विन्ध्यवासिनीमा नवदुर्गा महोत्सव हुने

हिमाल प्रेस १४ असोज २०८१ १६:४७
10
SHARES
विन्ध्यवासिनीमा नवदुर्गा महोत्सव हुने

पोखरा – पोखराको प्रसिद्ध विन्ध्यवासिनी मन्दिरमा १७ वर्षदेखि दशैँ अवसरमा नवदुर्गा महोत्सव हुँदै आएकोमा यसपालि पनि निरन्तरता दिइने भएको छ।

विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले घटस्थापनादेखि महानवमीसम्म आयोजना गर्ने नवदुर्गा महोत्सवमा विन्ध्यवासिनी नवदुर्गा शोभायात्रा तथा श्रीमद्देवीभागवत् ज्ञान महायज्ञ प्रमुख हुन्। यसपालि यही १७–२५ असोज (घटस्थापनादेखि महानवमी) सम्म उक्त महोत्सव गर्न लागिएको सोमबार पत्रकार सम्मेलनमा समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठले जानकारी दिए।

उनका अनुसार महायज्ञमा संगीतमय झाँकीसहित कथा वाचन गरिने छ। उनले मन्दिरमा बेलाबखतमा हुने पर्वविशेष पूजनोत्सव, धार्मिक गतिविधि, आध्यात्मिक प्रवचन लगायतले धर्म र संस्कृतिको संरक्षणमा टेवा मिल्ने विश्वास गरे।

घटस्थापनामा नवदुर्गाका नौ रुप सिंगारिएका नवकन्या, आरुढ नौरथ, विन्ध्यवासिनी मन्दिरको झाँकी तथा विभिन्न जातिका भेषभूषा र सांस्कृतिक झाँकीसहित शोभायात्रा निकालेर जातीय, धार्मिक, सांस्कृतिक, सामाजिकलगायतका पक्षहरुको उजागर गरिने समितिका सदस्यसचिव तीर्थ श्रेष्ठले बताए।

घटनास्थापनाको दिन विन्ध्यवासिनी पार्कबाट शुरु हुने शोभायात्रा मोहरियाटोल, भैरवटोल, भीमसेन टोल, नालामुख, तेर्सापट्टी, महेन्द्रपुल, चिप्लेढुंगा, सिद्धार्थचोक, रामकृष्णटोल, गणेशटोलहुँदै पुनः विन्ध्यबासिनी मन्दिर परिसर पुगेर समापन हुनेछ। त्यही दिनदेखि महायज्ञ सुरु हुने सदस्यसचिव श्रेष्ठले जानकारी दिए।

विजयादशमी अवधिमा मन्दिरमा बिहान ४ बजेदेखि नित्य पूजा हुनेछ। भक्तजनका लागि ५ बजेदेखि मन्दिरमा दर्शनको व्यवस्था मिलाइएको छ। ५ देखि ९ बजेसम्म बालगोपाल भजनमण्डल विन्ध्यवासिनी महिला भजन समूहलगायतबाट भजनकीर्तन हुनेछ। प्रत्येक साँझ ६ बजे आरती गरिनेछ। बिहान ९ देखि दिउँसो १२ बजेसम्म तथा दिउँसो २ देखि ४ बजेसम्म श्रीमद्भागवत् कथा प्रवचन हुनेछ ।

मन्दिरमा संकलित भेटी समितिले मन्दिरको सौन्दर्यकरण, पूर्वाधार निर्माणमा खर्चिंदै आएको जनाएको छ।
२०५१ सालमा स्थापित विन्ध्यवासिनी गुरुकुल विद्यालयमा हाल कक्षा ६ देखि १० सम्म निःशुल्क आवासीयरुपमा अध्यापन कार्य हुने गरेको छ। यसलाई कक्षा १२ सम्म बिस्तार गर्ने समितिको लक्ष्य छ।

यहाँ २०७२ सालदेखि विन्ध्यवासिनी ज्येष्ठ नागरिक मिलन केन्द्रसमेत सञ्चालित छ। जहाँ ज्येष्ठ नागरिकले दिवा सेवा प्राप्त गर्ने गरेका छन्। हाल केन्द्रका लागि सुविधायुक्त भवन निर्माण करिब सम्पन्न भएको समितिले जनाएको छ। समितिले एम्बुलेन्स सेवा पनि सञ्चालन गरिसकेको छ। मन्दिरमा ज्येष्ठ नागरिक तथा असहायका लागि आवतजावत गर्न विद्युतीय भ¥याङ (लिफ्ट) व्यवस्था गरिएको छ।

पोखराको अधिकारीटोलमा २६ रोपनीमा विन्ध्यवासिनी प्राकृतिक चिकित्सालय सञ्चालित छ। चिकित्सालयको भौतिक पूर्वाधार निर्माण जारी छ। उक्त चिकित्सालय यही मंसिरमा उद्घाटन लक्ष्य रहेको समितिका सचिव आनन्द श्रेष्ठले बताए। चिकित्सालयमा उपचारार्थ दैनिक करिब ४०/५० जना मानिस आउने गरेको उनले बताए।

प्रकाशित: १४ असोज २०८१ १६:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 4 =