भोलिदेखि साफ महिला च्याम्पियनसिप : सबै टोलीको तयारी पूरा

हिमाल प्रेस ३० असोज २०८१ १८:१६
भोलिदेखि साफ महिला च्याम्पियनसिप : सबै टोलीको तयारी पूरा साफ महिला च्याम्पियनसिप २०२४ मा सहभागि सात राष्ट्रका कप्तान, तस्विर सौजन्यः साफ

काठमाडौँ- बिहीबारबाट त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुन लागेको दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिप २०२४ का लागि सहभागि टोलीले राम्रो प्रदर्शन गर्न तयार र रहेको प्रतिक्रिया दिएका छन्।

बुधबार प्रतियोगिताको पूर्व सन्ध्यामा आयोजित मुख्य प्रशिक्षक र कप्तानसँगको अन्तरक्रिया कार्यक्रममा सहभागि टोलीले उपाधि जित्ने लक्ष्य रहेको र तयारी राम्रो रहेको प्रतिक्रिया दिए।

कस्ले के भने ?

समूह ‘ए’

१. भारत

प्रशिक्षक-सन्तोष कास्यप

मैले यो टोलीलाई राम्ररी हेर्न पाएको छैन। अनि साफ महिला फुटबलका सहभागी टोलीका बारेमा पनि बुझ्ने समय पाएको छैन। सबै राम्रै छ भन्ने बुझेको छु। मै इन्डियन सुपर लिग (आइएसएल) हेरिरहेको थिए। अहिले बल्ल महिलाको जिम्मेवारीमा आएको हुँ। हामीले जम्मा तीन हप्ताको प्रशिक्षण समय पाएका छौं। तर, खेलाडी स्मार्ट छन्। हामी रणनीतिक रुपमा धेरै काम गर्न पाएका छैनौं। तर, पनि आफ्नो टोली बलियो बनाउनका लागि सक्दो गरेको छु।

बंगलादेशका रूपमा हाम्रा लागि नयाँ चुनौती पनि थपिएको छ। तर, इतिहास भनेको इतिहास हो। फुटबलमा हार जित त भइहाल्छ। बंगलादेश राम्रो टोली हो। तर, हामी पनि कम छैनौं। हामी त्यही अनुसारको योजना बनाउछौँ।

म दबाब भन्ने कुरामा विश्वास गर्दिनँ। हामीले मनोरञ्जनात्मक आक्रमण खेल प्रस्तुत गर्नेछौं। गोल मेसिन बाला देवीको पुनरागमनसँगै टोली मजबुत भएको छ।

कप्तान-असलता देवी

बला देवीको पुनरागमनसँगै टोलीलाई थप प्रेरणा मिलेको छ। अघिल्लो संस्करणमा हामीसँग युवा खेलाडी धेरै थिए। अहिले हामीसँग युवा, अनुभवी र स्तरीय खेलाडीको समिश्रण छ। राम्रो तयारी भएको छ। तयारी अनुरुप खेल्यो भने हामीले राम्रो खेल प्रस्तुत गर्न सक्छौं।

२. बंगलादेश

मुख्य प्रशिक्षक- पिटर जेम्स बटलर

वर्षको सुरुआती दुई खेल हारेका थियौँ। पछि हामीले जितको लयलाई फर्कायौँ। टोली राम्रो छ। युवा, अनुभवी खेलाडीको समिश्रण छ। अघिल्लो संस्करण उपाधि जितेका केही खेलाडी छैनन्। यद्यपि भएका खेलाडीहरू उपाधि जित्न तत्पर छन्। सबैभन्दा महत्वपूर्ण कुरा भनेको देशको प्रतिनिधित्व गर्दा सबैको दायित्व राम्रो प्रदर्शन गर्नु हुनुपर्छ। खेलाडीले यो कुरा बुझेका छन्। टोली यसपालि पनि उपाधि जित्न प्रेरित छन्। हो, विगत हामीले उपाधि जितेका थियौँ। ती खेलाडीहरूप्रति मेरो उच्च सम्मान छ। तर, त्यो एउटा इतिहास भइसक्यो।

साबिक विजेताबाट सम्बोधन हुन पाउँदा खुसी लागेको छ। तर, त्यसले अहिले कुनै पनि महत्व राख्दैन। अहिले हामी सबै बराबर छौं। सबै टोलीप्रति हाम्रो उत्तिकै सम्मान छ। प्राविधिक र रणनीतिक रुपमा हामी यसपालि पनि बलियो छौं।

कप्तान-सवीना खातुन

पछिल्लो केही महिना हामीले साफका लागि राम्रो तयारी गरेका छौं। टोली एकदमै सन्तुलित छ। प्रतियोगिताका लागि तयार छौं।

३. पाकिस्तान

मुख्य प्रशिक्षक-अदील रिजकी

हामीले लामो समयको तयारी त गर्न पाएनौं। रणनीतिक कुराहरूलाई पनि राम्ररी ध्यानमा राख्न सकेनौं। प्रतिबन्धपछि हामी पाकिस्तान फुटबलको अस्तित्वका लागि खेल्दै आएका छौं। हामीले प्रतियोगितामा राम्रो छाप छोड्न सक्दो राम्रो गर्नेछौँ।

कप्तान-मारिया खान

हामी कठीन समूहमा छौं। तर, फुटबल भनेको पनि यही नै त हो। शीर्ष स्तरको फुटबल खेल्न नै पर्छ। पछिल्लो संस्करण प्रतिबन्ध फुकुवापछि पहिलो प्रतियोगिता भएका कारण राम्रो गर्न सकेका थिएनौं। तर, यसपालि टोलीको मनोबल उच्च छ।

समूह ‘बी’

१. माल्दिभ्स

मुख्य प्रशिक्षक-मोहम्मद निजाम

यसपालि हामी विगतका दिनभन्दा उत्साहित छौं। उपाधि जित्ने लक्ष्य छ। पहिलो खेलका लागि ध्यान केन्द्रित छ। पछि हेर्दै जाऔं कतासम्म पुगिन्छ। खेलाडी नेपालको वातावरणसँग परिचित छन्। तीन चार प्रतियोगिताहरू खेलिसकेका छन्।

कप्तान-हवा हनिफा

टोली राम्रो बनेको छ। उपाधि जित्ने लक्ष्य छ।

२. श्रीलंका

मुख्य प्रशिक्षक- मोहम्मद हुसेन रुमी

हामीले ४० दिनको प्रशिक्षण समय पाएका छौं। प्रशिक्षणका दौरान खेलाडीले आफ्नो व्यक्तिगत प्रदर्शनमा सुधार ल्याएका छन्। श्रीलंकाली टोली साफका लागि तयार छ।

कप्तान-थुसानी मदूसीका

टोली साफका लागि तयार छ। हामीले प्रतियोगिताअघि पर्याप्त समय पायौँ। खेलाडीको मनोबल पनि उच्च नै छ।

३. नेपाल

मुख्य प्रशिक्षक-राजेन्द्र तामाङ

हामीले दुई हप्ताको अभ्यास समय पायौँ। राष्ट्रिय महिला लिग भइरहेका कारण अभ्यास कम भयो। समय धेरै भएको भए अझै काम गर्न सकिन्थ्यो जस्तो लागेको छ। इन्ड्योरेन्स र शारीरिक पक्षमा काम गर्न पाएनौं। तर, जति समय पायौँ, उपाधिमा केन्द्रित रहेर काम गर्‍यौँ। सावित्रा (भण्डारी) र रेखा पौडेल व्यावसायिक खेलमा व्यस्त भएका कारण प्रशिक्षणमा जोड्न पाएनन्। त्यसैले भुटानविरुद्ध भिन्न रणनीति अनुसारको खेल हुनेछ।

भुटानले राम्रो गरिरहेको छ। समूहमा भुटान राम्रो हो। विगत र अहिलेको भुटानमा धेरै फरक छ। पर्याप्त समय नभएका कारण हामीले युवा खेलाडीलाई समेट्न पाएनौं।

कप्तान- अञ्जिला तुम्बाप्पो सुब्बा

समग्रमा अभ्यास राम्रो भएको छ। दुई हप्तामा अभ्यास भएपनि लिगले धेरै सहयोग गरेको छ। टोली सन्तुलित छ। राम्रो तयारी भएको छ। मेहनत गरेका छौं। लक्ष्य च्याम्पियन बन्ने हो। कृतिम मैदानमा अभ्यास गरेको अब घाँसे मैदानमा खेल्दा केही समस्या अवश्य छ। एकदिन मात्रै दशरथ रङ्गशालामा गर्‍यौँ। तर पनि मनोबल घट्न दिएका छैनौं।

४. भुटान

मुख्य प्रशिक्षक-निकोला देमाइने

पछिल्लो ९ महिना मैले साफको संस्कृति, यहाँको फुटबल शैलीका बारेमा अध्ययन गरेको छु। त्यही अनुसार यसपालि रणनीति बनाएर अगाडि बढेका छौं। भुटान प्रतियोगितामा आइरहँदा मेरो लागि व्यक्तिगत रुपमा रमाइलो यात्रा रह्यो। सबै टोली राम्रा छन्। तर, सेमिफाइनलसम्मको यात्रा गर्नका लागि हामी कुनै कसर बाँकी राख्ने छैनौं। सर्वप्रथम हाम्रो ध्यान पहिलो खेलमा केन्द्रित रहनेछ। पहिलो खेलका लागि तयारी अवस्थामा छौं।

कप्तान-पेमा छोदेन छिरिङ

प्रतियोगिताका लागि तयार छौं। खेलाडीहरू उत्साहित छन्। देशको प्रतिनिधित्व गर्नु ठूलो कुरा हो। भोलिका लागि दबाब छैन। हामी उच्च प्रदर्शन गर्नेछौं।

साफ महिला च्याम्पिनसिप कार्तिक १ देखि १४ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुँदैछ। उद्घाटन खेलमा बिहीबार भारतले पाकिस्तानको सामना गर्नेछ। नेपालले कार्तिक २ मा भुटानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ।

प्रकाशित: ३० असोज २०८१ १८:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =