सर्वोच्चले गरायो प्रहरीको ध्यानाकर्षण : जोशीलाई धरौटी वा जमानतमा छाड्ने कानुनी व्यवस्थाको प्रयोग गर्नू

हिमाल प्रेस १६ असोज २०८१ १९:४२
44
SHARES
सर्वोच्चले गरायो प्रहरीको ध्यानाकर्षण : जोशीलाई धरौटी वा जमानतमा छाड्ने कानुनी व्यवस्थाको प्रयोग गर्नू छविलाल जोशी

पोखरा- सूर्यदर्शन बचत तथा सहकारी संस्थाको रकम अपचलन गरेको अभियोगमा पक्राउ परेका पूर्व डीआईजी छविलाल जोशीलाई धरौटी वा जमानतमा छाड्ने कानुनी व्यवस्था रहेको भन्दै सर्वोच्च अदालतले प्रहरीको ध्यानाकर्षण गराएको छ।

न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले गोर्खा मिडिया नेटवर्क प्रालिका संस्थापक/सेयर होल्डर तथा सञ्चालकसमेत रहेका जोशीको सम्बन्धमा बुधबार जिल्ला प्रहरी कार्यालय कास्कीको ध्यानाकर्षण गराएको हो।

आदेशमा भनिएको छ, ‘…उल्लिखित कसूरमा हालसम्मको अनुसन्धानको अवस्था र आउँदो दसैँ बिदाको अवधिसमेतलाई विचार गर्दा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५ (१) मा अनुसन्धान अधिकारीले हिरासतमा रहेको व्यक्तिबाट धरौट वा जमानत लिई तारेखमा राख्न सक्ने व्यवस्था रहेको सन्दर्भमा सो व्यवस्थाको प्रयोगतर्फ ध्यानाकर्षणका लागि विपक्षी जिल्ला प्रहरी कार्यालय कास्कीको नामा लेखी पठाइ नियमानुसार गर्नू।’

जोशी पक्राउ परेपछि परिवारका तर्फबाट सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर भएको थियो। उक्त रिटको सुनुवाइ गर्दै सर्वोच्चले जोशीलाई गैरकानुनीरूपमा हिरासतमा राखेको भन्न भने नमिल्ने ठहर गरेको छ।

अनुसन्धानका लागि दोस्रोपल्ट गत असोज ११ मा ७ दिनको म्याद थपेर हिरासतमा राखिएका जोशीको सम्बन्धमा सर्वोच्चले भनेको छ, ‘हालसम्मको प्राप्त कागजातहरु हेर्दा २०७७/३/२ गते सहकारीको गोर्खा फाइनान्समा रहेको चेकबाट १० लाख यी निवेदकले भुक्तानी लिएको भनी उल्लेख भएकोमा सोही दिन निज निवेदकले गीतेन्द्रबाबु राईको नाममा बैंक चेकमार्फत् उक्त १० लाख फिर्ता गरेको भन्ने देखिएको छ। २०७८/६/२३ देखि यी निवेदक गोर्खा मिडिया नेटवर्क प्रालिबाट अलग भइसकेको देखिन्छ।’ अदालतले असोज १७ देखि बडादसैँको लामो बिदा अवधि प्रारम्भ हुने उल्लेख गरेको छ।

जोशीलाई काठमाडौंमा ६ असोजमा पक्राउ गरी सो दिन जहाजमार्फत पोखरा ल्याइएको थियो। त्यसको भोलिपल्ट उनलाई कास्की जिल्ला अदालतले ५ दिनको म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान गर्न कास्की प्रहरीलाई अनुमति दिएको थियो। दोस्रोपल्ट थपिएको ७ दिनको म्याद १७ असोज (घटस्थापना) देखि सकिँदैछ।

सूर्य थापा नेतृत्वको सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी संसदीय छानबिन विशेष समितिले सूर्य दर्शन सहकारीका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, सदस्य कुमार रम्तेल, तत्कालीन सञ्चालक जोशी र प्रबन्धक निर्देशक रवि लामिछानेलाई कानूनअनुसार कारबाही गर्न सिफारिस गरेकोमा गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई दिएको निर्देशन आधारमा अनुसन्धानका लागि काठमाडौं-१, नक्साल घर भएका ५९ वर्षीय जोशी पक्राउ परेका हुन्।

देशका विभिन्न पाँच सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा ६५ करोड ५४ लाख रुपैयाँ लगिएको संसदीय छानबिन विशेष समितिको प्रतिवेदनमा उल्लेख छ। जोशी सञ्चालक हुँदा पोखराको सूर्यदर्शन, चितवनको साहारा, बुटवलको सुप्रिम र काठमाडौँको स्वर्णलक्ष्मी सहकारीबाट उक्त रकम लगिएको उल्लेख छ। गोर्खा मिडियामा सूर्यदर्शनको मात्रै पाँच करोड रुपैयाँ गएको देखाइएको छ।

कास्की प्रहरीले सरकारी वकिलको कार्यालय समक्ष बयान लिएर अनुसन्धान गरिरहेको प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी वसन्तकुमार शर्माले बताए।

प्रकाशित: १६ असोज २०८१ १९:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =