अचेल तपाईँहामी सडकमा बिजुलीबाट चल्ने सवारीसाधन (ईभी) गुडेको देख्छौँ। नेपाली बजारमा विभिन्न कम्पनीका थरीथरीका बिजुली गाडी उपलब्ध छन्। साइकल, मोटरसाइकल, कार, माइक्रोबस, बस आदि। यसतर्फ मानिसको आकर्षण बढेकै छ। हामीले ईभीबारे फरकफरक बुझाइ सुनेका छौँ। यहाँ ईभीमा काठमाडौँदेखि पोखरासम्म यात्रा अनुभव समेटिएको छ।
मेरो यात्रा सोमबार (कात्तिक ५ गते) कलंकीचोकबाट ईभी माइक्रो बसमा सुरु भयो। मेरा लागि ईभीमा यात्रा बिल्कुलै नयाँ अनुभव थियो। वर्षौँदेखि डिजेल, पेट्रोलबाट चल्ने सवारीसाधनमा यात्रा गरेको मैले ईभीमा यात्रा गर्दा सहज, आरामदायी हुन्छ भन्ने सुनेको थिएँ। इनड्राइभले त लग्जरी गाडी बुक गराउँदा ईभी पठाउँछ। यसो हेर्दा आरामदायी पनि लाग्ने नि!
बिजुली गाडी ओरालो सडकमा स्वचालित रूपमा चार्ज हुने र उकालोमा चार्ज छिट्टै सकिन्छ भन्ने सुनेको थिएँ। म चढेको ईभी माइक्रोले यात्राका क्रममा ठाउँठाउँमा दुःख दियो अर्थात् चार्ज टिकेन। माइक्रो हेर्दा नयाँ थियो। चालक दाइ भन्दै थिए, ‘राति चार्ज गरेको हो। किन यस्तो भयो? चार्ज त टिक्नुपर्ने हो।’ पोखरा पुग्दासम्म माइक्रोमा चार्ज गरियो एकपटक तनहुँको बन्दीपुरमा। एक घण्टा चार्ज गर्दा पनि चालकले ‘फुल’ चार्ज भएन भने। फास्ट चार्जरले छोटो समयमा ‘फुल’ चार्ज हुन्छ भनिन्छ। सबै चार्जिङ स्टेसनमा फास्ट चार्जर हुन्छ र? बन्दीपुरमा एक घण्टा चार्ज गरेको शुल्क एक हजार पाँच सय रुपैयाँ तिरे। मलाई लाग्दै थियो जे बढी प्रचार हुन्छ त्यो बढी टिकाउ हुन्न। यो कथ्य ईभीमा सही रह्यो।
अपर्याप्त चार्जिङ स्टेसन
लामो दुरीका लागि ईभीमा यात्रा गर्दा सोच्नैपर्ने रहेछ। गन्तव्यमा पुगिन्छ पुगिन्न कुनै भर छैन। छिटो पुगिन्छ भनेर सोचेका बेला ढिला हुनसक्छ। ढिलो हुनसक्छ भनेर सोचेका बेला चाँडो। हामीकहाँ ईभीको संख्या बढे पनि चार्जिङ स्टेसन अपर्याप्त छन्। राजमार्गमा कहीँकतै मात्रै छन् चार्जिङ स्टेसन। सरकारीभन्दा निजीस्तरबाट चार्जिङ स्टेसन राखेको पाइयो। त्यसैले पनि ईभीमा यात्रा गर्दा तत्काल ब्याट्री सकियो भने पनि चार्जिङ स्टेसन पाउन मुस्किल छ। डिजेल-पेट्रोलका सवारीसाधनको विकल्प खोज्ने हो भने चार्जिङ स्टेसनमा ध्यान दिनैपर्छ। चालकका अनुसार ईभी माइक्रो ब्याट्री पाँचपाँच वर्षमा फेर्नुपर्छ। एकपटक फेर्दा १० देखि २५ लाख रुपैयाँसम्म खर्च हुन्छ।
पिच रोडमा मात्रै ईभी ठिक
ईभी सवारीसाधनबारे बजारमा हल्ला गरिएजस्तो राम्रो, साहज, आरामदायी, टिकाउ र भरपर्दो छैन। यसमा यात्रा गरेपछि मात्र थाहा हुन्छ। हुन त एसीवाला ईभी कारमा जस्तो सहज यात्रा ईभी माइक्रोमा नपाइएला। सबै नेपालीको पहुँचमा ईभीका लक्जरी साधन नहोला। लग्जरी साधन भएकाको पनि गुनासो सुनिएको छ। उनीहरूले बिक्री नहोला भनेर मात्र आफ्नो साधन नराम्रो नभनेको ती चालकको अनुभव रहेछ। ईभीबाट आफू आजित भएको गुनासो चालकहरूको छ। आमजनताले उपयोग गर्ने भनेको सामान्य माइक्रो बस हो।
त्यसो त नेपालमा राम्रा सडक छैनन्। भएका सबै सडक पिच छैनन्। पिच भएका पनि भत्किएका छन्। भत्किएपछि सडक समयमा बन्ने गरेको पाइँदैन। अनि कसरी ईभीमा यात्रा सहज हुन्छ? यात्रा सबैतिर यसै भइरहेको छ। काठमाडौँदेखि पोखरासम्मको सडक ठाउँठाउँमा भत्किएका, पुरिएका छन्। कालोपत्रे सडक कहीँकतै मात्र छन्। कालोपत्रे सडकमा ईभी उपयुक्त हो, कच्ची रोडमा काम छैन। यही कारण २०५ किलोमिटर सडक पार्न गर्न ईभीले झन्डै १० घण्टा लगायो।
शरीर थकित
म सवार ईभीको सिट पनि आरामदायी थिएन। सिटकै कारणले पनि समस्या आयो। कच्ची रोडमा ईभी कतिबेला पल्टिने हो टुंगो नहुने रहेछ। धन्न बाँचियो। डर पनि उस्तै भयो। पिङ खेलेको हो कि यात्रा गरेको हो छुट्याउनै मुस्किल। कच्ची रोडमा धेरै हल्लिँदो रहेछ। पोखरासम्मको यात्रामा पछाडिपट्टिको टायरमा झन्डै ८/१० पटकसम्म ठूलोठूलो आवाज आयो। मनमा चिसो पस्यो। ईभीमा यात्रा गर्दा बान्ता हुँदैन भनेर भ्रम छरिएको छ। झ्यालको आडैमा बस्ने एक महिलाले बान्ता गरिरहेकी थिइन्। उनले कहिल्यै बिजुली गाडीमा यात्रा नगर्नेसम्म बताइन्।
चालकको अनुभव
हाल पोखरामा इन्ड्राइभ गरिरहेका धादिङका राजु नेपालीले पनि केही वर्ष ईभी गाडी चलाएका रहेछन्। ईभीमा सम्भावना नदेखेरै उनी पुनः डिजेल-पेट्रोल गाडीमा फर्किएको सुनाए। उनको भनाइमा पोखरामा ईभी गाडी खासै गुड्दैनन्। पाँच वर्ष पेट्रोल र दुई वर्ष डिलेजबाट चल्ने गाडी चलाएका नेपाली भन्छन्, ‘ईभी गाडी कम्फर्ट छैन। सस्तो पर्छ भन्ने लाग्ला। लङ रनमा नियाल्दा डिजल, पेट्रोल र ब्याट्रीको उस्तै पर्छ। अनि किन जोखिम लिने र? नयाँमा ठिकै भए पनि पछि यसले धोका दिन्छ। सबै ठाउँमा चार्जिङ सुविधा छैन। खर्च धेरै निकाल्छ।’
ईभी चलाएर खर्च धान्न गाह्रो रहेकाे अनुभव ती चालकले सुनाए। पिचमा ठिक भए पनि नेपालजस्तो भूगाेल भएकाे मुलुकमा ईभी गाडीको काम छैन भन्ने निष्कर्ष राजुको छ। चीनले उत्पादन गरेकाे यस्ता ईभीलाई चीनमा भने गरिब गाडी भनिँदो रहेछ।