पोखरा अन्तर्राष्ट्रिय विमानस्थल : आन्तरिक र चार्टर्ड उडानमै सीमित

विजय नेपाल २२ कार्तिक २०८१ २१:०१
68
SHARES
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल : आन्तरिक र चार्टर्ड उडानमै सीमित पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ राजदूतावास, नेपाल पर्यटन बोर्ड र हिमालयन टुरिजम फोरम पोखराको संयुक्त आयोजनामा यही कात्तिक २४ गते हुन लागेको तेस्रो पोखरा अन्तर्राष्ट्रिय क्रस कन्ट्री दौड प्रतियोगितामा सहभागी हुन चीनको कुनमिङबाट विमान चाटर्ड गरी आएका चिनियाँ खेलाडी पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा। तस्बिर : रासस

पोखरा- पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा डेढ वर्षपछि बल्ल अन्तर्राष्ट्रिय उडान भएको छ। सिचुवान एयरलाइन्सको न्यारोबडी एयरबस-३१९ बिहीबार दोस्रोपटक ल्यान्ड भएको हो। चार्टर्ड उडानमार्फत सिचुवानको न्यारोबडी एयरबस-३१९ पोखरा विमानस्थलमा दिउँसो २ बजेर ४० मिनेटमा अवतरण भएको थियो।

पोखरामा शनिबार हुने तेस्रो संस्करणको क्रस कन्ट्री दौडमा भाग लिने चिनियाँ खेलाडी, प्रतिनिधि र पाहुनासहित १ सय २० जना बोकेर सिचुवानको जहाज आएको छ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी जसुदा सुवेदीका अनुसार जहाज चीनको कुनमिङ विमानस्थलबाट चार्टर्ड उडान भरेर आइपुगेको हो।

सो जहाज करिब २ घण्टा पोखरा विमानस्थलमै रहेको थियो भने त्यसपछि ४ बजेर १० मिनेटमा काठमाडौँका लागि उडेको थियो। यात्रु लिएर आएको सो विमान काठमाडौँ फर्किँदा भने रित्तै फर्कियो।

पोखरा आएका खेलाडी, खेल प्राविधिक तथा खेल पदाधिकारी फर्किँदा भने काठमाडौँ हुँदै फर्किनेछन्। पोखराबाट काठमाडौँसम्म यातायात व्यवस्था अन्तर्राष्ट्रिय क्रस कन्ट्री दौड प्रतियोगिताको आयोजक हिमालयन टुरिजम फोरम अध्यक्ष विश्वशंकर पालिखेले जानकारी दिए। पोखरा बसाइँका क्रममा आइतबार चिनियाँ पर्यटकले पोखराको अवलोकन भ्रमण गर्ने कार्यतालिका रहेको प्रतियोगिताका मिडिया संयोजक प्रतीकराज पहारीले जानकारी दिए।

पोखरा विमानस्थलमा गत ६ असारमा चीनको सिचुवान एयरलाइन्सको एयरबस-३१९ अवतरण भएयता कुनै पनि अन्तर्राष्ट्रिय उडान भएका थिएनन्।

१७ पुस २०७९ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विमानस्थल उद्घाटन गरेका थिए। आन्तरिक उडानमै सीमित भएकोमा गत वर्ष २३ भदौको बिहान यहाँ व्यावसायिक अन्तर्राष्ट्रिय उडान भएको थियो। विमानस्थल सञ्चालनको करिब ८ महिनापछि उक्त दिन भुटानको ड्रुक एयर भुटानको पारोबाट यात्रु लिन पोखरा आएको थियो।

भुटानबाट चार्टर्ड भएर बिहान ५ बजेर ५५ मिनेटमा ३ यात्रु लिएर उडेको १ सय ५० सिट क्षमताको उक्त विमान बिहान ६ बजेर ४० मिनेटमा पोखरामा अवतरण भएको थियो। उक्त जहाज १ घण्टापछि ४२ यात्रु लिएर फर्किएको थियो। विमानले यहाँ तिर्नुपर्ने रकम तिरेकाले यसैलाई पहिलो व्यावसायिक उडान मानिएको थियो।

पोखरा आएका यात्रुमा नेपाली, अमेरिकी र भियतनामका एक-एक जना थिए भने पोखराबाट जहाज चढ्ने ४२ यात्रु अमेरिकी, भारतीय र क्यानेडियन पर्यटक थिए। नेपाल नागरिक उड्डयन प्राधिकरणको नियमअनुसार उक्त एयरले प्रतियात्रु ३ हजार रुपैयाँ र ग्राउन्ड ह्याडलिङ शुल्क तिरेको थियो।

यो विमानस्थलमा होल्डिङ गर्नु पनि नपर्ने, यात्रुलाई पनि सुविधा हुने गरेकाले विभिन्न अन्तर्राष्ट्रिय एयरलाइन्स कम्पनीसँग छोटो दुरीका हवाई उडान गर्नुपर्नेमा जोड सर्वत्र उठेको थियो।

त्यसअघि ६ असारमा चीनको सिचुवान एयरलाइन्सको एयरबस-३१९ अवतरण भएको थियो। यो नै पहिलो अन्तर्राष्ट्रिय उडान हो। त्यसबेला विमानस्थलमा भव्य समारोह आयोजना गरिएको थियो।

पोखरा आइपुगेको सिचुवान एयरलाइन्सको जहाज। तस्बिर सौजन्यः राधिका कँडेल

छेङ्दु तियान्फु विमानस्थलबाट नेपालको राष्ट्रियसभाका तत्कालीन अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित चीनबाट केही नेपाली र ड्रागन बोट रेस फेस्टिभलका खेलाडी बोकेर जहाज आएको थियो। त्यसबेला ८० यात्रु आएका थिए।

२२ कात्तिकमा चिनियाँ जनमुक्ति सेनाका दुईवटा कार्गो विमान पोखरा ओर्लिएको थियो। छेन्दुबाट राहत सामग्री लिएर उक्त विमान पोखरा आएको थियो। त्यसको १५ दिनभित्रै ७ मंसिरमा हिमालयन एयरलाइन्सको चार्टर्ड विमान आयो। पोखरामा आयोजित माउन्टेन क्रस कन्ट्री कम्पिटिसनमा भाग लिन चिनियाँ खेलाडी हिमालयन एयरलाइन्सको चार्टर्ड विमानमा पोखरा आएका थिए।

विमानस्थल प्रवक्ता सुवेदीका अनुसार हालसम्म पोखरा विमानस्थलमा योसहित ८ वटा अन्तर्राष्ट्रिय जहाज उडान र अवतरण भएका छन्। आन्तरिकतर्फ विमानस्थलबाट हाल बुद्ध, यती र श्री एयरलायन्सले मात्र सेवा दिइरहेका छन्। पोखराबाट हाल काठमाडौँ, भरतपुर र भैरहवामा उडान हुने गरेको छ।

पोखराको पुरानो विमानस्थलबाट जोमजोम उडान हुन्छ। यसअघि नेपालगन्ज र सिमरासमेत उडान हुने गरेकोमा अहिले दुवै ठाउँमा यात्रु नपाउँदा उडान हुन सकेको छैन। अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि भने रात्रिकालीन उडानले फाइदा पुगेको यात्रु बताउँछन्।

पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले यहाँ अन्तर्राष्ट्रिय उडान सम्भव छ भन्ने उदाहरण पटक-पटक पुष्टि भएको बताए। त्यसैले नियमित उडान हुनुपर्ने उनको माग छ। होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले बिहीबारको चार्टर्ड फ्लाइटले आफूहरु उत्साहित भएको बताए। यसरी नियमित उडान सके पोखरा र यस क्षेत्रको पर्यटन प्रवद्र्धननमा टेवा मिल्ने बताए।

कति भयो आम्दानी?

विमानस्थलको अभिलेखअनुसार सन् २०२३ मा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ लाख ८ हजार जना यात्रुले हवाई सेवा लिएका छन्। यस्तै आर्थिक वर्ष २०८०/०८१ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले ४० करोड रुपैयाँ आम्दानी गरेको छ। विमानस्थल प्रवक्ता सुवेदीले गएको वर्ष विमानस्थलले उक्त रकम कमाएको बताइन्।

उनका अनुसार विमानस्थलले एरोनोटिकल तथा नन-एरोनोटिकल रिभिन्यु (राजस्व) बाट आम्दानी लिन्छ भने विमानस्थल दस्तुर नियमावलीअनुसार ल्याण्डिङ, पार्किङबाट आम्दानी हुन्छ। घरबहालबाट पनि आम्दानी हुन्छ।

सरकारले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवालाई विशेष सहुलियत दिने निर्णय लिएको छ। अन्तर्राष्ट्रिय उडान भए पनि खासै आम्दानी नहुने सुवेदी बताउँछिन्। उनले भनिन्, ‘सरकारले ल्यान्डिङ, पार्किङमा छुट गरेकोले अन्तर्राष्ट्रिय उडान भए पनि तत्काल हामीलाई खासै फाइदा हुँदैन।

यात्रु करबाट मात्र आउने हो। अरू केही पनि आउँदैन।’ अन्तर्राष्ट्रिय उडानमा विमानस्थलले प्रतियात्रुबाट ३ हजार रुपैयाँ आम्दानी गर्ने प्रवक्ता सुवेदीले बताइन्। जुन रकम जहाजको टिकटमै जोडिएको हुन्छ। आन्तरिकसँगै ३ वटा अन्तर्राष्ट्रिय फ्लाइट नियमित गर्न सके वर्षमा १ अर्ब रुपैयाँ हाराहारी कमाइ हुन सक्ने विमानस्थलका अधिकारीहरू बताउँछन्।

प्रकाशित: २२ कार्तिक २०८१ २१:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast