पुस्तक-चर्चा

क्रियाशील भाषाकै हुन्छ जीवन्त शब्दकोश

ध्रुवहरि अधिकारी १० कार्तिक २०८१ ७:१८
2
SHARE
क्रियाशील भाषाकै हुन्छ जीवन्त शब्दकोश

भाषाशास्त्री र भाषाविज्ञानमा कार्यरत विद्वान्-विदुषीहरूले ‘शब्द’ लाई चिनाउँदा यसलाई आवाज वा ध्वनिका रूपमा पनि अर्थ्याएको पाइन्छ। तर ‘शब्द’ भन्नासाथ हामी औसत प्रयोगकर्तालाई लिपिबद्ध लेखोटकै चित्र सामुन्ने आउँछ। अक्षरहरू मिलेर बनेका लामा-छोटा लवज नै सम्झिन्छौं। यिनै बोली-वचनहरूलाई अर्थसहित सङ्‌ग्रह गरी तयार पारिएको ग्रन्थलाई शब्दकोश मान्छौं। शिक्षक, पत्रकार र वकिल प्रयोगकर्ताहरूको पङ्तिमा अगाडि आउलान् तर नेपाली भाषा सबै देशवासीको साझा सम्पत्ति हो, सम्पर्कको माध्यम हो। विश्वभर छरिएर रहे-बसेका नेपाली र नेपालीमूलका नर-नारीको साझा बोली हो। नेपालको प्रचलित संविधानले यसलाई ‘सरकारी कामकाजको भाषा’ को दर्जा दिएको छ।

शब्दहरूको माध्यमद्वारा सूचना, जानकारीहरू जनसमक्ष लैजाने काममा लागेका पत्रकारहरूलाई अहोरात्र सही शब्दको आवश्यकता पर्छ। माध्यम अखबार, रेडियो, टेलिभिजन वा इन्टरनेटमा आधारित अन्लाइन पोर्टल जुन भए पनि सूचना-प्रवाह गर्न शब्दहरूको जरुरतमा हुन्छन्। दैनिक कुराकानीका क्रममा आएका शब्दहरूबाटै कतिपय काम फत्ते हुन्छन् पनि; तर विस्तृत जानकारी र सन्दर्भको चर्चा कण्ठ भएका शब्द र तिनको अर्थले पर्याप्त हुँदैन। अर्को शब्दमा, जे प्राप्त छ त्यो नै पर्याप्त हुने होइन। भानुभक्तले रामायण रचना गर्दा प्रयोग गरेका शब्दहरूले आजको आवश्यकता टर्दैन; यसबीचमा प्रशस्त थपथाप भइसकेको छ। यसको खोजीनीति गर्नैपर्छ र शब्दको खोजी गरिने ग्रन्थ हो शब्दकोश। (‘कोष’ पनि भन्ने/लेख्ने चलन छ।)

पत्रकारितामा प्रवेश गरेयताका ४७ वर्षमा मैले केही शब्दकोश बटुलेर निजी सङ्‌ग्रहमा राखेको छु। ठूला आकारका शब्दकोश पुस्तकालयमा गएरै पनि हेर्ने गरियो। सही शब्द र समानार्थक (पर्यायवाची) शब्द खोज्न सधैं सजिलो हुँदैन। टेलिफोनको सुविधा उपलब्ध भएयता यस सन्दर्भमा विद्वान्, गुरुजनहरूलाई बेला-बखत दुःख दिने गरेको छु। यस प्रसङ्‌गमा झट्ट सम्झना हुने केही नाम हुन्  – प्राध्यापक माधवप्रसाद पोखरेल, शरच्चन्द्र वस्ती र चूडामणि गौतम। अङ्ग्रेजी लेख्दा, पढ्दा अलमल परेका बखत मैले प्राध्यापक अभि सुवेदीको मार्गदर्शन पछ्याउने गरेको छु। शरच्चन्द्र वस्ती र म कुनै बखत गोरखापत्रमा सँगसँगै काम गर्थ्यौं।

चूडामणि गौतम भाषा-व्याकरणको सन्दर्भमा परिचय गराइरहनुपर्ने नाम होइन। ‘मधुपर्क’ कात्तिक २०१८१ अङ्‌कमा जयदेव भट्टराईबाट ‘भाषिक आन्दोलनका योद्धा’ बारे अद्यावधिक चर्चा भएको छ। ८२ औं वर्षमा पुग्दाको उहाँको जाँगर रहरलाग्दो छ। थाक्नुभएको छैन, तसर्थ ‘अथक’ विशेषण जोडिदिए फरक नपर्ने देखिन्छ।

शब्दकोशहरूको मेरो सानो सङ्ग्रहमा हालै गौतमले सम्पादन गर्नुभएको ‘बृहत्तर नेपाली शब्दकोश’ थपिएको छ। यसबाट मलाई हिज्जे मिलाउन र अर्थ भिडाउने काम गर्न निकै सहज हुन थालेको छ। २०८१ साल असार ९ गते सर्वोच्च अदालतले गरेको भाषा विषयक फैसलापछि गौतम निकै उत्साही देखिएको कुरा मधुपर्कको लेखमा उल्लेख भएको छ।आफ्नो शब्दकोश अदालती फैसला अनुकूल भएकोले अब यो मानक हुन पुगेको उहाँको धारणा छ।

मेरो सङ्ग्रहमा भएका शब्दकोशमा रहेका केही अन्यमा यी पर्छन्ः- प्रा. नीलमणि ढुङ्‌गानाको ‘संस्कृत-नेपाली शब्दकोश’, ‘नेपाली बृहत् शब्दकोश’ (नेपाल प्रज्ञा-प्रतिष्ठान)। सूर्यविक्रम ज्ञवाली प्रधान सम्पादक रहेको नेराप्रकै ‘नेपाली संक्षिप्त शब्दकोश’ र वसन्तकुमार शर्म्मा ‘नेपाल’को सम्पादनमा छापिएको ‘नेपाली शब्दसागर’।

नेपाली-अङ्‌ग्रेजी शब्दकोशको उल्लेख गर्दा आर‍.एल्. टर्नरले सन् १९३१ मा छपाएको शब्दकोशको ऐतिहासिक महत्त्वहुने नै भयो जसको भूमिकामा टर्नरले धरणीधर शर्मा कोइरालाको योगदानको उच्च मूल्याङ्‌कन गरेका छन्। अङ्‌ग्रेजी-नेपाली शब्दकोशमा मैले नरेन्द्रमणि आचार्य दीक्षितले सम्पादन गरेको ‘साझा संक्षिप्त शब्दकोश’ र पारसमणि प्रधान र नगेन्द्रमणि प्रधानको सम्पादनमा दार्जीलिङ् (भारत) बाट प्रकाशित ‘द स्ट्याण्डर्ड डिक्स्‌नरी’ लाई उपयोगी पाएको छु। अङ्‌ग्रेजी लेखापढीका बेला उपयोगी हुने शब्दकोश हो अक्सफोर्ड डिक्स्‌नरी। सञ्चारगृहहरूले छापेका आ-आफ्ना शैली-पुस्तक र पुस्तिकाहरू त वरिपरि रहने नै भए।

यस प्रसङ्‌गमा, म भाषाको गतिशीलताबारेका दुइटा उद्‌गार उल्लेख गर्न चाहन्छु। पहिलो हो प्रा. बालकृष्ण पोखरेलको जो नेराप्रको शब्दकोश प्रकाशन हुँदा सम्पादक-मण्डलको ‘निर्देशक’ को भूमिकामा हुनुहुन्थ्योः- “नेपाली भाषा जीवित र विकासशील भाषा हो।” पोखरेलको यस कथनमा सम्भवतःअन्य कोशकारहरू नै सहमत हुनुहुन्छ।

यता, प्रयोगकर्ताहरूमध्ये शब्दकोशका बारे प्रोफेसर यदुनाथ खनालले दिएको विचारलाई मैले घतलाग्दो पाएको छु। ‘नेपाली शब्दसागर’ को सिरानमा भेटिने ‘दुई शब्द’ मा परेको उहाँको मन्तव्य यस्तो छः- ”कुनै कोषको एकलौटी अधिकारले भन्दा विभिन्न उपलब्ध कोषहरूको प्रतिस्पर्धाले नेपाली भाषाको वर्तमान असामान्य संक्रमण-समयमा यसलाई सही गति दिन सक्छ। पाठकको विवेकशक्तिलाई कुत्कुत्याएर क्रियाशील बनाउँछ। भाषा गतिशील वस्तु हो।” (वि.सं. २०५७ मङ्सिर।)

प्रचलित शब्द, नयाँ अर्थ

प्रोफेसर खनालले कतिपय अवस्थामा पुराना शब्दले पनि नयाँ अर्थ बोक्दै जान्छन् भनेर पनि लेख्नुभएको छ। यस क्रममा दिइएका एकाध उदाहरणमा ‘श्रीमती’ शब्द पनि पर्छ। वास्तवमा “श्रीमती शब्दमा पत्नीको सीमित अर्थ छैन तापनि यसले बिस्तारै सो अर्थ लिंदै गएको देखिन्छ।” बाक्लो प्रयोग र लगातारको अभ्यासमा परेका शब्दहरू छिटै समाजमा घुलमिल हुन्छन्।

अब फेरि लागौं विवेच्य ग्रन्थ ‘बृहत्तर नेपाली शब्दकोश’ तर्फ नै। चर्चा गौतमको सङ्‌कलनरसम्पादनमा तयार भएको र सम्पादक आफैंले प्रकाशित गरेको ‘बृहत्तर नेपाली शब्दकोश’ कै हो। यस ठेलीका दुई हजारभन्दा बढी पृष्ठमा करिब ८७ हजार प्रविष्टि परेका रहेछन्। थपमा उखान र टुक्काको खण्ड छ। गौतमले आफ्नै यसअघिका शब्दकोशहरूलाई उछिन्ने गरी यसलाई साँच्चिकै बृहत्तर बनाउनुभएको रहेछ। उहाँको परिश्रमबाट प्रज्ञा-प्रतिष्ठानको (सुरुदेखि नै विवादमा परेको) ‘बृहत्’ कोषलाई पछि पार्ने कलेवरको ग्रन्थ बन्न पुगेछ गौतमको यो प्रकाशन।

प्रज्ञाको बृहत् कोश र गौतमको बृहत्तर कोशमा पाइने प्रविष्टिहरूको तुलनात्मक चर्चा गर्नु असान्दर्भिक नहोला। यहाँ एउटा मात्र उदाहरणः ‘नक्षत्र’ शब्द। बृहत्तर कोशमा बृहत् कोशले परिभाषित गरेको ‘नक्षत्र’ लाई यथावत् उल्लेख गर्दै थप प्रविष्टिहरू समावेश गरेको छ। यस क्रममा बृहत्‌ले सहायक प्रविष्टिमा थान्को लगाएका केही जानकारीलाई बृहत्तरमा मूल प्रविष्टि बनाई तत्‌तत् बुँदाको अर्थ लगाएको भेटिन्छ।

जस्तो, बृहत् कोशमा २७ नक्षत्रको नाम किटान गर्नुका अतिरिक्त नक्षत्र पदका दुई अन्य अर्थ दिइएको छ। त्यसपछि सहायक प्रविष्टिका रूपमा नक्षत्रचक्र,नक्षत्रपति, नक्षत्रपथ, नक्षत्रमार्ग, नक्षत्रविद्या, नक्षत्रदिशा, नक्षत्रशूल र नक्षत्रीय पदहरू समेटिएका छन्। यसप्रकार नक्षत्र शब्दको चर्चा यत्तिमै टुङ्‌गिएको छ। त्यसपछिको प्रविष्टि नक्सलपन्थी/नक्सलवादी शब्दतिर पुगेको छ। यता, बृहत्तर कोशमा भने बृहत्‌का धेरैजसो सहायक प्रविष्टिलाई मूल प्रविष्टि तुल्याइएको छ र तिनलाई यथोचित अर्थ्याइएको छ। अनि केही प्रविष्टि थप गरिएको पाइन्छः-नक्षत्रनाथ, नक्षत्रपाठक, नक्षत्रमाला, नक्षत्रमालिनी र नक्षत्रसाधक। अनि मात्र आउँछन् नक्सलवाद/नक्सलवादीसम्बन्धी प्रविष्टिहरू।

हो, बृहत्‌को प्रथम संस्करण वि.सं. २०४० सालमा निस्केको र गौतमको बृहत्तर त्यसको ४० वर्षपछि निस्केको हो। त्यसैले यस अवधिमा प्रविष्टिहरू थपिनु स्वाभाविक हुन्छ। तर ‘नक्षत्र’ हालैका दशकमा बढेका जरुरतका आधारमा थपिएका नेपाली वा आगन्तुक शब्दहरूमा पर्दैन। अनि, नक्षत्रसम्बन्धी स्थापित सिद्धान्त र मान्यताहरू सानो कालखण्डमै फेरिने वा थपिने सम्भावना कमै हुन्छ। यस कोणबाट हेर्दा, बृहत् कोशमै आउनुपर्ने जानकारीहरू उतिखेरै छुट्न गएको मान्नुपर्ने हुन्छ। बृहत्तरका पाना पल्टाउँदा यस्ता दृष्टान्त बग्रेल्ती पाइन्छन्। र, वर्णविन्यासको परिप्रेक्ष्यमा लगभग ४० वर्षकै अवधिमा उत्पन्न भई चर्किएको विवादको गत असार ९ गतेको सर्वोच्च अदालतको फैसलाले समाधान गरिदिएको हुनाले बृहत्तर कोशको महत्त्व बढेको छ।

***

नेपाली भाषाको वर्णविन्यास र व्याकरणसम्बन्धी झमेलाको थालनी कहिले र कसरी भयो र त्यसको छिनोफानो त्यसको इतिवृत्त ‘रचना’ द्वैमासिकले भाषा विशेषाङ्क ९भदौ-असोज २०८१० निकालेर प्रस्तुत गरेको छ। कचिङ्‍गलको थालनी २०३५ सालदेखि भएको रहेछ, र २०४० सालमा नेपाली बृहत् कोशको प्रकाशनले त्यस विवादलाई संस्थागत गरेको हो भनेर निर्देशक पोखरेलउपर दोषारोपण गर्नेहरू देखिन्छन्। हुन पनि बालकृष्ण गुरुले नै परम्परागत रूपमा प्रयोगमा रहेको ‘शुरू’ लाई एकाएक ‘सुरु’ गरिदिनु भएछ। मोटो श पातलो हुनाको साथै ह्रस्व हुन पुगेछ। ‘शुरू’ ले पो ‘सुरु’ को सुरुसुरु पछि लाग्नुपर्ने अवस्था आएछ। अर्थात् लेख्नुपर्ने ‘सुरु’ हो तर कसै-कसैले ‘शुरू’ पनि लेख्छन् भन्ने ठहर दिनुभएछ। तर कुरो श ष स मा सीमित रहेन। झर्रोवादी आन्दोलनका एक अगुवा भएको हुनाले बालकृष्ण गुरुले आफ्ना मान्यतालाई कोशका कतिपय प्रविष्टिहरू मार्फत छिराउनुभयो यद्यपि ती प्रविष्टिलाई जनजिब्रोले ग्रहण गरिसकेको थिएन। पचाउने त कुरै भएन।

कालक्रममा प्रज्ञा-प्रतिष्ठानको लयमा त्रिभुवन विश्वविद्यालय,शिक्षा मन्त्रालय,पाठ्यक्रम विकास केन्द्र भाषामा सुधार गर्ने र त्यसलाई सरल बनाउने अभियानसँग जोडिन पुगे। श ष झिकेर पातलो स मात्र कायम गर्ने, वर्णमालाबाट अकारण अक्षरहरू घटाउने, इ ई र उ ऊ बाट दीर्घचाहिँ अक्षर नराख्ने ढाँचा समातियो र संयुक्त अक्षर (जोडे‍-मोडेका अक्षर) नलेखेर खुट्‌टा काट्ने जस्ता दुष्कार्यलाई तीव्रता दिइयो जसको नेतृत्व कहलिएका केही गुरुजनबाटै भयो। छँदाखाँदाको ‘बुद्धि’ लाई अशुद्ध घोषित गरी ‘बुद्‌धि’ लाई प्रामाणिक तुल्याउन खोजियो। विद्यालयलाई विरुप पारेर ‘विद्‌यालय’ हुनुपर्ने आदेश जारी भयो।

राष्ट्रपति विद्यादेवी भण्डारीले उप्रान्त आफूलाई ‘विद्‌यादेवी’ नगराईकन सुख नपाउने स्थिति देखाप‍र्‍यो। प्रगतिशील देखिन लालयित गुरुहरूको एक समूहले ‘क्रान्तिकारी’ पृष्ठभूमिका शिक्षामन्त्री दीनानाथ शर्मालाई समेत प्रभावित पार्‍यो र क्षेत्राधिकारमै नपर्ने निर्णय सदर गराउन सफल भयो। यसरी नेपाली भाषामा भाँडभैलो मच्चिने क्रम नरोकिएको देखेपछि बालकृष्ण गुरु आफैँ अग्रसर भएको देखियो; नेपाली भाषाका विशेषताहरू जोगाउने काममा लागेकाहरूलाई सघाउने चरणमा पुग्नुभयो जसको प्रमाण हो ‘नेपाली कसरी शुद्ध लेख्ने ?’ (ने क शु ले–२०६९)। पोखरेलको स्वीकारोक्ति छः- ”…मद्वारा शतप्रतिशत निर्देशित ‘नेपाली बृहत् शब्दकोश’ को यो पापको ‘ने क शु ले (२०६९) मार्फत मैले प्रायश्चित्त गरेको छु।” यसैगरी, ‘भाषामा अराजकता चल्दैन’ भन्ने शीर्षकमा २०७२ प्रकाशित लेखमा बालकृष्ण गुरु नै यसो भन्दै हुनुहुन्छः- नेपालीको लेख्य भेद वा स्तरीय भाषिकाले एक शताब्दीपछि अलिकति कोल्टे फेर्ला, दिनका दिन कोल्टे फेर्ने वा फेर्न लगाउने अनुमति कसैलाई छैन।’ भन्नु परोइन, यस्तो कोल्टे-फेराइ जनजिब्रोले निर्देश गरेबमोजिम् हुँदै जाने हो। अर्को शब्दमा, प्रयोगकर्ताहरू नै निर्णायक शक्ति हुन् जसरी लोकतन्त्रमा जनताको आदेश नै सर्वोपरि मानिन्छ, मतदाताको निर्णय शिरोपर गरिन्छ।

गुरुको ज्ञान

यथार्थ वस्तुस्थिति बोध भएपछि २०६९ साउन २२ गते टिप्पणी सदर गर्ने शिक्षामन्त्रीलाई पनि पछुतो भएको बुझिन्छ। परन्तु वर्णविन्यास गिजोल्ने उहाँको मन्त्रालयको कामलाई विधिवत् सच्याउने कहीं कतै पहल नभएको हुँदा २०७३ सालमा एकजना पत्रकार टपेन्द्र कार्की र एकजना वकिल स्वागत नेपालको पहलबाट मन्त्रिस्तरीय निर्णय बदर गरिपाऊँ भनेर सर्वोच्च अदालतमा रीट-निवेदन प‍र्‍यो । आठ वर्षपछि नै भए पनि, सर्वोच्च अदालतले निवदेकद्वयको माग स्वीकार गर्दै शिक्षामन्त्रीको निर्णय गएको असार ९ गते ‘उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ’ भन्ने फैसला गरिदियो। यसलाई सरोकारवाला सबैले सही र ऐतिहासिक निर्णय मानेका छन्।

अदालतको चर्चित फैसलाले विगतमा झाङ्‌गिएको विकृत-अभ्यासलाई अस्वीकृत गरिदिएको हुँदा ‘बृहत्तर’ शब्दकोशका सम्पादकले आफ्नो प्रयास कानूनतः अनुमोदित भएको अनुभव गर्नु स्वाभाविक हो। वास्तवमा,अब यो शब्दकोश पुस्तकालय र विद्यालयलगायतका सबै शिक्षण संस्थाहरूको पहुँचमा पुर्‍याउन सरकारी निकायहरूबाट अगुवाइ हुनुपर्छ। साथै, के शिक्षक, के पत्रकार, के वकिल र के प्रशासक समाजका सबै वर्गका सदस्यले यस कोशलाई आफ्ना कार्यकर्मसँग निरन्तर जोडिरहनु बुद्धिमानी हुन्छ। सही सन्देश सम्प्रेषण गर्न ठीक शब्दको चयन हुनु आवश्यक छ।

स्पष्टै छ ,अदालतको फैसला कार्यान्वयनमा गएपछि छिटै नै बृहत्तर कोशको अर्को संस्करणको छपाइ आवश्यक पर्ला। त्यसैले सम्पादक गौतमले कोशलाई परिष्कृत गर्ने र अद्यावधिक बनाउनेबारे बेलैमा ध्यान दिनु उचित हुनेछ। कतिपय ठाउँमा अधूरा,अपूरा पद एवं विवरण छन्, तिनलाई सार्थक तथा सान्दर्भिक तुल्याउनुपर्ने देखिन्छ। जस्तो, पृष्ठ १७४१ मा ‘विश्वबालकोष’ के हो भनेर चिनाउँदा विश्वभर परिचित भैसकेको शब्द ‘युनिसेफ’ लेख्न छुटाउनुभएको छ। त्यस्तै, ‘मसल’ शब्द अङ्ग्रेजी (Muscle) बाट आएको हो भनेर जनाउन बिर्सिनुभएको छ। खोजिपसे कमी-कमजोरीका अरू उदाहरण पनि भेटिएलान्। तिनलाई समयमै सच्याउने र शुद्ध गराउने कार्य सम्पादकको जिम्मेवारीमा पर्छ।

प्रकाशित: १० कार्तिक २०८१ ७:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − five =