मलेसियामा रोजगारी : भारत र बंगलादेशले १० दिनमै कामदार पठाउँदा नेपालले लगाउँछ दुई महिना

रमेश भारती ७ असोज २०८१ १७:५५
32
SHARES
मलेसियामा रोजगारी : भारत र बंगलादेशले १० दिनमै कामदार पठाउँदा नेपालले लगाउँछ दुई महिना

काठमाडौँ– भारत र बंगलादेशले छिटो र छोटो प्रक्रियामार्फत आफ्ना नागरिकलाई वैदेशिक रोजगारीमा मलेसिया पठाउँदै आएका छन्। नेपाली कामदार मलेसिया जान कम्तीमा दुई महिना कुर्नुपर्छ। भारत र बंगालदेशबाट भने प्रक्रिया थालेको एक सातादेखि १० दिनभित्रमा कामदार मलेसिया पुग्ने गरेका छन्।

भारत र बंगलादेशका कामदारलाई एग्रिमेन्ट पेपर र डिमान्डपत्र भए पुग्छ। यसका आधारमा उनीहरु मलेसिया रोजगारीमा जाने गरेका छन्। नेपाली कामदार मलेसिया पठाउन कागजी झमेला हुने गरेको म्यानपावर कम्पनीका सञ्चालकहरु बताउँछन्।

नेपाली कामदार मलेसिया जान डिमान्ड लेटर, एग्रिमेन्ट पेपर, टु पार्टी एग्रिमेन्ट पेपर, ग्यारेन्टी लेटर र करारपत्रको सम्झौता पेस गर्नुपर्छ।
वैदेशिक रोजगार व्यवसायी लक्ष्मण पौडेल मलेसियाका रोजगारदाता कम्पनीले तीनै देशका लागि एउटै प्रकारका भिसा जारी गर्दै आएको बताउँछन्। मलेसियाले सुरक्षा गार्डमा भने नेपाली कामदार मात्र लैजाने गरेको उनले जानकारी दिए।

पछिल्लो समय मलेसियाले भारतीय नागरिकलाई पनि सुरक्षा गार्डमा लैजान पहल गरिरहेको उनले बताए। उनले भने, ‘श्रमिक आपूर्ति गर्ने भारत र बंगलादेशले एक साताभित्र कामदार पठाउँदा नेपालबाट भने दुई महिना समय लाग्छ। जसका कारण मलेसियाले भारत र बंगलादेशका कामदारलाई प्राथमिकता दिन थालेको छ।’ मलेसियाले २०७५ सालयता नेपाली कामदारको कोटा कटौती गर्दै आएको छ।

मार्चदेखि मलेसियाले नेपाली कामदारका लागि नयाँ भिसा एप्रुभल बन्द गरेको छ। सरकारले कूटनीतिक पहल नगर्दा नेपालले मासिक १० हजारभन्दा बढी मलेसियाको रोजगारी गुमारहेको दाबी वैदेशिक रोजगार व्यवसायीको छ।

मलेसियाका रोजगारदाता कम्पनीले नेपालबाट कामदार ल्याउन कानुनी झमेला, लामो प्रक्रिया र सरकारी तहमै समस्या भएको कारण देखाउन थालेको पौडेलको भनाइ छ।

गत महिना मलेसियाले भारतबाट दक्ष प्राविधिक कामदार लैजाने प्रस्ताव गरेको थियो। मलेसियाले सूचना प्रविधि, सेवा क्षेत्र, इन्जिनियरिङ, वृक्षरोपण, होटल र कृषि गरी ६ वटा क्षेत्रमा भारतीय कामदार लैजान लागेको हो।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता डन्डुराज घिमिरेले मलेसियालगायतका रोजगारदाता देशमा कामदार पठाउन भइरहेको समस्या र कागजी झेमला समाधानका लागि छलफल भइरहेको बताए। उनी पनि मलेसिया कागतपत्र र कामदार पठाउन बढी समय लाग्दा डिमान्ड गुमेको व्यवसायीले गुनासो गर्दै आएको स्वीकार गर्छन्। यो समस्या चाँडै समाधान हुने उनले बताए।

मलेसिया सरकाले नेपाली कामदारका हकमा व्यावसायिक भिसाको सुविधा दिएको छ। यद्यपि नेपाली कामदार व्यावसायिक भिसामा मलेसिया गएको तथ्यांक वैदेशिक रोजगार विभागसँग छैन। म्यानपावर व्यवसायीले मलेसिया रोजगारी कामदार पठाउँदा लागत खर्च १० हजार रुपैयाँ लिन पाउने व्यवस्था छ। अहिले भिसाका आधारमा म्यानपावर कम्पनीले मलेसिया जाने कामदारसँग तीन लाख रुपैयाँसम्म उठाइरहेका छन्।

मलेसिया नेपाली अदक्ष र अर्धदक्ष कामदारका लागि रोजगारीको एउटा प्रमुख गन्तव्य हो।

भारत :  भारतमा दुईथरी राहदानी जारी हुन्छ। एउटा १० कक्षा पास र अर्को त्योभन्दा कम पढेका नागरिकले राहदानी पाउँछन्। कक्षा १० उत्तीर्ण गरेका नागरिकसँग सीप भए उनीहरुले दक्षताका आधारमा सीधै व्यावसायिक भिसामा पैसा तिरे जान पाउँछन्। यस्तो भिसाको करार अवधि एक वर्षको हुन्छ।

भारतबाट म्यानपावर कम्पनी र ट्राभल एजेन्सीहरुले कामदार पठाउँछन्। उनीहरुले कामदार पठाउँदा रोजगारदाता कम्पनीले लागत खर्च नदिए श्रमिकसँग एक महिनाको तलब लिने गरेका छन्।

भारतबाट व्यावसायिक भिसामा पनि कामदार मलेसिया जाने गरेका छन्। भारतबाट प्रक्रिया सुरु भएको १० दिनभित्र कामदार मलेसिया पुग्छन्। उनीहरुले रोजगारी बिमा, २४ घन्टे बिमा, सामाजिक सुरक्षा र करारअवधि सुरक्षाभत्ता पाउँछन्। भारतबाट वार्षिक ५० हजारभन्दा बढी कामदार रोजगारीका लागि मलेसिया जाने गरेका छन्।

मलेसियाले भारतबाट होटल र फार्म हाउसमा  श्रमिक लैजान्छ। यसबाहेक मलेसिया सरकारले भारतीय नागरिकलाई व्यावसायिक भिसामा ३ हजारदेखि १० हजार रिंग्रेट तिरेर सीधै जान पाउने सुविधा दिएको छ। भारतबाट प्रायः धेरै कामदार व्यावसायिक भिसामा मलेसिया जाने गरेको क्वालालम्पुरस्थित हाई कमिसन अफ इन्डियाको विवरणमा उल्लेख छ। भारतबाट मलेसिया जाने कामदारले कम्तीमा तीन महिनाको तालिम अनिवार्य लिनुपर्छ। भारतबाट ३० प्रतिशभन्दा बढी दक्ष कामदार मलेसिया जाने गरेका छन्।

बंगलादेश :  बंगलादेशबाट प्रायः मजदुरी भिसामा कामदार मलेसिया जाने गरेका छन्। मलेसियाले सुरक्षा गार्डबाहेक सबै क्षेत्रमा बंगाली कामदार लैजाने गरेको छ। मलेसिया सरकारले बंगाली कामदारलाई पनि व्यावसायिक भिसाको सुविधा दिएको बंगलादेशको वैदेशिक रोजगार र श्रमसम्बन्धी निकायको वेबसाइटमा उल्लेख छ।

त्यहाँका कामदार व्यावसायिक भिसामा कमै मात्र जान्छन्। बंगलादेशबाट पनि अदक्ष कामदार मलेसिया बढी जान्छन्। बंगलादेशबाट ७ प्रतिशत मात्र दक्ष कामदार जाने गरेका छन्। लेबर, कृषि, उद्योग, कलकारखाना, सरसफाइ र होटल क्षेत्रमा बंगाली कामदार जाने गरेका छन्।

प्रकाशित: ७ असोज २०८१ १७:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =