इरानमाथि शनिबार सबेरै भएको इजरायली आक्रमणपछि खाडी क्षेत्र नयाँ तथा भयानक अवस्थातिर धकेलिएको छ। धेरै समयपछि इरानी भूमिमा यत्तिको ठूलो आक्रमण भएको हो। आक्रमण इरानलाई तर्साउन गरिएको भनिए पनि यसले खाडीमा नयाँ परिस्थितिको सिर्जना गर्ने आकलन गरिँदैछ।
अक्टोबर १ मा इरानले इजरायलतर्फ १८० भन्दा बढी क्षेप्यास्त्र प्रहार गरेको थियो। इजरायलले अहिले आएर त्यसको जवाफ दिएको छ। पछिल्लो समय दुवै पक्षले एकअर्कामाथि फरकफरक किसिमले आक्रमण गर्ने क्रम चलाइरहेका छन्।
इजरायलले सेप्टेम्बर अन्तिम साता लेबनानी राजधानी बेरुतमा हिजबुल्लाहका शक्तिशाली नेता हसन नसरुल्लालाई मारेको थियो। उनलाई मार्न गरिएको आक्रमणमा इरानको रेभ्युलस्नरी गार्डका उपप्रमुख ब्रिगेडियर जनरल अब्बास निलफोरेसनको पनि ज्यान गएको थियो।
नसरुल्लाहसँगै आफ्ना कमान्डर पनि मारिएपछि बदला लिन इरानले क्षेप्यास्त्र प्रहार गरेको थियो। अक्टोबर १ को त्यो आक्रमणको जवाफ दिन इजरायलले यसपालि आफ्नो पूर्ण शक्ति लगाएको बताइँदैछ। कैयौँ घण्टासम्म चलेको आक्रमणमा एक दर्जनभन्दा बढी युद्धक विमान प्रयोग भएको अमेरिकी अखबार द वाल स्ट्रिट जर्नलले लेखेको छ।
इजरायली आक्रमणको केन्द्रविन्दु क्षेप्यास्त्र निर्माणस्थललाई बनाइएको छ। आक्रमण यस्तो स्थानमा गरिएको छ, जहाँ देशबाहिरबाट हुने क्षेप्यास्त्र आक्रमण रोक्न ‘एन्टी मिसाइल डिफेन्सिभ सिस्टम’ राखिएका थिए। इरानका तीन प्रान्त इजरायली आक्रमणको सिकार भएको र चार सैनिकले ज्यान गुमाएको खबर छ।
केही दिनदेखि खाडी तथा पश्चिमी जगत्का सञ्चारमाध्यममा इजरायलले इरानी आणविक पूर्वाधार र तेलखानीलक्षित आक्रमण गर्न लागेको हल्ला चलिरहेको थियो। यही डरबीच अमेरिकाले इजरायललाई त्यसो नगर्न चेतावनी दिइरहेको थियो। तर इजरायलको पछिल्लो आक्रमणको केन्द्रमा रूसमा बनेका क्षेप्यास्त्र रक्षात्मक प्रणाली रह्यो। एस-३०० नाम गरेको यो प्रणालीको काम शत्रुबाट हुने क्षेप्यास्त्र आक्रमणलाई विफल तुल्याउनु हो।
इरानमाथि आक्रमण गर्न लागेको खबर इजरायलले अमेरिकालाई ६ घण्टाअघि दिएको वाल स्ट्रिट जर्नलले लेखेको छ। इजरायलले अमेरिकालाई मात्र नभई इरानलाई नै पनि आक्रमणको अग्रिम जानकारी दिएको दाबी गरेको छ।
इजरायली आक्रमणले इरानमा केकति क्षति पुगेको छ, पर्याप्त जानकारी आएको छैन। इरानी सञ्चारमाध्यम र सरकारी अधिकारीहरूले क्षति न्यूनतम रहेको दाबी गरिरहेका छन्। उसो त तेहरानले क्षतिको पूर्ण जानकारी बाहिर नल्याउन प्रयास गर्ने नै छ। इरानले आक्रमणबारे जसरी प्रतिक्रिया दिएको छ, यसले इरान इजरायललाई तत्काल बलियो जवाफ दिन इच्छुक नरहेको अनुमान विश्लेषकहरू गरिरहेका छन्।
‘यसरी हेर्दा इजरायलले सम्भावित प्रत्याक्रमणको हिसाबकिताब गरेर इरानमाथि आक्रमण गरेको देखिन्छ। मलाई लाग्दैन कि इरानले यसको जवाफ तत्काल र खतरनाक तरिकाले दिन्छ,’ अमेरिकी थिंकट्याङ्क चाथम हाउसमा मध्यपूर्वबारे विश्लेषण गर्ने सनम वकिलले भनेकी छन्।
इजरायली आक्रमणको जवाफ इरानले तत्काल नदेला भन्ने आस गरिए पनि इरानमाथि दबाब भने बढेको छ। इजरायलको लगातारको आक्रमणले लेबनानमा आफ्नो गठबन्धनको सदस्य हेज्बुल्लाह कमजोर भएका कारण पनि इरानले दबाब महसुस गरिरहेको हो। ‘मध्यपूर्वमा फैलिएको इरानको प्रतिरोधात्मक गठबन्धन अहिले कमजोर बनेको छ। इजरायली आक्रमणका कारण इरानको क्षेत्रीय शक्ति कमजोर बनेको हो। यसले इरानमाथि पक्कै दबाब सिर्जना भएको छ,’ वकिल थप्छिन्।
इजरायलले आक्रमण गर्दैछ भन्ने सुइँको पाएका मध्यपूर्वका अन्य देशका अधिकारीहरूले इरानलाई सूचना दिएका थिए। इजरायली आक्रमणले उनीहरूलाई अचम्मित तुल्याएको छ। अचम्म तुल्याउनुको कारण हो इजरायली आक्रमणको निशाना। इरानी प्रतिरक्षा प्रणालीमाथि जसरी छानीछानी आक्रमण गरिएको छ, यसले इरानलाई क्रूद्ध बनाएको र यसको जवाफ इरानले दिने अनुमान ती अरबी अधिकारीहरूले गरेका छन्। यद्यपि इरानले उनीहरूलाई इजरायलमाथि तत्काल जवाफी आक्रमण नगर्ने बताएको छ।
इरानले जवाफी आक्रमण नगर्ने भने पनि यतिबेला खाडीका कूटनीतिज्ञहरू चिन्ता जाहेर गरिरहेका छन्, अबचाहिँ गाजा र लेबनानमा भइरहेको युद्ध साँच्चै ‘पर्सियन गल्फ’ तर्न सक्छ।
वाल स्ट्रिट जर्नलसँगको कुराकानीमा एक इजरायली सैन्य अधिकारीले इरानलाई सन्देश मात्र दिन खोजिएको दाबी गरेका छन्। ‘हामीले इरानलाई भविष्यमा हुनसक्ने भयानक युद्धको कारण नबन्नु भनेर सन्देश दिन चाहेका हौँ,’ ती अधिकारीको दाबी छ।
इरानको क्षेप्यास्त्र निर्माण पूर्वाधार र हवाई प्रतिरक्षा प्रणालीलाई इजरायलले किन निशानामा पार्यो? यसको जवाफ दिँदै एक इजरायली अधिकारीले भनेका छन्, ‘इजरायलले चाह्यो भने इरानको जुनसुकै स्थानमा आक्रमण गर्नसक्छ भन्ने सन्देश दिन।’
खाडीमा लामो समय इजरायल र इरान छद्मयुद्धमा लडे। अब भने यो युद्ध सतहमा देखिएको छ। यस वर्षमात्र दुई पटक एकअर्कामाथि आक्रमण गरिसकेका इजरायल र इरानबीचको द्वन्द्व क्षेत्रीय युद्धमा परिणत हुने स्थितिमा पुगेको छ।
इरानमाथि यस्तो बेला आक्रमण भएको छ जति बेला इजरायल, हमास र अमेरिकी वार्ताकारहरू कतारको दोहामा भेला हुँदैछन्। भेलाको उद्देश्य हो, गाजामा भइरहेको युद्ध रोक्ने। यही उद्देश्यसहित विगतमा धेरै पटक वार्ता भइसके, जसले केही परिणाम दिएका छैनन्। इजरायलको पछिल्लो आक्रमणले त गाजा युद्धलाई रोक्ने प्रयास झनै पछाडि धकेल्ने सम्भावना छ।
इजरायल र इरान गत अप्रिलमा पहिलो पटक प्रत्यक्ष आमनेसामने भएका थिए। त्यसबेला इरानले इजरायलतर्फ तीन सय क्षेप्यास्त्र र ड्रोन प्रहार गरेको थियो। उसो त इरानको यो आक्रमण इजरायलले दमास्कसमा इरानी कूटनीतिज्ञहरू झेला भएको भवनमाथि बम खसालेबापत थियो।
त्यसपछि दुवै पक्षबाट एकअर्कामाथि आक्रमण गर्ने क्रम चलिरहेको छ। इरानबाट प्रहार भएका तीन सय क्षेप्यास्त्र र ड्रोन आफ्नो भूमिमा आइपुगेपछि इजरायलले केही समयको अन्तरालमा जवाफ दियो। यद्यपि इजरायलको जवाफी आक्रमणले इरानलाई भड्काएन। तर तेहरानमा हमासका राजनीतिक नेतृत्वकर्ता इस्माइल हानियालाई मार्नेगरी इजरायलले आक्रमण गरेपछि भने इरान भड्कियो। हिज्बुल्लाका नेता नसरुल्लाहको हत्यापछि इरान जवाफी आक्रमण दिनैपर्ने स्थितिमा पुगेको थियो।
अक्टोबर पहिलो साता जवाफी आक्रमण गरेको इरानले इजरायललाई खासै क्षति पुर्याउन सकेन। इरानबाट प्रहार भएका अधिकांश क्षेप्यास्त्रलाई इजरायलले आकाशमै नष्ट गरिदिएको थियो। जति क्षेप्यास्त्र नष्ट भएनन्, तिनले इजरायली भूमिमा धेरै क्षति पुर्याउन पाएनन्। ठूलो क्षति नपुगे पनि इजरायल झस्किएको भने पक्कै हो। किनभने त्यसरी इजरायली भूमिमा झरेका इरानी क्षेप्यास्त्र मोसादको मुख्यालनजिकसम्म पुग्न सकेका थिए। त्यसबेला इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानले कडा जवाफी आक्रमणको सामना गर्नुपर्ने चेतावनी दिएका थिए।
खाडीमा ठूलो युद्धको सम्भावनाबारे जानकार रहेको अमेरिकी प्रशासनले इजरायललाई इरानको तेलखानी र प्रशोधन पूर्वाधारमाथि आक्रमण नगर्न सचेत गराउँदै आएको छ। यसो भए हालको परिस्थितिले ठूलो युद्धकोे आकार लिने अमेरिकी बुझाइ छ।
उसो त इजरायल र इरान दुवै पक्षतिर दुई देशबीच ठूलो युद्ध होस् भनेर चाहने तप्का छन्। तर इजरायलको पछिल्लो आक्रमणले त्यस्तो सम्भावनालाई बल नपुर्याउने भनाइ तेहरान विश्वविद्यालयका प्राध्यापक सादेग जिबाकलामको छ। ‘किनभने इजरायली आक्रमण धेरै घातक हुन सक्थ्यो तर आक्रमणको उद्देश्य इरानलाई कडा जवाफी दिन बाध्य बनाउने नियतले गरेको देखिँदैन,’ जिबमकलाम भन्छन्।
हुन त इरानी सरकार र नेतृत्वमा रहेकाहरू यतिबेला चर्को दबाबको सामना गरिरहेका छन्। इजरायलको लगातारको आक्रमणले खाडीमा इरानको इज्जतमा आँच पुगेको मत छ। इजरायली आक्रमणमा परी इरानबाहिर रहेको इरानी गठबन्धनका कैयौँ ठूला नेता मारिएका कारण पनि इरान कमजोर बनेको हो। हिजबुल्लाह र हमास लगभग नेतृत्वविहीन अवस्थामा छन्। यहीबेला इरान इजरायलसँग पूर्ण युद्धमा जान सक्दैन। फेरि इजरायल र इरान युद्धमा गए अमेरिका मिसिने पक्का छ।
‘इरानका लागि अन्योल सिर्जना भएको छ,’ बर्लिनमा रहेको सेन्टर फर मिडल इस्ट एन्ड ग्लोबल अर्डरका निर्देशक तथा शोधकर्ता अली फताउल्लाह निजाद भन्छन्।
उसो त इरानका नयाँ राष्ट्रपति मसुद पेजेसकियान कूटनीतिक तवरमा पश्चिमा जगत्सँगको सम्बन्ध सुधार गर्ने प्रयास गरिरहेका थिए। तर उनको प्रयासलाई इरानसम्म आइपुगेको युद्धको बाछिटाले असर पुर्याएको छ।
इरानका लागि मात्र होइन, इजरायलका लागि पनि युद्ध महँगो साबित हुनेछ। गाजा र लेबनानमा युद्ध नजितिसकेको इजरायलले इरानसँग पनि युद्ध सुरु गरे उसका लागि परिस्थिति भयावह बन्नसक्छ। एकै पटक तीनतिर युद्ध लड्न इजरायलसँग पर्याप्त सैनिक छैनन्। इजरायलसँग भएको सैनिक संख्या एक लाख ७० हजार हो। इजरायलसँग साढे चार लाख जगेडा सैनिक त छन्, तर तिनको परिचालन सहज छैन।
गत वर्ष इजरायलले गाजामा ६० हजार सैनिक परिचालन गरेको थियो। त्यसबेला गाजामा २० वटा ब्रिगेड खटाएको इजरायलले अहिले एक ब्रिगेडलाई मात्र त्यहाँ राखेको छ। युद्धमा तत्काल खटाउन सकिने सैनिकको संख्या भएको इजरायल क्षेत्रीय शत्रु तह लगाउन धेरैजसो वायुसेना र जासुसी संयन्त्रको भर गर्छ। हिज्बुल्हालाई तहसनहस बनाउने अभियानमा इजरायलले युद्धक विमान र जासुसी सूचनाको अधिकतम प्रयोग गरेको छ।
इरानले इजरायललाई उसकै सीमावरपर युद्धमा अल्झाएर राख्ने प्रयत्न गरेको हो। उसको प्रयत्नमा हमास र हिजबुल्लाह पहिलेबाटै प्रयोगमा आइरहेकै थिए। उसो त नजिकैको सिरियामा रहेका इरानसम्बद्ध लडाकुहरूको डर पनि इजरायललाई छँदै थियो। त्यसैकारण इजरायलले बेलाबेलामा सिरियामा समेत युद्धक विमानबाट आक्रमण गर्ने गरेको थियो। जसलाई युद्धभित्रको युद्ध भनिन्थ्यो।
अहिले आएर इजरायल र इरान आफूहरूबीचको युद्धको नियम परिवर्तन गर्नैपर्ने स्थितिमा पुगेका छन्। समयसमयमा हुने क्षेप्यास्त्र वा युद्धक विमानको आक्रमणले पूर्ण युद्धलाई निम्तो नदेओस् भन्ने चाहना दुवै पक्षको छ। यसरी हुने साना आक्रमणको ‘रिडिङ’ कुनै एक पक्षबाट गलत तरिकाले भयो भने आखिरमा खाडी नराम्रो युद्धमा फस्नेछ।
यो बीचमा इजरायलले आफ्नो क्षमता प्रदर्शन गरेको छ, इरानभित्र आफूले चाहेको स्थानमा बम झारेर। यस्तोमा इरानले इजरायललाई तह लगाउन सीधै क्षेप्यास्त्र प्रहार गर्न वा आफ्नो गठबन्धनका सदस्यहरूको उपयोग गर्नसक्छ। सम्भावना गठबन्धनका सदस्यहरूको उपयोगकै छ। उदाहरणका लागि यमनको हुथी समूह।
खाडीभर फैलिएको इरानी गठबन्धन पहिले जस्तो बलियो छैन। यसकारण इरानले प्रतिरक्षाका लागि भन्दै आणविक हतियार बनाउने अभियानलाई प्राथमिकतामा राख्ने डर अमेरिका र इजरायलको छ। इजरायलले जतिबेला मन लाग्यो त्यतिबेला आक्रमण गर्न थालेपछि उसलाई इरानले सवक सिकाउनुपर्छ भन्ने मत तेहरानमा बलियो बन्दै गइरहेको छ।
‘प्रतिरोध त हुनैपर्छ। यसको व्यवस्था इरानले गर्नुपर्छ ताकि इजरायलले फेरि आक्रमणको आँट नगरोस्। यसकारण इरानले जवाफी आक्रमण गर्न आवश्यक छ,’ तेहरान विश्वविद्यालयका प्राध्यापक मोहम्मद मारान्डी भन्छन्।