घोरेपानी र पुनहिलमा पर्यटकीय चहलपहल

हिमाल प्रेस ६ कार्तिक २०८१ १६:५१ | Tuesday, October 22, 2024
घोरेपानी र पुनहिलमा पर्यटकीय चहलपहल

म्याग्दी- चक्रीय अन्नपूर्ण पदमार्गअन्तर्गत पर्ने म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ मा रहेको प्रसिद्ध पर्यटकीयस्थल घोरेपानी र पुनहिलमा दसैँपछि आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको छ।

हिमशृङ्खला र सूर्योदयको मनोरम दृश्यावलोकनका लागि अहिले आन्तरिक तथा बाह्य पर्यटकको भीड लागेको घोरेपानीका होटल व्यवसायीहरूले बताएका छन्। दसैँको समयमा घोप्टेखर्कमा पहिरोले अवरुद्ध बनाएको सडक मर्मत गरेर पोखरेबगर-घोरेपानी सडकमा जिप र मोटरसाइकल सञ्चालन गर्न मिल्ने बनाएपछि घोरेपानी तथा पुनहिलमा पर्यटकको आगमन बढेको घोरेपानी टोल सुधार समितिका उपाध्यक्ष जुली ठकुरी पुनले बताइन्।

उनका अनुसार तिहार र छठ पर्वका अवसरमा घोरेपानी घुम्न आउने आन्तरिक पर्यटकलाई यहाँका सबै होटल तथा लजले खाजा, खाना र आवासमा १० प्रतिशतसम्म छुट दिएका छन्। म्याग्दीको सदरमुकाम बेनीबाट सवारी साधनमार्फत दैनिक एक सयको हाराहारीमा आन्तरिक पर्यटक घोरेपानी आएका छन् भने कास्कीको उल्लेरी, घान्द्रुक, म्याग्दीको मोहरेडाडा, पर्वतको भुक देउराली हुँदै पैदलयात्रा गरेर आउने पर्यटकहरुको सङ्ख्या पनि उल्लेख्य रहेको होटल व्यवसायीहरूले बताएका छन्।

दसैँपछि धौलागिरि, नीलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे हिमाल हेर्न आन्तरिक तथा बाह्य पर्यटकको भीड लागेको होटल सञ्चालक विरेन पुनले बताए। पुनहिलबाट आठ हजार मिटरभन्दा अग्ला मनास्लु, अन्नपूर्ण र धौलागिरि हिमालको दूरीमा पर्ने झन्डै २० भन्दा बढी हिमचुचुरालाई नजिकबाट नियाल्न सकिन्छ।

धेरैजसो पर्यटक घान्द्रुक एवं अन्नपूर्ण बेसक्याम्प ९एबीसी०बाट फर्कने तथा पोखराबाट घोरेपानी आएर घान्द्रुक र एबीसीतिर जाने गरेका होटल व्यवसायी पुनले जानकारी दिए। विश्वप्रसिद्ध चक्रीय अन्नपूर्ण पदमार्गले समेटिएको घोडेपानी र पुनहिल क्षेत्रमा पर्यटकको चहलपहल बढ्न थालेपछि होटल व्यवसायी उत्साहित भएको उनको भनाइ छ। चक्रीय अन्नपूर्ण पदमार्गमा पर्ने पुनहिलबाट हिमशृङ्खला र सूर्योदयको सुन्दर दृश्यावलोकन गर्न पाइन्छ। घोरेपानीदेखि पुनहिलसम्म पुग्न पदमार्ग निर्माण गरिएको छ।

समुद्री सतहदेखि दुई हजार आठ सय मिटर उचाइमा अवस्थित घोरेपानीमा रहेका २६ सानाठूला सुविधायुक्त होटलमा दैनिक एक हजार दुई सयजना पाहुना बास बस्ने क्षमता रहेको छ। प्याकेजमा प्रतिव्यक्ति रु एक हजार पाँच सयदेखि रु पाँच हजारसम्मका सुविधायुुक्त कोठामा बास बस्न सकिन्छ।

हिमाल, पहाडी भूगोल, सूर्योदय र गुराँसको जंगल अवलोकनका लागि म्याग्दीको अन्नपूर्ण-६ मा रहेको घोरेपानी पुनहिल क्षेत्र उपयुक्त गन्तव्य हो। समुद्री सतहदेखि तीन हजार दुई सय १० मिटर उचाइमा अवस्थित पुनहिल चक्रीय अन्नपूर्ण पदमार्गको उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा परिचित छ। म्याग्दी, मुस्ताङ, कास्की, लमजुङ र मनाङलाई समेटिएको अन्नपूर्ण संरक्षण क्षेत्र भ्रमण गर्न पछिल्लो समय सार्क राष्ट्रका पर्यटकलाई प्रतिव्यक्ति रु एक हजार र तेस्रो मुलुकका पर्यटकलाई प्रतिव्यक्ति तीन हजार शुल्क लिने गरिएको छ।

घोरेपानी पुगेका धेरै पर्यटक हिमालपारिको पर्यटकीय जिल्ला मुस्ताङको प्रवेशद्वारका रूपमा चिनिएको म्याग्दीमा धौलागिरि र अन्नपूर्ण हिमाल आरोहण, प्राकृतिक तातोपानी कुण्ड, अन्नपूर्ण धौलागिरि, धौलागिरि सेञ्चुरी, धौलागिरि चक्रीय, धौलागिरि आइसफल, टोडके, रुप्से झरना, अन्धगल्छी, गलेश्वर, बेनी बजारलगायत विभिन्न धार्मिक, प्राकृतिक र ऐतिहासिकस्थलको भ्रमणमा पर्यटक पुग्ने गर्छन्। रासस

प्रकाशित: ६ कार्तिक २०८१ १६:५१ | Tuesday, October 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast