्ट लागेजस्तो हुन्थ्यो। भर्खर हलक्क भएका किशोरीहरूको सुडौल पहेँला तिघ्रा त्यति नजिकबाट मैले कहिल्यै देखेको थिइनँ। त्यो दृश्य मलाई महाभारतमा वर्णित मत्स्यगन्धाको जस्तै लाग्यो।’

‘काठमाडौँमा मेलम्ची आए सरह’

‘कोलम्बसले अमेरिका पत्ता लगाए सरह’

‘जोगीदेखि भैँसी तर्से झैँ अनि भैँसीदेखि जोगी डराए झैँ।’

‘स्वर्गको कुरा र गर्वको कुरा दैवले जान्दछ।’

‘सोम शर्माको सातुजस्तै।’

ज्स्तो एरोफ्लोतको हविगत थियो उस्तै सोभियत संघको।’

‘रसियनहरू लाइनमै जन्मिन्छन्, लाइनमै हुर्किन्छन् र लाइनमै मर्छन्।’

‘बिमा कम्पनीबाट क्षतिपूर्ति पाउनु र जुम्राको बोसो निकाल्नु उस्तै हो।’

‘लन्डनको यती हाउस र हिमालको यती भनेको उस्तै उस्तै हो।’

‘बास्ना र गन्धमा त्यतिकै झिनो अन्तर हुँदो रहेछ जति शत्रुता र मित्रता अनि जीवन र मृत्युबीच हुन्छ।’

‘कलकत्ता गयो बेपत्ता भयो, दिल्ली गयो सिल्ली भयो।’

‘बर्मा गए पनि कर्मसँगै।’

नेस्टाल्जियाभित्र उल्लेखित ‘इटालिइन कट’ र ‘भित्तालियन कट’ को किस्सा परराष्ट्रमा खुबै चल्छ। यसको मर्म पनि छ। यो लेखक स्वयम् बेइजिङमा काम गर्दा एकजना नेपाली राजदूत फुटपाथमा बसेर कपाल काट्ने गरेका रहेछन्। त्यो देखेका स्थानीय कर्मचारी हामीलाई तिमीहरू पनि भुइँमा बसेर कपाल नकाट भनेर सम्झाउँथे।

सामाजिक सञ्जालमा घिरौँला पोस्ट गरेर घिरौँला चिन्तन गर्ने लेखकले नोस्टालजियाभित्र पनि घिरौँला चिन्तन गर्नुभएको छ। खासमा यो पुस्तकको नाम नोस्टाल्जियामा अल्झिँदा ‘घिरौला चिन्तन’ मा घुमिन्छ। जसरी घिरौँलाभित्रको जालो जेलिएको हुन्छ यो संसार पनि त्यसैगरी जेलिएको छ- न टुप्पो न फेद फेला पर्ने।

यो पुस्तक नपढेको भए एउटा गतिलो चिन्तकको साहित्यिक कृति पठनबाट वञ्चित भइने रहेछ। हरिकुमार सर र शिष्ट शाशीन म्याडमको स्वागतसत्कारबाट तृप्त भएर पानीमा रुज्दै घर आएँ। २८६ पृष्ठको पुस्तक पढ्न दिनको ३ घण्टाको दरले दुई दिन लगाएँ। पुस्तक समाएपछि छोड्न मन लाग्दैन। नियात्रा साहित्यमा थप एउटा कृतिको अमूल्य योगदान भएको छ भन्ने मेरो ठहर छ।

प्रकाशित: २४ कार्तिक २०८१ १०:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast